Logo

प्रधानमन्त्री ओलीका सामु विष्णु पौडेल र शंकर पोखरेलबीच चर्काचर्की



काठमाडौं, १८ असोज । दाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्तावलाई टुंगोमा पुर्याउनेबारे प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विवाद भएको छ । आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बैठक भएको थियो । बैठकमा मुख्यमन्त्री शंकर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलबीच चर्काचर्की भयो ।

विश्वस्त स्रोतका अनुसार पौडेलले भालुवाङलाई प्रदेशको राजधानी बनाउने निर्णय फिर्ता नलिए पार्टीलाई ठुलो नोक्शान पर्ने तर्क गरेका थिए । उनले बुटवलमा भइरहेको विरोध प्रदर्शन र असन्तुष्टिले समस्या आउने तर्फ समेत सचेत हुनुपर्ने बताएका थिए ।

पौडेलले यसो भनिरहँदा मुख्यमन्त्री शंकर पोखरेलले भने भालुवाङ सबै दृष्टिकोणले राजधानीका लागि उपयुक्त स्थान रहेको तर्क गरेका थिए । उनले सरकारको निर्णय र पार्टीभित्र सहमति बनिसकेकाले पुर्नविचार नहुने भन्दै सर्वसम्मतबाट पारित गर्न आग्रह गरेका थिए ।

जर्नादन शर्मा समेत यसबारे कुरा गर्न बालुवाटार पुगेका थिए । प्रदेशको राजधानीबारे छलफल भइरहँदा प्रधानमन्त्री ओलीका सामु पोखरेल र पौडेलबीच चर्काचर्की परेको थियो । त्यसपछि जर्नादन शर्माले सहमतिमा आउन आग्रह गरेका थिए ।

नेकपाभित्र सचिवालयका आठ जना प्रदेश ५ को राजधानी दाङलाई बनाउने पक्षमा देखिएका छन् । जसमध्ये अध्यक्षद्वय ओली र प्रचण्ड पनि छन् । महासचिव विष्णु पौडेल मात्र बुटवललाई राजधानी बनाउनुपर्ने अडानमा छन् । उनी रुपन्देहीबाट निर्वाचित सांसद हुन् । त्यसले उनीमाथि चर्को दबाब परेको छ । मन्त्री पाउन राजधानीको मुद्दा साटेको आरोप लागेको छ । तर, पौडेलले आज बालुवाटार पुगेर यसबारे दरिलो गरी अडान राखे ।

भालुवाङमा सहमतिको सम्भावना
प्रदेश ५ मा कुल ८७ प्रदेशसभा सांसद रहेकोमा दुई तिहाई अर्थात् ५८ जनाले मत दिएमा मात्र सोही स्थान राजधानी हुनसक्छ । नेकपासँग ६१ सांसद रहेकाले ह्वीप जारी भएमा सजिलै पारित हुने सम्भावना छ । तर, नेपाली काँग्रेसका केही सांसद विपक्षमा उभिएका छन् । १९ प्रदेशसभा सांसद रहेको काँग्रेसले ह्वीप जारी गरेन भने दाङको पक्षमा दुई तिहाई पुग्छ । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । उनीहरुको मतले पनि महत्व राख्न सक्छ ।

 



प्रतिक्रिया दिनुहोस्