Logo

डेढ करोड लगानीमा विद्यालय भवन निर्माण



जुम्ला, असोज २१ । विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सो गाउँपालिका–५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ ।

युएनडिपीको रु ८५ लाख २६ हजार ४०० र तिला गाउँपालिकाको रु ५५ लाख गरी जम्मा रु एक करोड ५५ लाख ८४ हजार बढीको लागतमा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण गरिएको हो ।

विद्यालय पहुँच बाहिर रहेका किशोरीलाई विद्यालय पहुँचमा ल्याउन मैत्रीपूर्ण शौचालयदेखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, सफा कक्षाकोठा र डेक्स–बेन्चसहितको दुईतले आठकोठे पक्की नमूना भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताउनुभयो ।

किर्डाक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन जिल्लाकै नमूना सुविधायुक्त छ । प्राविधिक अजित थापाले भन्नुभयोे, “अपाङ्गमैत्री शौचालय, छात्रछात्राको छुट्टाछट्टै शौचालय, किशोरीका लागि स्यानिटरी प्याड आउने मेसिन, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको बैठककक्ष, कार्यालय कोठा र १० कक्षासम्मको कक्षाकोठा छन् ।”

महिनावारी भएको बेला विद्यालयमा नआउने किशोरीलाई विद्यालयको पहुँचमा ल्याउन स्यानिटरी प्याडदेखि छुटाछुटै शौचालयको व्यवस्था गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताउनुभयो । उहाँले भन्नुभयोे, “अझ कर्णालीमा किशोरी शिक्षाको दुरवस्था छ । विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा देवता रिसाउने र विद्या नष्ट हुने डरले विद्यालय छाड्ने किशोरीको सङ्ख्या बढी छ । नमूना सुविधायुक्त भवन निर्माणले तिला–५ का सयौँ किशोरीलाई विद्यालयमा ल्याउन मद्दत गर्ने विश्वास छ ।”

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दिगो विकास लक्ष्यको अवधारणाअनुसार नै शिक्षा क्षेत्रको लगानीमा जोड दिइएको बताउनुभयो । जिल्लाकै नमूना भवन निर्माण भए पनि भवनजस्तै नमूना र गुणस्तरीय शिक्षा दिने चुनौती आएकाले योजनाबद्ध ढङ्गबाट शिक्षा क्षेत्रको सुधारमा अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विभिन्न योजना अनुगमनका क्रममा जुम्ला पुग्नुभएका कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले दक्ष जनशक्ति उत्पादन गर्न, स्वावलम्बन नागरिक बनाउन, शिक्षा क्षेत्र पहिलो जग भएको बताउनुभयो । उहाँले पूर्वाधार निकै नमूनायोग्य बनेको उल्लेख गर्नुभयो । अब पूर्वाधारजस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने र शैक्षिक गुणस्तर कायम गर्ने सवालमा पालिका गम्भीर हुन सुझाउनुभयो । पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्