Logo

‘सबैखाले पाठकले आख्यान रुचाउँछन्’ : अनिल पौडेल



पितामाता : लक्ष्मीप्रसाद/टीकादेवी
जन्मस्थान : सङ्खुवासभा, हेदाङ्ना ।
अध्ययन : बीए ।
प्रथम प्रकाशित रचना : गीति कविता २०३४, धरान

प्रकाशित कृति

१. तुवाँलो लागेको क्षितिजबाट (कवितासंग्रह) २०४०
२. आजको सवाई (”) २०४२
३. फुटेर फेरि मनहरु (”) २०४८
४. काठमाडौंदेखि सिक्किमसम्म (नियात्रा) २०५३
५. हातहरु (कवितासंग्रह) २०५७
६. आमाचरी (बाल उपन्यास) २०६३
७. अतीतको बिस्कुन (संस्मरण) २०७४
८. इमानको इन्द्रेणी (केशव बडालको जीवनी) २०७५
९. जुरेली दर्शन (सत्यमोहन जोशीको अनुसन्धानात्मक कृति) २०७५

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

मेरो लेखन बाल्यकालदेखि नै सुरु भएको हो । खासगरी सानो कक्षामा अध्ययन गर्दादेखि नै म तुकबन्दी मिलाउने, झ्याउरे लयमा लेख्थें ।

कसबाट र कसरी सुरु भयो ?

म मावलमा हुर्केको हुँ । मामाले छोराछोरीलाई पढाउन घरमै शिक्षक राख्नुहुन्थ्यो । नजिकै ज्योति प्रा. वि. (निमावि÷मावि हुँदै हाल उच्च मावि) थियो । त्यहाँ पढाउने शिक्षकमध्ये कुनै एकजना नियमित ट्युशन पढाउनुहुन्थ्यो । अझ मामाले आवासीय शिक्षकको व्यवस्था गर्नुहुन्थ्यो । यसरी, उपलब्ध भएका शिक्षकमध्ये एकपल्ट गुणदेव अधिकारी आउनुभयो । मामाका छोराछोरीलाई पढाउँदा म पनि छेउमा बसेर हेर्न थालें । उहाँ हुनुहुँदो रहेछ, साहित्यका पारखी । बेलाबेला लयमा गुनगुनाउनुहुन्थ्यो । तुकबन्दी मिल्ने कविता लेखेर सुनाउनुहुन्थ्यो । त्यही वातावरणले मलाई पनि लठ्याएछ । अनि बिस्तारै आफू पनि अभ्यास गर्न थालें । यसरी आज पछाडि फर्केर हेर्दा मेरो लेखनको द्रोणाचार्य गुणदेव अधिकारी नै हो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

सामान्य र स्वाभाविक रूपमा बढिरहेको छ । मेरो कलम कता हो कता, दौडेको दौड्यै गर्ने खालको पनि छैन र कुण्ठा अनि आलस्य बोकेर चौतारी खोज्नेखालको पनि छैन ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्टिले प्रगति रोकिन्छ भन्छन् । असन्तुष्टिले पलायनतिर धकेल्न सक्छ । तर, स्वदेशविदेशमा रहेका स्रष्टा आ–आफ्नो ठाउँमा साधनारत छन् । एक सय एक वर्ष काटेका राष्ट्रकविदेखि कलिला बालकसम्म सिर्जनामा लीन रहेको स्वर्णिम समय हो यो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पनि आफ्नो कुटीमा बसेर लेखनका कुरा गर्दै हुनुहुन्छ । बोर्डिङ र सामान्य विद्यालयका भाइबहिनी पनि भर्चुअल प्रतियोगिता गरिरहेका छन् । युवा र वयस्क पुस्ताले नयाँ कृति कोरलिरहेका छन् । पुरस्कारको बाढी आएको छ । सम्मानको जुलुस लागेको छ । प्रदेश र संघीय सरकारले साहित्यकारलाई प्रोत्साहन गरिरहेको छ । गुणात्मकतामा केही समय लागे पनि निरन्तरको साधनाले सिर्जनालाई शालिग्राम बनाउँदै लानेछ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

म कविता, निबन्ध, यात्रा संस्मरण र गीत लेख्छु । तर अन्तर्मुखी स्वभाव भएकोले आफूलाई प्रकाशमा ल्याउन अलिक हिच्किचाउँछु । मै लेखौं, मै छापौं, ‘मै लाऊँ मैं खाऊँ’ भन्दा पनि अरुका योगदानलाई लिपिबद्ध गरौं भन्ने भावनाले बढी निर्देशित छु । आफूलाई पनि त्यही आत्मरतिमा रमेको देख्छु । केही वर्षअघि सहकारी अभियन्ता केशव बडालको जीवनी लेखें । गत वर्षमात्र वाङ्मय शताब्दी पुरुषको जीवनी लेखें । लकडाउनको समयमा मात्रै पनि तीनवटा स्मृति ग्रन्थ र एउटा जीवनी छापियो । तर, यो मेरो अगुवाइमा भएको सामूहिक काम हो । अहिले पनि एउटा कवितासंग्रह, अतीतको बिस्कुन–भाग २ र केही संस्मरण तयारी अवस्थामा छन् । तर, असल चरित्र भएका नायककै जीवनी र संस्मरणमा व्यस्त छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

स्रष्टाले समाज र सरकारको नजरमा कुनै विशिष्ट किसिमको व्यक्ति हुन माग गर्दैन । ऊ पनि अरुजस्तै सामान्य नागरिक हो । तर, उसको सृजना, धर्म र कर्मले राष्ट्र वन्दनीय हुन्छ । १७ वर्षे एउटा कलाकार अरनिकोले आठ सय वर्षअघि नेपाललाई चिनाए । साढे २५ सय वर्षअघि लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमले आज नेपाललाई विश्वभरि चिनाए । यसरी, कुनै पनि क्षेत्रका स्रष्टाले दिएको योगदानले सिंगो राष्ट्रकै परिचय र गरिमा बढ्ने भएकाले तत्तत् अनुसारको माया पनि उसप्रति गरिनुपर्छ । पुष्ट र यथेष्ट फलको आशा गर्ने हो भने भोक्ताले उचित मलजलको व्यवस्था गर्नुपर्छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?

भुइँमान्छेका कुरा, तिनको तपस्या र दैनिकीमा घामको किरण पु¥याउने मेरो लेखनको अभीष्ट हो । श्रमको सम्मान गर्नु, श्रमजीवी वर्गको नायकत्व स्विकार्दै आफ्नो लेखनलाई निरन्तरता दिन पाए आफू यही समाजको जिम्मेवार सदस्य भएको कुरामा गौरवबोध हुने थियो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

लेखेर बाँच्ने, लेखक भएर परिवार पाल्ने, आफ्ना न्यूनतम आवश्यकता लेखनबाटै पूरा गरेर सम्मानित जीवन जिउने परिपाटीको विकास हुन सकेको छैन । प्राध्यापन गरेर उब्रेको, जागिर खाएर बाँचेको अनि घाँस, दाउरा, हलो, कोदालो गरेर बचेको समयमा थकाइ मार्न छाडेर हामी सिर्जना कर्ममा जुटेका हुन्छौं । हामीलाई तालिम, अवसर, वातावरण अनि अतिरिक्त पारितोषिक छैन, तैपनि साधनामा तल्लीन छौं । आज अवसरका ढोका उघ्रिँदैछन् । यो राम्रो संकेत हो, तर कुनै मान, सम्मान र अभिमानबेगर साधकहरु साधनामा लागिरहनु गर्वको कुरा हो ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्टिले यात्रालाई पूर्णविराम लगाउँछ । पढिरहने, लेखिरहने, हिँडिरहने ब्रेक नभएको साइकल हो हाम्रो जीवन । त्यसैले यतिमै सन्तुष्ट हुन त कहाँ सकिन्छ र ?

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

आजको लेखन पाठककेन्द्रित, उमेरकेन्द्रित, रुचिकेन्द्रित, विधाकेन्द्रित र विषयकेन्द्रित हुँदै गएको छ । रहरको लेखनभन्दा जिम्मेवारीबोधको लेखन हुँदै गएको छ । कसैको प्रशस्तिमा समय खर्चिने र साधन घोट्ने काम घट्दै गएको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

जीवनभन्दा पर नभागोस् । जगत्लाई भय, रहस्यको चट्टान नबनाओस् । श्रमको उपेक्षा नगरोस् । भ्रातृभावको विकास होस् । पाठकको हातमा कृति पुग्दा स्नेहले सुम्सुम्याओस् । पुरस्कार अनि प्रशस्तिका लागि नलेखियोस् अर्थात् हाम्रो साहित्य जाडोमा सिरक तथा गर्मीमा झुल होस् ।

लेखनप्रति केले प्रेरणा दिन्छजस्तो लाग्छ ?

त्यस्तो कुनै ठूलो विषय चाहिन्न । आफै बसेको परिवेश, दैनन्दिनका घटना, नयाँ वस्तुको अनुभूति, रहनसहन जुनसुकै कुराले पनि प्रेरणा दिन्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

अधिकांश बिहान र बेलुकीको समयमा सिर्जना–कर्म गर्छु । भरसक बिहान नौ बजेसम्म र बेलुका १० बजेसम्म जति घर व्यवहार, भेटघाट र जनसम्पर्क घटाउन सक्यो– त्यति लेखनकार्यमा व्यस्त रहन सक्छु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

घटनाविशेष, जनआवाज, सामाजिक विकृति र सकारात्मक कुरा जुनसुकै विषय पनि हुन सक्छन् लेखनको विषय । त्यसमध्ये जुन कुराले बढी हुट्हुट्याउँछ– त्यसैले प्राथमिकता पाउँछ ।

सफल स्रष्टाका आवश्यक गुण के–के हुन् ?

पुष्ट अध्ययन, विधागत ज्ञान, पाठकसँगको जीवन्त सम्पर्क र आफ्नो प्रस्तुतिबाट सहजै पाठकलाई अनुयायी बनाउने शक्ति आदि कुरा नै सफल स्रष्टाका आवश्यक गुण हुन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

पाठकको ध्यान तान्न सक्ने सिर्जना भयो भने जुनसुकै विधाले पनि राज गर्न सक्छ । तर, सबैखाले पाठकले रुचाउने विधा भनेको आख्यान हो ।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

मात्र फोटोग्राफी वा उडनतस्तरीको बयान दुवै कुराले साहित्यलाई अनुत्पादक बनाउँछ । सुन त्यही हो– जसलाई सुनारेले आफ्नो सीपद्वारा हार, चन्द्रमा, सिक्री र औंठी बनाउँछ । सिर्जना कर्म पनि काँचो सुन र चिटिक्क परेको गहनाजस्तै हुनुपर्दछ । सजीवतालाई कल्पनात्मक कलाले कुँद्नुपर्छ ।

लेख्नुपर्ने कतिबेला महशुस हुन्छ ?

जतिबेला मन आन्दोलित हुन्छ, आक्रोश जन्मिन्छ, हुटहुटी पलाउँछ– त्यतिबेला हृदयले निकास खोज्छ । कहिलेकाहीँ यसै पनि भावना फुर्छन् ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

स्रष्टा पनि समाजभित्रकै सदस्य हो । छुट्टै ब्रह्माण्डमा बसेर जीवन बिताउँदैन । जसलाई पनि राम्रो सरकार बनोस् र अत्याचार नहोस् भन्ने चाहना हुन्छ । त्यस्तो चाहनाको प्रतिनिधित्व जसले गर्ला, जसले सुशासन देला– उसलाई भावनात्मक रूपले सहयोग गर्नु सबैको कर्तव्य हो । त्यही कर्तव्यनिष्ठाकै एउटा सदस्य स्रष्टा पनि भएकोले त्यस्तो लागेको हुन सक्छ । कहिलेकाहीँ स्रष्टाले झण्डा बोक्ने हातलाई पवित्र बनाउने काम पनि गरेका छन् । साहित्यले पशुभावबाट मनुष्यभावतिर लैजान्छ हामीलाई ।

प्रस्तुति : जयराम सापकोटा



प्रतिक्रिया दिनुहोस्

Screenshot