Logo

राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन



काठमाडौं, असोज १९ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको छ ।

उद्योगले विभिन्न किसिमका मसलालगायत खाद्य पदार्थ उत्पादन गरी बजारीकरण गर्दै आएको छ । उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिकिलो ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ ।

कुनै पनि खाद्य वस्तु उत्पादन तथा प्याकेजिङ गरेर बिक्री वितरण गर्न उद्योगले अनिवार्य रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्छ । विभागको स्वीकृतिविना बिक्री वितरण गर्न नपाइने कानुनी प्रावधान छ । तर, राज्यमन्त्री दुगडको उद्योगले विभागबाट अनुज्ञापत्र र विभागको स्वीकृतविना नै बजारमा नुन प्याकेजिङ गरेर बिक्री गरेको पाइएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राज्यमन्त्री दुगडको उद्योगले प्याकेजिङ गरेको सेन्चुरी ब्रान्डको स्प्रिंकलर्स टेबल साल्ट गैरकानुनी तरिकाले उत्पादन तथा प्याकेजिङ गरी कारोबार गरेकामा सो उद्योगमाथि कानुनी कारबाही गर्नुपर्ने बताए ।

यसैगरी दुगडको उद्योगले गैरकानुनी तरिकाले अवैध रूपमा सेन्चुरी ब्रान्डको स्प्रिंकलर्स टेबल साल्ट (नुन)उत्पादन तथा प्याकेजिङ गर्ने गरेको भन्दै कानुनी कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्