Logo

मध्यपुरथिमिमा निःशुल्क गुर्जोको बिरुवा र धूलो वितरण



भक्तपुर, १७ असोज: विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि गुर्जोको बिरुवासहित यसको धुलो वितरण गरिएको छ ।

आदर्श सामाजिक सेवा समाजको सक्रियतामा मध्यपुरथिमिमा निःशुल्क गुर्जो वितरण अभियानकर्ता लहानस्थित कर कार्यालयका प्रमुख कमलबहादुर राजलवटले आज मध्यपुरथिमिको बालकुमारी मन्दिर प्राङ्गणमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीमार्फत २५० वटा गुर्जोको बिरुवा, २५ किलो गुर्जोको धुलो र करिब ७० किलो गुर्जोको डाँठ वितरण गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख मधिकर्मीले निःशुल्क गुर्जोको बोट, धुलो र डाँठ वितरण गर्ने राजलवटले सामाजिक दायित्व वहन गरिरहेको बताउँदै गुर्जो पानी सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास व्यक्त गरे । ‘एक घर, एक गुर्जो’ अभियान चलाउँदै आउनुभएका समाजसेवी राजलवटले गुर्जोको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउने, कोरोना भाइरसलगायत रुघाखोकी, सबै प्रकारको ज्वरो, ग्याष्ट्रिक सञ्चो हुने, शरीरमा रहेका विकार पदार्थलाई बाहिर निकाल्ने र शरीरलाई स्वस्थ्य बनाउन मद्दत गर्ने बताए ।

गुर्जोको सेवनले मानसिक तथा नशासम्बन्धी समस्या हटाउन मद्दत गर्ने जानकारी दिँदै उहाँले पाचनप्रणालीलाई बलियो बनाउने, रगतको कमीलाई सन्तुलन गर्ने, बाथ रोगको निर्मूल गर्ने, पेटसम्बन्धी समस्या समाधान गर्ने, श्वासप्रश्वाससम्बन्धी समस्या समाधान गर्ने उनले दाबी गरे । नियमित गुर्जोको सेवनले आँखाको विकार तथा कमजोरी हटाउन मद्दत गर्नुका साथै चाया, कालोपोतो, च्याउरीपनाजस्ता छालासम्बन्धी समस्या समाधान गर्ने उनको भनाइ छ । गुर्जोको सेवन बालबालिका तथा सुत्केरीले भने गर्न नहुने र रक्तचाप कम भएका व्यक्तिले भने नूनको प्रयोग गरेर खानसक्ने बताए ।

आदर्श सामाजिक सेवा समाजका अध्यक्ष रमेश प्रजापतिले मध्यपुरथिमिमा कोभिड सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम गरेको बताउँदै राजलवटको सहयोगले कोरोना सङ्क्रमित परिवारलाई समेत निःशुल्क गुर्जो वितरण गर्न पाएको बताए । मध्यपुरथिमिको बालकुमारी, दुईपोखरी, दिगुटोल, चपाचो, नगदेश, बोडे, नगरपालिका चोकलगायत क्षेत्रका करिब एक हजार ५०० परिवारलाई करिब २५० ग्राम बराबरको गुर्जो वितरण गरिएको थियो । उनले मध्यपुरथिमिका स्थानीय बासिन्दालाई यसअघि ३५५ वटा बिरुवा वितरण गरिसकेको र वनदेवी, इन्द्रायणी वन, आल्चुक वन, दुनगःलगायतका वनमा करिब ८०० गुर्जोको बिरुवा रोपिएको जानकारी दिए ।

विभिन्न सामाजिक संस्था, सहकारी तथा दाताबाट प्राप्त रु ९४ हजार चन्दा सङ्कलन गरी कोरोनाका कारण मध्यपुरथिमिमा समस्यामा परेका परिवारलाई चामल २५ किलो, चिउरा पाँच किलो, दाल दुई किलो, चिनी दुई किलो, चाउचाउ एक बाकस, बिस्कुट एक बाकस, तेल एक लिटर, नुन, मसाला, स्यानिटाइजर र गुर्जो एक किलो राहत विरतण गरिएको अध्यक्ष प्रजापतिले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्