Logo

‘डा. केसीका कुरा सुनेर एउटा सहमति गरेर अनशन तोड्नुपर्छ’ : अध्यक्ष डा. कार्की



नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि आफुहरुले सरकारलाई दबाब दिनको लागि आन्दोलनको घोषणा गरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष डा. कार्कीले यस्तो बताएका हुन् । उनले भने,‘डा. गोविन्द के.सीको आज २५औँ दिन भईसक्दा पनि सरकारबाट जुन ढंगको उत्तर नआएको कारणले हामी आन्दोलनमा जान हिजो घोषणा गरेका थियौँ । त्यही हिसाबले हामी आन्दोलनमा होमिन पुगेका छौँ । आज वार्ता टोली बनेको कुरा सुनिएको छ । वार्ता टोली कुन हिसाबले बनेको छ, त्यही अनुसार हामी अगाडि बढेर हामी निर्णय गर्छौँ ।’ प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आजबाट तपाईँहरू किन आन्दोलनमा ? आन्दोलनको बेला हो र, अहिले ?

डा. गोविन्द के.सीको आज २५औँ दिन भईसक्दा पनि सरकारबाट जुन ढंगको उत्तर नआएको कारणले हामी आन्दोलनमा जान हिजो घोषणा गरेका थियौँ । त्यही हिसाबले हामी आन्दोलनमा होमिन पुगेका छौँ । आज वार्ता टोली बनेको कुरा सुनिएको छ । वार्ता टोली कुन हिसाबले बनेको छ, त्यहीअनुसार हामी अगाडि बढेर हामी निर्णय गर्छौँ ।

तपाईँहरूको आन्दोलन आज जारी छ कि छैन ? वार्ता समिति दुबैले गठन गरेका छन् । वार्ता गर्न सरकार तयार भएको छ ?

हाम्रो आजको कार्यक्रम जारी रहन्छ, जस्तो अधिकांश कार्यक्रम, धर्नाको कार्यक्रम । भावीको कार्यक्रमलाई आजको कुराहरूलाई हेरेर जान्छौँ ।

त्यसोभए आजको कार्यक्रम तपाईँहरूको जारी छ ? आजको कार्यक्रम के के छन् ?

हाम्रो आजको कार्यक्रम भनेको ९ देखि ११ हामी धर्ना कार्यक्रमहरू गरिरहनेछौँ । त्यसपछि आजदेखि अर्को निर्णय नहुञ्जेलसम्म रिले अनशनका कार्यक्रमहरू गरिरहेका छौँ ।

रिले अनशन कहाँ कहाँ हुँदैछ ? कसरी हुँदैछ ?

देशभरि नै हुन्छ, रिले अनशन । हाम्रो देशभरि नै शाखा कार्यालयहरू छन् । देशभरि नै हाम्रो विभिन्न हस्पिटलहरूमा, विभिन्न शाखाहरूमा जहाँ जहाँ चिकित्सक साथीहरू हुनुहुन्छ, सबै देशभरि नै हुन्छ ।

तर सरकारले के भनेको छ भन्दाखेरि सबैले अवज्ञा गर्नुपर्छ, आन्दोलनमा जानुहुँदैन भनेर घोषणा गरिसक्यो ।

सरकारले त उसको काम नेचुरली नै हो, आन्दोलन अथवा विरोधलाई अवज्ञा गराउनु सरकारको भूमिका हो । हाम्रो पनि भूमिका हुन्छ । हामीले हाम्रो डा.गोविन्द के.सीलाई जोगाउने हाम्रो भूमिका छ । आज यत्रो दिन भईसक्दाखेरि पनि यसलाई अवज्ञा गर्नेभन्दा पनि मेरो विचारमा हामी कसरी चाँडोभन्दा चाँडो वार्ता गरेर डा. गोविन्द के.सीको सत्याग्रहलाई तोड्नेतिर लागेका छौँ ।

सत्याग्रह तोड्नको लागि सरकारले पहल गर्नुपर्छ, सम्बोधन हुनुपर्छ । वार्ता समिति गठन भएको छ । वार्ताबाट समस्या समाधान हुन्छ कि हुँदैन ?

हो, त्यतातिर जानुपर्छ । अब यसलाई अवज्ञा गराउने, यो कस्तो भने गलत दिशातर्फ गईरहेको छ । आफुले भनेको कुरा नै होइन, तर त्यो कस्तो भने सारा ध्यान हामीले वार्तामा लगाएर ढिलो चाँडो उहाँलाई उठाउने काम गरियो भने त सिद्धिहाल्यो नि ।

होइन तपाईँहरूले पनि त आन्दोलन गर्दाखेरि समस्याको जटिलतालाई बुझ्नुपर्छ । अहिले कोरोनाको संक्रमण बढिरहेको छ । यसले त महामारी फैलिँदैछ । इपिसेन्टर बन्दैछ ।

हामीले कोभिडको कार्यक्रम कोभिड ईमरजेन्सीहरूलाई वास्ता नगरिकन कामहरू गरिरहेका छौँ । त्यतिसम्म पनि असमझ छैनौँ, हामीहरू । यो कोभिडको बेलामा पनि देख्नुभयो होला, हामी सबै कुरा आफुले रिस्कमा लिएर जनताप्रति सेवा दिईरहेका छौँ । जनताको जीवनप्रति हामी उत्तरदायी छौँ । हामीलाई पटक–पटक प्रमाणित गराउन नलागौँ । हामीले भुँइचालोको बेलामा होस्, अहिले होस्, आफु परिवारलाई संक्रमित बनाएर हुन्छ कि आफु नसुतेर हुन्छ कि आफु नखाएर हुन्छ कि आफु नपिएर हुन्छ कि अहोरात्र खटेर हुन्छ कि हामी नेपाली जनताको स्वास्थ्यको लागि काम गरेको प्रमाण त छ÷सात महिनादेखि देखिरहेका छौँ । त्यसैले हामी ईन्सेन्सिटिभ छैनौँ । हामी असंवेदनशील छैनौँ तर हामी २५ दिन भईसक्दाखेरि पनि डा. गोविन्द के.सीको आज जीवन–मरणको स्थितिमा हुनुहुन्छ । आज आई.सी.यु चाहिएको अवस्था छ । त्यहाँ संवेदनशीलता सरकारबाट देखाउने कि नदेखाउने ? हामी हाम्रै चिकित्सक संघको आजीवन सदस्य मरिरहेको पनि त टुलुटुलु हेरेर बसिराख्न सक्दैनौँ होला ।

उहाँको जीवनरक्षा गर्नुपर्छ । मैले बारम्बार भनेको छु । तर पनि अहिलेको अवस्थामा तपाईँले भन्नुभयो–तपाईँ त वार्ता टोलीको सदस्य पनि त हो नि, होइन ? डा. गोविन्द के.सीले वार्ता टोली गठन गर्नुभएको छ । तपाईँलाई राख्नुभएको छ त्यसमा । तपाईँ वार्ता टोलीको सदस्यको नाताले तपाईँ आन्दोलन गर्ने कि वार्ता गर्ने ?

वार्ता गर्ने । मैले त भनेँ, वार्ता गर्ने हो । त्यही भएर सुरुमै मैले तपाईँहरूलाई के भनेँ भने अब जुन हामीहरूले बन्द गर्ने, यताउता कुराहरूमा हामी वार्तामा लागेर त्यसमा हामी निष्कर्षतर्फ जानुपर्छ ।

त्यसोभए आजबाट वार्ता हुन्छ, तपाईँ वार्ता टोलीको सदस्यको नाताले वार्ता सार्थक र परिणाममुखी हुन्छ भन्ने विश्वास गर्नुहुन्छ ?

म वार्तामा जहिले पनि विश्वास राख्छु । किनभने आजसम्म १८ ओटा अनशन हुँदाखेरि पनि वार्ताबाट नै निष्कर्ष निस्केको छ । हामीले तरिका निकाल्नुपर्छ, हामीसँग विकल्प नै छैन ऋषिजी । अरू के विकल्प छ ? भन्नुहोस् त ।

तर डा. गोविन्द के.सीको फेरि पनि प्रतिक्रिया आएको छ, माग पूरा नभएसम्म मेरो सत्याग्रह जारी रहन्छ ।

त्यसको लागि त वार्तामा बसौँ । त्यसपछि के गर्ने भन्ने कुराहरू हुन थाल्छन् । त्यसरी अगाडि बढ्छौँ भन्ने कुराहरू पछि थाहा हुन्छ ।

वार्ताको मापदण्डको कुरा गर्दाखेरि, एजेण्डाको कुरा गर्दाखेरि डा. गोविन्द के.सीको सबै माग पूरा हुन्छ ? सम्भावना छ ?

सरकारले चाह्यो भनेदेखि यसपालिको त झनै सजिलो छ । माग पहिलाको जस्तो कठिन छैनन् । सरकारले चाह्यो भनेदेखि त के पूरा हुँदैन र ? किनभने सरकारसँग त्यो एउटा क्यापासिटी पनि छ । सरकारले चाहेको खण्डमा नहुने भन्ने कुरा पनि छैन । त्यसकारणले चाहेको खण्डमा त्यो पूरा हुनसक्छ ।

तर तपाईँहरूले जुन माग राख्नुभएको छ, डा. गोविन्द के.सीको मागको पक्षमा त चिकित्सकहरू पनि छन् । यो माग सम्बोधन गर्न सरकारले अहिलेको अवस्थामा आफुलाई तयार पारेको छैन । सरकारले के भनेको छ भने अनशन तोड्नुपर्छ । अनशन स्थगन् हुनुपर्छ । अनशनको अहिले बेला होइन मात्र भनेको छ, सरकारले । तपाईंको प्रतिक्रिया के छ ? 

त्यही चीजलाई के भन्नुपर्छ भने त्यही चीजलाई अनशन तोड्नुपर्छ, वार्ता गरेर, उहाँका कुराहरूलाई सुनेर, एउटा सहमति गरेर, अनशन तोड्नुपर्छ भन्ने लाईनमा जानुपर्छ जस्तो लाग्छ मलाई । अनशन डेफिनेट्ली तोड्नुपर्छ । हामी पनि अनशन तोडाउन चाहन्छौँ । तर कसरी भने वार्ता राखेर, सरकारले सुनिदिएर सहमतिमा पुगेर अनि अनशन तोड्नुपर्छ ।

सहमतिमा कसरी पुग्ने ? अब उहाँले जुन भ्रष्टाचारको मुद्दा उठाउनुभयो । काण्ड नै काण्डको कुरा गर्नुभएको छ । सरकार कारबाही गर्न तयार छैन नि त ?

सरकारले भ्रष्टाचारीलाई कारबाही नै गर्न चाहेको छैन भने त हामीलाई थाहा छैन । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर सबैलाई थाहा भएको कुरा हो । स्वयम प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ भनेर भनेको अवस्थामा भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने त त्यो कानुनको कुरा हो । यसमा त अप्ठ्यारो मान्नुपर्ने कुरा के छ ?

डा. गोविन्द के.सीले पनि राजनीतिको मुद्दा उठाउनुभएको छ भन्ने सरकारको आरोप छ नि ? 

होइन राजनीतिको मुद्दाभन्दा पनि एउटा कमन म्यान भनौँ न, एउटा कमन म्यानले भ्रष्टाचार हुनुहुँदैन, देशमा पारदर्शीता हुनुपर्छ भन्नु त त्यो एउटा कमन म्यानले उठाउने मुद्दा हो नि त । भ्रष्टाचार हुनुहुँदैन भन्ने कस्तो राजनीतिक मुद्दा हो र ? सामान्य कुरा, देशमा भ्रष्टाचार हुनुहुँदैन ।

त्यसोभए तपाईँहरू भोलिबाट आन्दोलन गर्नुहुँदैन ? आकस्मिक सेवाहरू पनि बन्द हुँदैन ?

भोलिको कार्यक्रमको लागि अफिसियली मैले सबै कुरा थाहा पाईरहेको हो । अफिसियली हाम्रो कुराहरू भईसकेपछि हामीले भोलिका कार्यक्रमहरूलाई टेन्टेटिभली सल्लाह गरेर चिकित्सकहरूसँग हामी बस्छौँ अनि कसरी जाने ? भन्ने बारेमा सल्लाह हुन्छ । वार्ता हुन थालेपछि हामी वातावरण राम्रो होस् भन्नेमा छौँ ।

त्यसोभए भोलिको आन्दोलन स्थगन हुन्छ ?

भोलिको लागि स्थगन हुन्छ जस्तो मलाई लाग्छ ।

किनभने वार्ताको कुरा आयो नि त ?

वार्तामा बसिसकेपछि वार्ता नै गर्ने र आन्दोलन उपयुक्त नभएको हुनाले त्यसलाई हामीले स्थगन गर्छौँ । हामी त्यसपछि दिशा हेरेर कसरी जान्छ वार्ता ? त्यसै अनुसार जान्छौँ ।

यदि वार्ता असफल भयो भने फेरि पनि तपाईँहरू आन्दोलनमा जानुहुन्छ । वार्ताको टेबुलमा हुँदाखेरि आन्दोलन हुँदैन ? नेपाल चिकित्सक संघको भनाईँ हो ?

त्यही हो, त्यही हो ।

त्यसोभए भोलिको कार्यक्रम सुचारु हुन्छ ? सबै ठाउँमा उपचारहरू हुन्छन् ? विरामीहरूले उपचार पाउँछन् ?

त्यो मेरो भनाईँ हो । छलफल भईसकेपछि त्यसको अन्तिम निर्णय म पछि भनौँला तर साधारण सबैले बुझ्नुपर्ने कुरा त्यही नै हो ।

कोरोनाको संक्रमण बढिरहेको छ, यो बेलामा तपाईँहरूले उपचार गर्नुपर्छ । उपचार गर्न छोडेर आन्दोलन गर्नु त राम्रो होइन नि ?

पक्कै पनि होइन । मैले अघि नै सुरुमा नै भनेको । हामीले आफुलाई सबै रिस्कमा राखेर काम गरिरहेका छौँ । हामीलाई यो बेलामा आन्दोलनमा जानुपर्छ भनेर ईच्छा लागेर त्यतातिर जान खोजेका होइनौँ । हामी नेपाली जनताको स्वास्थ्यप्रति ध्यानमा रहेर अहिले जुन प्रकारले संक्रमितहरूको संख्या बढेको छ, त्यसमा हामी सबैजनाले चासोको रूपमा लिनुपर्छ । राज्यले त्यसमा ध्यान दिनुपर्छ । ऋणहरू पाउन छोडेको छ । विभिन्न कुराहरू छन्, अझै आई.सी.यु थप्नुपर्ने अवस्था छ । आईसोलेसन थप्नुपर्ने अवस्था छ । किनभने विरामीहरूले बेड पाईरहेका छैनन् । त्यसमा हामी एकदम संवेदनशील छौँ । हामी त्यसमा केन्द्रित हुन चाहन्छौँ । हामी त्यही भएर पनि यत्रो दिनसम्म अल्टिमेटम पनि अन्तिममा आएर हामीले दिएका हौँ । हामीले ७२ घण्टाको अल्टिमेटम दिँदादिँदै पनि वार्ता टोली नबनेको कारणले गर्दाखेरि २५ दिन भईसकेको कारण स्वास्थ्य बिग्रिसकेको कारण, कुनै पनि बेला डा. गोविन्द के.सीलाई गुमाउनुपर्ने स्थिति आउने भएको कारणले गर्दाखेरि त्यो पनि एउटा जीवनरक्षाको हाम्रो पनि कर्तव्य हो । त्यसैले हामीले रातिबाट कार्यक्रमको घोषणा गरेका छौँ । तर हामीले कोभिड र ईमरजेन्सीका सेवाहरूलाई कही पनि असर गर्दैनौँ । त्यसमा हामी सहभागी हुन्छौँ । हामीले ओ.पि.डीको सेवाहरू दुईघण्टाको लागि बहिष्कार गरेका हौँ ।

त्यसोभए अहिले सक्रिय संक्रमितको संख्या पच्चीस हजार नाघिसक्यो, देशभरि । विरामीहरूले उपचार गर्न पाएका छैनन् । आईसोलेसन वार्ड छैन । आई.सी.यु छैन, भेन्टिलेटर छैन । किन यस्तो भईरहेको छ ?

हामीले भन्न खोजेको पनि यही हो । अहिले हाम्रो सबै ध्यान केन्द्रित भएको पनि यही कुरामा हो । किनभने दिनप्रतिदिन जुन तरिकाले संक्रमितहरूको संख्या बढिरहेको छ, यसले के देखाईरहेको छ भने हाम्रो जुन संक्रमणको ग्राफ छ, त्यो ग्राफ जबसम्म पिकसम्म पुग्दैन, त्यतिबेलासम्म हामीले आफ्नो परिवारलाई बचाएर हिँड्नुपर्ने बेला भएको छ । किनभनेदेखि अहिले आई.सी.यु, हस्पिटलमा बेडहरू प्याक भएको अवस्था छ । विरामीहरूले बेड पाउन कठिन भएर एउटा हस्पिटलबाट अर्को हस्पिटलमा जानुपर्ने अवस्था भएको कारणले एम्बुलेन्समा लग्नुपर्ने स्थिति छ । त्यही भएर सरकारले पनि यसलाई एकदम गम्भीर रूपले लिनुपर्छ । यो खतराको घण्टी बजिरहेको अवस्था भएको कारणले सरकारले, स्वास्थ्य मन्त्रालयले आई.सी.यु बेड, भेन्टिलेटर, आईसोलेसनका वार्डहरू थप्ने कुरामा ध्यान दिनुपर्छ । अहिले मेरो विचारमा लकडाउन गरेर भए पनि सबैतिर बेड प्याक भएको अवस्थामा छ भने यसलाई केही हदसम्म नियन्त्रण गर्नको लागि केही दिनको लागि हप्ता दशको लागि लकडाउन गरेर समय मिलाएर यो बीचमा आई.सी.युहरू थप्ने अनि अलिकति यो चाडवाडहरूले मानिसहरूको चहलपहल बढिरहेको बेला विभिन्न आउनेजाने क्रमहरू बढिरहेको भएर संक्रमण ज्यादा बढिरहेको छ । यो कुरामा अलिकति नियन्त्रण गर्ने कुरामा ध्यान दिएनौँ भने यसले हामीलाई झन् जोखिमतिर धकेलिरहेको अवस्था छ ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्