Logo

२ महीनामै झन्डै अर्ब बराबरको सिमेन्ट-क्लिंकर आयात



काठमाडौं, असोज १९ । मुलुकको सिमेन्ट तथा क्लिंकर उत्पादनमा बन्दाबन्दी र निषेधाज्ञाको असर देखिन थालेको छ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरेको बन्दाबन्दीका कारण चुनढुंगा उत्खनन र सिमेन्ट उत्पादन नै ठप्प हुँदा नेपालबाट क्लिंकर र सिमेन्ट आयातका लागि ९५ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।

बन्दाबन्दीका कारण क्लिंकर बनाउने कच्चा पदार्थ चुनढुंगा (लाइम स्टोन) उत्खननमा लगाइएको रोक र सिमेन्ट उत्पादनमा पनि कमी आउँदा व्यवसायीहरूले भारतबाट क्लिंकर र सिमेन्ट आयात गरेका हुन् । यद्यपि चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो साउन महीनामा भन्दा भदौमा यसको आयात कम देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा रू। ५१ करोड ३४ लाख रकमको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।

यसैगरी, भदौ महीनामा रू। ४४ करोड ३७ लाख बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । यद्यपि यो गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा पनि धेरै हो । गत आर्थिक वर्षमा साउन र भदौमा गरी नेपालले भारतबाट रू। ७८ करोड २३ लाखको सिमेन्ट तथा क्लिंकर आयात गरेको थियो ।

नेपाल क्लिंकर तथा सिमेन्टमा आत्मनिर्भर भएको व्यवसायीहरूले दाबी गर्दै आए पनि सहज अवस्था हुँदासमेत यसको आयात शून्यमा भने झरेको छैन । चालू आवमा भने परिस्थिति सहज नहुँदा व्यापारीहरूले जेठ तथा असारमा अडर गरेको सिमेन्ट तथा क्लिंकर अहिले आयात हुन थालेको व्यवसायीहरुको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्