Logo

बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार



काठमाडौं, असोज १९ । यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।

पीडित किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का र जुगल–४ का २१ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्का बसका चालक र श्रेष्ठ सहचालक हुन् । दुवै अभियुक्तले प्रहरीसँगको बयानमा कसुर स्विकारेका छन् ।

‘एक जना माल छ, चाहिन्छ भन्दै साथीले फोन गर्‍यो, हामीले पनि हुन्छ भन्यौं,’ बलात्कारमा संलग्न अभियुक्तले बयानमा भनेका छन् । शुक्रबार करिब ११ बजेतिर एक अपरिचितले रत्नपार्कबाट नशालु पदार्थ खुवाएर किशोरीलाई भक्तपुरको सूर्यविनायक पुर्‍याएको थियो । रत्नपार्कमा भेट हुनुअघि एकै पटक युवतीलाई नशालु पदार्थ खुवाएको वा कुराकानीकै क्रममा भेट भएपछि त्यसको फाइदा उठाएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

करिब २४ घण्टासम्म नशालु पदार्थ खुवाएर किशोरीमाथि उसले पटक–पटक बलात्कार गरेको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्