Logo

कनौडियाले नाममा लुम्बिनीमा भोट हाल्न हुने, हामीले दाङमा हाल्न नहुने हुन्छ र ? : डिल्ली चौधरी



नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीले आफूलाई पार्टी केन्द्रीय कार्यालयले पनि ह्विप नलगाउन भनेको स्पष्ट पार्दै प्रदेशको राजधानी तोकिने विषयमा भएको मतदानमा ह्विप नलगाईएको बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, पार्टीको दुईओटा आचारसंहिता हुनसक्छ । दाङ राजधानीमा भोट नहाल्ने, नाममा मात्रै हाल्ने भन्ने एउटा मापदण्ड, दुईओटा कुरा हुन सक्दैन । फेरि ह्विप लगाउने अधिकार दलको नेतालाई होइन, प्रमुख ह्विप, प्रमुख सचेतकलाई हुन्छ । प्रमुख सचेतकले लगाएका छैनन् । हामीले निर्णय गरेका छौँ, दाङ, बर्दिया र बाँकेका सांसदहरूलाई हामीले राजनीतिक निकास दिने भनेर एउटा निर्णय गर्ने, आफ्नो खल्तीबाट ह्विप लगायो भनेर कहाँ भन्न पाईन्छ ? प्रस्तुत छ सांसद चौधरीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको अवस्थामा तपाईँले पार्टीको ह्विपलाई किन उलंघन गनुभयो ?

पार्टीको दुईओटा आचारसंहिता हुनसक्छ । दाङ राजधानीमा भोट नहाल्ने, नाममा मात्रै हाल्ने भन्ने एउटा मापदण्ड, दुईओटा कुरा हुन सक्दैन । फेरि ह्विप लगाउने अधिकार दलको नेतालाई होइन, प्रमुख ह्विप, प्रमुख सचेतकलाई हुन्छ । प्रमुख सचेतकले लगाएका छैनन् । हामीले निर्णय गरेका छौँ, दाङ, बर्दिया र बाँकेका सांसदहरूलाई हामीले राजनीतिक निकास दिने भनेर एउटा निर्णय गर्ने, आफ्नो खल्तीबाट ह्विप लगायो भनेर कहाँ भन्न पाईन्छ ?

ह्विप लगाउन मिल्दैन, तपाईँलाई ? तपाईँ त पार्टीको सांसद होइन ?

पार्टीको विधान छ । कानुन पालना गर्नुपर्छ । यस्तो कुरामा मैले मेरो खल्तीबाट ह्विप लगाएँ, नाममा पनि ह्विप लगाउँदिनँ, ठाउँमा ह्विप लगाउँछु भन्न पाईन्छ ?

अनुशासनहीनता देखियो नि, पार्टीभित्र । नेपाल कम्युनिष्ट पार्टीभित्र सबैले मान्ने, अनि कांग्रेसले किन नमान्ने ? पार्टीभन्दा ठुलो हो आज तपाईँको हैसियत ?

पार्टीभन्दा कोही पनि ठुलो हुन सक्दैन । पार्टीलाई सिध्याउने काममा पनि कोही पनि लाग्नुु हुँदैन । बुटवलको लागि कांग्रेस सिध्याउन कोही लाग्नुहुन्छ ? बुटवलको नाममा, एकजना नेताको नाममा के पार्टी सिध्याईदिने ?

प्रमुख सचेतकले ह्विप लागू गर्नुभएन ?

प्रमुख सचेतकले गर्नु भएको छैन ।

उहाँले ह्विप जारी गर्नुभएन तर संसदीय दलको नेताले गर्नुभएको छ नि त ? वीरेन्द्रकुमार कनौडियाले । तर, तपाईले मान्नुभएन ?

वीरेन्द्रकुमार करौडियालाई कहाँ अधिकार छ ?

किन छैन ? संसदीय दलको नेतालाई अधिकार छैन ?

उहाँले प्रमुख सचेतकलाई भनेर ह्विप लगाउनुपर्छ । अर्को कुरा, यस्तो कुरामा बहस गराउनुपर्छ । बैठक, छलफल भएको छ । बाँकेदेखि दाङ र बर्दियाको सांसदहरूलाई राजनीतिक निकास दिने उहाँहरूले गर्ने भनेर माईन्यूट गरेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डको बीचमा सहमति भयो । तर अहिले आएर तपाईँले शेरबहादुर देउवाको निर्देशन मान्नुभयो कि मान्नुभएन ?

शेरबहादुर देउवाको केन्द्रका कुनै पनि नेताहरूलाई ह्विप नलगाउनु नै भनेर आदेश गरेका छन् यहाँ ।

केन्द्रका कुनै पनि नेताहरूलाई ह्विप नलगाउनु भनेका छन् ?

कसैलाई पनि ह्विप नलगाउनु भनेका छन् ।

पार्टीका नेताहरूलाई ह्विप लगाउनुपर्छ, अनुशासनमा राख्नुपर्छ भनिएको छ ।

सबै नेतासँग कुरा भएको छ । केन्द्रिय समितिको स्टेटमेन्ट हेरौँ । कसैलाई पनि ह्विप नलगाउनु भनेका छन् ।
अहिले आएर तपाईँहरूले पार्टीलाई मान्नुभएन । पार्टीको निर्णय आत्मसात गर्नुभएन ? कांग्रेसभन्दा तपाईँहरू ठुलो हुनुभयो ?

नेपाल कम्युनिष्ट पार्टीको एजेण्डामा तपाईँहरू जानुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको एजेण्डामा त कनौडिया पनि जानुभयो । कनौडियाले नाममा लुम्बिनीमा भोट हाल्न हुने, हामीले दाङमा हाल्न नहुने हुन्छ र ?

त्यसोभए वीरेन्द्रकुमार करौडियाले गलत गर्नुभयो ?

उहाँले त आफ्नो स्वार्थको लागि गर्नुभयो । लुम्बिनी नाम बनाउन हुने ? उहाँहरूले नै ल्याएको दुईओटा एजेण्डा थियो । नामाकरण र अर्को ठाउँको एजेण्डा । ठाउँ मलाई मन परेन, तपाईँहरूले नहाल्नु भन्ने ? नाम मलाई मन परेको छ भन्ने हुन्छ ? मन पर्ने भन्ने हुन्छ ?

कांग्रेस पार्टीभित्र त भद्रगोल देखियो नि त ? अनुशासनहीनता त ह्वात्तै बढेको देखियो प्रदेश नम्बर ५ मा ।

पूरा बहस भएको थियो, हामीले भनेका थियौँ, तपाईँहरू केन्द्रिय समितिले स्टेटमेन्ट जारी गर्नुभएको छ । पार्टी सभापतिले स्टेटमेन्ट जारी गर्नुभएको छ । हामी चाहन्थ्यौँ, दाङ, बाँके र बर्दियाका सांसदहरूले हामी पक्षमा हाल्दैनौँ भनेर हामीले संसदीय दलमा भनेका थियौँ । त्यो अनुसार निर्णय भयो ।

मनोमानी गर्न मिल्छ ?

मनोमानी त उहाँले गर्नुभयो कि मैले गरेँ ?

तपाईँहरूले गर्नुभयो । तपाईँहरूले त पार्टीको ह्विपलाई उलंघन गर्नुभएको छ ।

कसरी ह्विप उलंघन गरेका छौँ ? ह्विप उलंघन गरेको भए त नाममा उहाँहरूले पनि उलंघन गर्नुभयो । नाममा त लुम्बिनीमा नै उहाँहरूले भोट हाल्नुभएको छ नि ।

अब तपाईँहरूलाई कारबाही हुनसक्छ नि त ?

कारबाही त कसलाई कारबाही गर्ने ? कसलाई कारबाही नगर्ने ? भन्ने कुरा त दोस्रो कुरा हो । तर संसदीय दलमा भएको निणर्य गर्नुपर्छ नि । खल्ती बाट जे पनि गर्न पाईन्छ ?

संसदीय दलको निर्णय के हो ?

संसदीय दलको निर्णय के भएको थियो भने आन्दोलन गर्ने, उहाँहरूले रोस्टम घेर्ने कुरा भएको थियो । दाङ, बाँके र बर्दियाका सभासदहरूलाई निकास दिने, भनेको ह्विप नलगाउने भन्ने नै हो ।

ह्विप नलगाउने भनेर सहमति भईसकेपछि पनि त ह्विप त लाग्यो नि तपाईँहरूमाथि ?

किन लगाउनुभयो ? त्यो त उहाँलाई सोध्नुपर्छ ।

आजको पार्टी सिस्टममा त पार्टीभन्दा ठुलो कोही पनि हुँदैन नि त ?

पार्टीभन्दा ठुलो कोही पनि हुँदैन । एउटा निर्णय भईसकेपछि तँ भोट हाल्, तँ लुम्बिनीमा भोट नहाल्, भन्न पाईन्छ र ? के दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठानमा के नेपाली कांग्रेस छैनन्, त्यहाँ ? सबैलाई सिध्याईदिने ?

त्यसोभए नेपाली कांग्रेस सिद्धियो अब ?

नेपाली कांग्रेस सिद्धिएको छैन । नेपाली कांग्रेस बचेको छ । नेपाली कांग्रेसले यो एजेण्डा बोकेर जान्छ ।

यो एजेण्डा कांग्रेसले बोक्ने कि कम्युनिष्टले बोक्ने ?

यसमा जितहारका कुराहरू हुँदैनन् । यस्तो कुरामा सबैलाई पायक पर्ने ठाउँ, सबैले खोजेको ठाउँ भएपछि जित र हारको कुरा नै छैन यसमा ।

आजको दिनमा एजेण्डाको कुरा गर्दाखेरि नेपाल कम्युनिष्ट पार्टीको एजेण्डा स्थापित भयो नि त ?

एजेण्डा कसको स्थापित भयो भन्नुभन्दा पनि संघीयता कस्तो जान्छ ? भन्ने कुरा हो ।

संघीयता त असफल भयो हाम्रो देशमा ।

असफल भयो भन्नेमा छलफल, बहस होला ।

संघीयताले त देशलाई ब्रह्मलुट भयो । नेताहरू धनी भए । जनताका प्रतिनिधि धनी भए । भ्रष्ट्राचार गरे उनीहरूले अनि जनताले के पाए ?

अहिले पनि संघीयतामा धेरै कुरा सुधार्नुछ । त्यसमा अरू अनुकुल कसैले व्याख्या गर्नुहुँदैन । अहिले प्रदेश र स्थानीय सरकारबीच तालमेल नै छैन । यहाँ को सरकार ठीक ? को सरकार बेठीक ? भन्ने स्थिति छ ।

आजको कुरा गर्दाखेरि विकृति, विसंगति छ जताततै ।

प्रमाणित गरेर खोजीनीति गरौँ ।

पार्टीभित्रको यो निर्णयले पार्टीभित्र अन्तद्र्वन्द्व सुरु भयो नि त ?

अन्तद्र्वन्द्व बढेको छैन । पार्टीभित्र सबै नेताहरूले ह्विप लगाउनुहुँदैन भनेर छलफल गरेका छन् । पश्चिमका सबै पार्टी सभापतिले गरेका छन् । केन्द्रका कुनै पनि यस्तो नेता हुनुहुन्न, जसले ह्विप लगाउनुपर्छ भन्नुभएको छ ।

अब भालुवाङमा विकास हुन सक्छ ? भालुवाङमा विकास गर्नको लागि त धेरै वर्ष लाग्छ । पूर्वाधार छैन नि ?

समय लाग्ला तर एउटा कुरा, बर्दियाको राजापुरको साथी आउँदा यहाँ दश घण्टा लाग्थ्यो । रुकुमको साथी आउँदा यहाँ दश घण्टा लाग्थ्यो । तर अहिले जुन ठाउँमा हामीले बनाउन गईरहेका छौँ, त्यहाँ सबै तीनघण्टामा सबै ठाउँमा पुग्छन् ।

पाल्पाबाट पुग्छन्, मान्छेहरू ?

पाल्पाबाट पनि साढे तीन घण्टामा त्यहाँ पुग्छन् ।

रामपुरबाट पोखरा जान सजिलो हुन्छ नि त भालुवाङ जानुभन्दा ?

सजिलो होला । अहिलेको निर्णयले के भएको छ भने आफ्नो स्वार्थभन्दा पनि प्रदेशको स्वार्थ हेर्नुपर्छ ।

बाँके, बर्दियाको लागि फाईदा भयो होला । पाल्पाको लागि भएन नि, पाल्पाको मान्छेलाई त दिनभरि लाग्छ नि ?

कतिओटा जिल्लाहरू पहिले खोँचमा थियो ? अहिले एउटा जिल्लालाई अलि बढ्ता असर गर्न सक्छ । पाल्पा बाहेक सबै जिल्लालाई सहज छ अहिले त्यहाँ ।



प्रतिक्रिया दिनुहोस्