Logo

राज्यमन्त्री दुगडको उद्योगमाथि छानबिन सुरु



काठमाडौं, असाज २१ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ ।

मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालिले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।

राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।

सचिव अर्यालले राज्यमन्त्री दुगडको उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिए नलिएको विषयमा छानबिन गरिने बताए । उनले विभागबाट अनुज्ञापत्र लिएको छैन भने कानुनबमोजिम कारबाहीका लागि अघि बढाइने बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए ।

मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री भट्टले आफू तीन दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए

राज्यमन्त्री दुगडले नुनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट टे«डिङ कर्पोरेसनसँग मौखिक सम्झौता भएको बताएका छन् । तर, साल्ट टे«डिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नुनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्