Logo

नगरपालिकाको आफ्नै निशान छाप



परासी, १९ असोज: नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरको आफ्नो छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने बर्दघाट पश्चिम नवलपरासिकै पहिलो स्थानीय तह हो । नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने छाप निर्माण गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

नगरपालिकाको निशान छाप स्थानीय कलाकार सुशील सौरभले बनाउनुभएको हो । छापको शिरमा नगरकै सबैभन्दा अग्लो स्थानमा रहेको ऐतिहासिक एवं पर्यटकीयस्थल संसारकोट र त्यहाँ रहेको मन्दिर अङ्कित छ भने चुरे वन क्षेत्र, राष्ट्रिय झण्डा, नगरपालिकाको भौगोलिक नक्शा र नगरपालिकाभित्रै रहेको ऐतिहासिक बुद्धमङ्गल तालमा पाइने कमलको फूललाई पनि छापमा समावेश गरिएको छ ।

सन्सारकोट तत्कालीन ऐतिहासिक पाल्पा राज्यसँग सम्बन्धित क्षेत्र हो भने बुद्धमङ्गल ताल बुद्धकालीन ताल हो । वडा नं ५ प्रदेशको पूर्वी प्रवेशद्वार हुनुका साथै यो प्रदेश बुद्धभूमि पनि भएकाले त्यसको पहिचान झल्काउन शान्तिको प्रतिक पहेलो रङ्ग पनि छापमा प्रयोग गरिएको नगर प्रमुख बस्यालले बताए ।

नगरपालिकाको छापमा नगरको समथर भूमि र यहाँ उब्जाउ हुने उत्पादनको पहिचानसमेत झल्किएको छ । समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर छाप बनाइएको नगरपालिकाले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्