काठमाडौं, १८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनामनगरको सरकारी जग्गा दुषित दर्ता गराएको ठहर गरेका व्यक्तिले जग्गा जोगाउँन लागेकामाथि अभद्र ,अशिष्ट र असभ्य रूपमा प्रस्तुत भएका छन् । अख्तियारले एक आना सरकारी जग्गा दुषित दर्ता गराएर आफ्नो नाममा ल्याएको ठहर गरेका शान्ता दाहालका श्रीमान् दिलिप दाहालले जग्गा संरक्षणमा लागेका अभियन्ता र पत्रकारमाथि समाजिक सञ्जालमार्फत असभ्य, अभद्र र अशिष्ट कमेन्ट गरेका हुन् ।
अनामनगरबाट बगेको साविकको धोबीखोला धार परिवर्तन गरेर वानेश्वरतर्फ बगेपछि नदी उकाश बनेको सरकारी जग्गा शान्ता दाहाल, हरिप्रसाद गिरी, टेकबहादुर पौडेल, कुलबहादुर निरौलालगायत विभिन्न व्यक्तिले दुषित दर्ता गराएर आफ्नो नाममा ल्याएको अख्तियारको छानबिनले ठहर गरेको छ । नदी उकाशको करिब ७ रोपनी सरकारी जग्गा अहिले भूमाफियाले दुषित दर्ता गराएर आफ्नो बनाएका छन् ।
त्यही जग्गाको खोजीमा लागेका पत्रकार र सामाजिक अभियन्तालाई अख्तियारले सरकारी जग्गा दुषित दर्ता गराएको किटान गरेका दाहालले असभ्य र गालीगलौजको भाषा प्रयोग गर्दै टिप्पणी गरेका हुन् । अनामनगरमा सरकारी जग्गा खाने भूमाफियालाई सामाजिक बहिष्कार गर्ने र सरकारी जग्गा फिर्ता ल्याउन आ- आफ्नो ठाउँबाट लाग्ने आवाज उठिरहेको बेला दाहालले त्यो अभियानप्रति लाग्नेलाई फटाहा भन्नसमेत भ्याएका छन् ।उनको शब्द चयनप्रति अभियान्ताहरूले आपत्ति प्रकट गरेका छन् । अहिले अनामनगरमा सरकारी जग्गा दुषित दर्ता गराउँने भूमाफियालाई सामाजिक बहिष्कार गर्ने अभियान चलिरहेको छ । अनामनगरको सरकारी जग्गा दाहाल , गिरी, पौडेललगायतका व्यक्तिले दुषित दर्ता गराएको प्रमाण भूमि व्यवस्थापन शहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगिसकेको छ । मन्त्रालयको निर्देशन बमोजिम मालपोत कार्यालय डिल्लीबजारले पठाएको विवरणमा धोबीखोला नदी उकाशको जग्गा व्यक्तिको नाममा गोइसकेको छ ।
साबिक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ को १४३ नम्बर कित्ताको २३ रोपनी जग्गामा धोबी खोला उल्लेख भएपनि अहिले भूमाफियाको कब्जामा पुगिसकको मालपोत कार्यालयल उपलब्ध गराएको फिल्डबुकबाट देखिन्छ । फिल्ड बुकमा सरकारले सरकारी चन्द्रबहादुर थापालाई सट्टाभर्ना दिएको जग्गाको क्षेत्रफल १ रोपनी ६ आना उल्लेख छ। तर पछिल्लो नक्सा हेर्दा उक्त जग्गा मध्ये ८ आना भन्दा बढी जग्गा हरिप्रसाद गिरीको नाममा ४ आना , शान्ता दाहालको नाममा १ आना दशनारायण महर्जनको नाममा ३ आना २ दाम जग्गा दुषित दर्ता भइसकेको देखिन्छ ।
सरकारलो सट्टाभर्ना दिएको ६९७ कित्ताको एक रोपनी ६ आना सरकारी जग्गा दशनारायण महर्जनको नाममा कित्ता नम्बर ५५ गिरीको नाममा आउँदा कित्ता नम्बर १८२, दाहालको नाममा कित्ता नम्बर २८१ कायम भएको छ ।
२०६० सालसम्म नेपाल सरकारको नाममा रहेको उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराएको भन्दै सरकारी जग्गा संरक्षण गर्ने उदेश्यले स्थापना भएको स्थानीय सामाजिक विकास समाजले सरकारी जग्गा कब्जागरी भूमाफियाले गराएको दुषित दर्ता बदर खारेज गरेर नेपाल सरकारकै नाममा फिर्ता ल्याउन निरन्तर संघर्ष गरिरहेको छ । तर अहिले सरकारी जग्गा खाने व्यक्तिहरु नै जग्गा फिर्ता गर्न छाडेर गालीगलौज र गुन्डागर्दीमा उत्रिएका छन् ।
महानगरद्वारा अख्तियारको दुरूपयोग
काठमाडौ महानगरपालिकाले समेत अख्तियारको दुरुपयोग गरेको पाइएको छ । नेपाल सरकारको नाममा रहेको उक्त १ रोपनी ६ आना जग्गा चन्द्र बहादु थापालाई सट्टा भर्ना दिने मन्त्रिपरिषद्को निर्णयको विरूद्ध स्थानीयले लडेर नेपाल सरकारकै नाममा ल्याएपछि बाल उद्यान पार्क बनेको थियो । महानगरपालिका र स्थानीय समाजसेवीको संयुक्त बजेटमा उक्त ठाउँमा पार्क बनेको थियो ।
आफैले लगानी गरेर पार्क बनाएको ठाउँमा भूमाफियाले दुषित दर्ता गराई पार्क भत्काएपछि भूमाफियाविरुद्ध लडेर नेपाल सरकारकै नाममा ल्याउनु पर्ने दायित्व बोकेको स्थानीय सरकार (महानगर २९ वडा ) ले उल्टै नक्सा पास र सिफारिस गरेको पाइएको छ । महानगरले पार्क बनाएको जग्गामध्ये १ आना शान्ता दाहाल , ४ आना हरिप्रसाद गिरी र ३ आना दुई दाम जग्गा दशनारायण महर्जनको नाममा दुषित दर्ता भइसकेमा त्यसलाई फिर्ता ल्याउनु पर्ने जिम्मेवारीबाट पन्छिएर अख्तियारको दुरुपयोग गर्दै नक्सा पास गर्ने काम गरेको तथ्य फेला परेको हो ।
स्थानीय जनप्रतिनिधि भने पुर्जा ल्याएकाले नक्सा पास गरेको तर्क गर्दै आएका छन् । स्थानीय वासिन्दाहरुले भने आफूहरूले सिंहदरबारको जग्गा दुषित दर्ता गराएर ल्याए वडाले नक्स पास गर्छ भन्ने प्रश्न गर्छन् । सरकारी जग्गा आफ्नो नाममा दुषित दर्ता गराएको पुर्जा देखाएर भूमाफियाहरु मेरो प्रमाण छ भन्दै विभिन्न स्थानमा धाउन थालेका छन् । अख्तियारले खारेज गर्न निर्देशन दिएको पूर्जा देखाएर दाबी गर्नुको औचित्य नरहेको सामाजिक विकास समाजका पदाधिकारीहरू बताउँछन् । तस्विर स्रोत : दाहालको फेशबुकबाट





प्रतिक्रिया