Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्नेलाई कारबाहीको चेतावनी



काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रदेश ५ को प्रदेशसभा बैठक कक्षमा तोडफोड गरेको भन्दै प्रदेश सांसदहरुलाई कारबाहीको चेतावनी दिएका छन् । उनले घटनामा संलग्न भएको भन्दै चारजना सांसदहरुको तस्वीर ट्वीटर पेजमा राखेर नै कारबाहीको चेतावनी दिएका हुन् । उनले राखेका तस्वीरहरुमा बसोधिन खाँ, अष्टभुजा पाठक, वैजनाथ कलवार र फकरुद्धिन खाँ छन् ।

थापाले तोडफोडलाई अपराध भन्दै उन्मुक्ति नहुने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सांसदको बोल्ने अधिकार संविधान काननुबमोजिम अनतिक्रम्य छ, तर तोडफोड गर्नु, अशिष्ट र असंसदीय शब्द प्रयोग गर्नु त अपराध हो । अपराधमा उन्मुक्ति हुँदैन ।’

हिजो प्रदेश ५ को प्रदेशसभा बैठकमा दाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्तावमाथि छलफल भइरहँदा नेपाली काँग्रेसका असन्तुष्ट सांसदहरुले मेच फालेका थिए । काँग्रेसले आज सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप समेत जारी गरिसकेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्वीटर पेजमा मेच भाँचेको दृश्य समेत राखेका छन् । उनले गृहमन्त्रीले रोक्न आदेश दिंदा उल्टै अपशब्दमा गालीगलौज गरिएको भन्दै आलोचना समेत गरेका छन् ।
सुर्य थापाले ट्वीटर पेजमा लेखेका छन्ः सांसदले ताेडफाेड गर्दा निरीह मर्यादापालकहरू ! गृहमन्त्रीले राेक्न आदेश दिंदा उल्टै अपशब्दमा गालगलाेज ? जमाना खराब छ- सांसदकाे बाेल्ने अधिकार संविधान कानुनबमाेजिम अनतिक्रम्य छ, तर ताेडफाेड गर्नु, अशिष्ट र असंसदीय शब्द प्रयाेग गर्नु त अपराध हाे । अपराधमा उन्मुक्ति हुँदैन ।



प्रतिक्रिया दिनुहोस्