Logo

लुम्बिनी क्षेत्रका सांसदहरुलाई ‘हुतियारा’ भन्दै बुटवलमा प्रदर्शन



बुटवल, १८ असोज । बुटवलबाट राजधानी दाङ सार्ने कुराले बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन रुपन्देहीले राजधानीको विरोधमा प्रदर्शन हुन थालेपछि शनिबार रातीबाट निषेधाज्ञा लगाएको थियो ।

रुपन्देहीका उद्योगी व्यवसायी संघसंस्थाको आह्वानमा बुटवलको राजमार्ग चौराहबाट विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘प्रदेश राजधानी बुटवलमा कायम गर’, ‘जनताको मत कदर गर’ जस्ता नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले लुम्बिनी क्षेत्रका सांसदहरुलाई ‘हुतियारा’ भन्दै कडा आलोचना गरेका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले सांसदले खुट्टा नकमाई जनताको पक्षमा उभिन आग्रह गरेका छन् । मुलुक आर्थिक संकटमा परिरहेका बेला नयाँ स्थानमा पूर्वाधार बनाएर अर्बौं रकम सक्ने नीति लिन गम्भीर भुल भएको भन्दै त्यसलाई सच्याउन उनले आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले खेम हमालले पूर्वाधारयुक्त शहरलाई छाडेर बगरमा राजधानी बनाउने प्रस्ताव ल्याउन संघीयताको विपरीत रहेको बताए ।

त्यस्तै, होटल व्यवसायी समुन्द्र जिसीले कोरोना संकटका बेला राजधानी तोकेर राजनीति लाभ लिन खोज्नु बेइमानी भएको बताउँदै उनले कुनै हालतमा राजधानी सार्न नदिन कडारुपमा आन्दोलनमा होमिन सबैलाई आग्रह गरे ।
कोणसभामा रुपन्देही उद्योग संघका कार्यबहाक अध्यक्ष माधव पौडेल, फुलबारी विकास समितिका अध्यक्ष खेम लुइँटेललगायतले बुटवलमा राजधानी बनाउन सशक्त भएर उत्रिन आह्वान गरेका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्