Logo

बल्ल बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य



काठमाडौं, असोज २१। लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो ।

गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो ।

दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् ।

कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव नपरेका कारण यसतर्फ लगानीकर्ताको आकर्षण बढेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले भने, ‘उत्पादित बिजुली अहिले प्राधिकरणले किनिरहेका कारण आयोजनामा आम्दानी भइरहेको छ ।’

अर्कोतर्फ अहिले सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत अर्थात् ५० लाखको प्याकेजसमेत सरकारले दिने प्रतिबद्धता गरेको छ । जुन केहीले पाइसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्