काठमाडौं, असोज १७। बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै अर्थतन्त्र चलायमान हुन थालेको छ । चाडबाडको रौनकले पनि यसमा साथ दिएको छ । दशैँको पूर्वसन्ध्यामा बजारमा बढ्न थालेको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको छ ।
नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको र कर्जा लगानी बढ्न थालेको हो ।
भदौ मसान्तदेखि असोज ९ सम्म करिब दुई सातामा वाणिज्य बैङ्कको कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको सङ्घले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ब्याज बढाएका कारण निक्षेप सङ्कलन पनि दुई सातामा करिब ३७ अर्ब रुपियाँले बढेको छ ।
असोज ९ सम्ममा वाणिज्य बैङ्कहरूले ३५ खर्ब ३२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले कर्जाको माग बढ्न थाल्नु खुसीको कुरा भन्दै अझै पनि अवस्था सामान्य अवस्था नभए पनि बिस्तारै बढ्दै जाने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया