Logo

लापरवाहिले ट्रम्पलाई कोरोना



वासिङ्टन, असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले आफू र श्रीमती दुवै जना संक्रमित भएको बारेमा बिहीबार ट्विट गर्दै क्वारेन्टाइनमा रहेको जानकारी दिएका हुन्।

ह्वाइट हाउसका अधिकारीका अनुसार ट्रम्पलाई हल्का लक्षण मात्र देखिएको छ। अमेरिकामा चुनावी चहलपहल धेरै बढेका बेला ट्रम्पलाई संक्रमण देखिएको हो। अब केही समय उनले आफूलाई चुनावी अभियानबाट टाढा राख्नुको विकल्प देखिँदैन।

आगामी चुनावमा प्रतिस्पर्धी रहेका जो बाइडेनले ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर एन्जेला मर्केल, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायतले पनि ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आफ्नी सल्लाहकार ३१ वर्षीया होप हिक्सलाई कोरोना लागेको पुष्टि भएलगत्तै ट्रम्प दम्पतीले परीक्षण गराएका थिए। साताको सुरुमा ओहायोमा भएको चुनावी बहसमा हिक्स ट्रम्पसँगै एयर फोर्स वन चढेर गएकी थिइन्। ट्रम्प चढेको उक्त विमानबाट मंगलबार ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

ट्रम्प बुधबार मिनेसोटा राज्यमा भएको एउटा विशाल र्‍यालीमा सहभागी हुन जाँदा चढेको हेलिकप्टरमा उनी झन् नजिक देखिएकी थिइन्। उनले चार वर्षदेखि विभिन्न भूमिकामा राष्ट्रपति ट्रम्पका निकट सहयोगीका रूपमा काम गर्दै आएकी छन्। ट्रम्पले बिहीबार राति एकछिन पनि आराम नगरी काममा खट्ने हिक्सलाई कोरोना देखिएकाले निकै दुःख लागेको भनी ट्विट गरेका थिए। सोही रात ट्रम्पले फक्स न्युजसँग कुराकानी गर्दै आफू र पत्नीले हिक्ससँग धेरै समय बिताउने गरेको बताएका थिए।

कोरोना महामारीका विषयमा ट्रम्प लापरबाह देखिएका थिए। अमेरिकामा कोरोना व्यवस्थापनमा गरेका प्रयासलाई लिएर उनीे आलोचित भएका छन्। यही महामारीका कारण अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्