Logo

अस्ट्रेलियाको निजी क्षेत्र जलविद्युत्मा आउँदै



काठमाडौं, असोज १७ । अस्ट्रेलियाको एउटा कम्पनीले नेपालमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । अस्ट्रेलियास्थित फोर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने र त्यसको खपत तथा बजारीकरण पनि आफैँ गर्नेगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ । फोर्टेस्क्यु मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो ।
प्रस्ताव प्राप्त भएपछि मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ । ऊर्जामन्त्री वर्षमान पुनका अनुसार कम्पनीका अध्यक्ष एन्ड्रयु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली असोज २६ गते नेपाल आउन लागेको छ । मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी गराउने जानकारी दिए ।

तीन दिने नेपाल बसाइका क्रममा टोलीले उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेट्ने जनाइएको छ । नेपालको जलविद्युत्मा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैँ गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ, मन्त्री पुनले भने, “कम्पनीका प्रतिनिधि आएपछि हामी विभिन्न आयोजनाबारे जानकारी गराउँछौँ र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौतासमेत गर्नेर्छौं । ”

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाइ भेटका क्रममा मन्त्री पुनले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको बताए । अस्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्