Logo

डा. केसीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ? : उपाध्यक्ष डा. श्रेष्ठ



नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि आफूहरुले आन्दोलनको घोषणा गरेको स्पष्ट पारेका छन् । र, डाक्टर केसीका माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा पनि जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. श्रेष्ठले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सरकारले हामीलाई कारबाही ग¥यो भने हामीले पनि सरकारलाई कारबाही गर्न जानेका छौँ । हामीले देश र जनताका लागि, भोलिका पूर्वाधारहरू सबै जनताको लागि हाम्रो गोविन्द के.सीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ? कुन माग नराम्रो छ ? त्यो सरकारले भन्न सक्नुपर्छ । हामीले जनता र देशको स्वास्थ्यको लागि, चिकित्सा जगतको लागि गरिरहेको मागलाई हामीले समर्थन गरेका छौँ । सरकारले हामीले गरेको जायज मागलाई पनि सरकारले हामीलाई कारबाही गर्छु भन्छ भने हामी कारबाही भोग्न तयार छौँ ।’ प्रस्तुत छ डा. श्रेष्ठसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आजबाट आन्दोलनमा हुनुहुन्छ होइन तपाईँहरू ?

हजुर आजबाट आन्दोलन गर्दैछौँ हामीले ।

आन्दोलन किन र के का लागि ? आन्दोलन रोक्ने सम्भावना छैन ?

आन्दोलन रोक्नको लागि सरकारको हातमा छ त्यो कुरा । हामीले १८ गते ७२ घण्टाको अल्टिमेटम दिएर सरकारलाई वार्ता टोली गठन गर र यो समस्या तुरुन्तै समाधान गर भनेर हामीले आह्वान गरेका थियौँ । ७२ घण्टा पुग्दा नपुग्दै सरकारले बल्ल÷बल्ल हिजो वार्ता टोली गठन गरेको छ । हामी त्यसलाई स्वागत गर्दछौँ । त्यो वार्ता टोली पहिलाको जस्तो वार्ता टोलीको रूपमा मात्रै नरहोस् । त्यसले यसपालि विगतका समस्याहरू १८ औँ पटकसम्म बस्न गोविन्द के.सीलाई आन्दोलन गर्न पर्ने, सत्याग्रहमा बस्नुपर्ने जुन बाध्यता सिर्जना गरेको थियो, त्यो बाध्यता नहोस् । स्थायी रूपमा यो सत्याग्रह फेरि गर्न नपरोस् भन्ने पक्षमा हाम्रो नेपाल मेडिकल एशोसियसन दृढ छ ।

तपाईँहरूले आन्दोलन घोषणा गरिसकेपछि वार्ता भयो । अब वार्तामा बसिसकेपछि आन्दोलनमा जानुहुन्न होला नि त ?

हामी आज आन्दोलन सांकेतिक रूपमा गर्छौँ । आज हामीले विहान ९ बजेदेखि ११ बजेसम्म देशभरका सम्पूर्ण चिकित्सासँग सम्बन्धित स्वास्थ्यसंस्था, मेडिकल कलेज र सबै कलेजहरूमा हामीले २ घण्टाको लागि ओ.पि.डी बन्द गर्नेछौँ । यो सांकेतिक मात्र हो । यदि सरकारले कमजोर रूपमा लियो भने यो देशभरि स्वास्थ्यसेवा ठप्प पार्नेछौँ ।

तपाईँहरूलाई कारबाही ग¥यो भने सरकारले, के गर्ने ?

सरकारले हामीलाई कारबाही ग¥यो भने हामीले पनि सरकारलाई कारबाही गर्न जानेका छौँ । हामीले देश र जनताका लागि, भोलिका पूर्वाधारहरू सबै जनताको लागि हाम्रो गोविन्द के.सीले उठाउनुभएको कुन माग सान्दर्भिक छैन ? कुन माग नराम्रो छ ? त्यो सरकारले भन्न सक्नुपर्छ । हामीले जनता र देशको स्वास्थ्यको लागि, चिकित्सा जगतको लागि गरिरहेको मागलाई हामीले समर्थन गरेका छौँ । सरकारले हामीले गरेको जायज मागलाई पनि सरकारले हामीलाई कारबाही गर्छु भन्छ भने हामी कारबाही भोग्न तयार छौँ ।

होइन आन्दोलनको बेला होइन, बेमौसमको बाजा बजाईरहेका छन्, आन्दोलन गर्नका लागि तपाईँहरूले जुन किसिमको रणनीति बनाईरहनुभएको छ, त्यसमा सरकार बेखुशी छ । सरकारका मान्छेहरूले मलाई भनेका छन् । स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त प्रस्ट रूपमा भन्नुभएको छ, चिकित्सकहरूले अवज्ञा गर्छन्, आन्दोलनमा जाँदैनन् र आन्दोलनमा जानेहरूलाई कारबाही गर्छु भनेर उहाँले भन्नुभएको छ ।

उहाँले भनेर हामीलाई त्यसले केही फरक पर्नेवाला छैन । हामी आन्दोलन नगर्ने भनेर २४ दिनसम्म पर्खेर बसेका छौँ । हाम्रो धैर्यताको बाँध फुटिसकेको छ । एउटा वरिष्ठ चिकित्सक २४ दिनसम्म सत्याग्रहमा बस्दाखेरि उहाँहरूको कान खुलेन, उहाँहरू बहिरो भएर बस्नुभयो, उहाँहरू अन्धा भएर बस्नुभयो, उहाँको संवेदनशीलता केही पनि छैन । अहिले कारबाही गर्छु भनेर उहाँहरूले धम्की दिने ? त्यो धम्कीसँग हामीहरू डराउनेवाला छैनौँ ।

तर चिकित्सकहरूको काम आन्दोलन गर्ने कि विरामीहरूको उपचार गर्ने ?

हो, हामी चिकित्सक स्वास्थ्यसेवाको लागि समर्पित व्यक्ति हो । यसको मतलब यो होइन कि सरकारलाई १८ औँ पटक सही गरेको त्यो जुन मागहरू हुन्, त्यो एउटा पनि माग पूरा नगर्ने ? चिकित्सा शिक्षा आयोग गर्ने बाहेक सरकारले अरू के कुरा गरेको छ ? गोविन्द के.सीका त्यत्रा मागहरू थिए, अहिले त जम्मा छ ओटा मागहरूमा आउनुभएको छ । सबै माग पुराना मागहरू हुन् । ती मागहरू एउटा पनि पूरा नगर्ने ? हामीलाई धम्की दिने ?

सबै माग पूरा भईसक्यो भनेर सरकारले भनिरहेको छ । सरकारले भनेको छ, अनशन आवश्यक छैन ।

कुनै पनि माग पूरा भएको छैन । चिकित्सा आयोग गठन बाहेक अरू कुनै पनि माग पूरा भएको छैन । उहाँहरूले जनताको आँखामा छारो हाल्दैमा हामी मान्छौँ ? त्यो हुनै सक्दैन । चिकित्सा आयोग एउटा गठन भएको छ, त्यो पनि कसरी गठन भएको छ ? कस्तो छ ? यहाँहरू सबैले देखिराख्नुभएको कुरा हो । त्यो बाहेक कुनै पनि माग पूरा भएको छैन ।

त्यसोभए आजको आन्दोलनको कार्यक्रम यथावत छ, भोलिबाट नहुन सक्छ ?

हाम्रो ४ बजे वार्ता छ, उहाँहरूको सरकारको टोली तीनजना स्वास्थ्यसचिव, गुरुराज लोहनी, दिलिप शर्माजी उहाँहरू सरकारको तर्फबाट र हाम्रो तर्फबाट लोचन कार्की हाम्रो अध्यक्ष हुनुहुन्छ एन.एम.एको, त्यस्तै पूर्वअध्यक्ष अन्जनीकुमार झा, होम अर्याल वरिष्ठ अधिवक्ता हुनुुहुन्छ र जीवन क्षेत्रीको नेतृत्वमा हाम्रो टोलीले पनि वार्तामा बस्नेछ । त्यो वार्ता कसरी जान्छ ? त्यो वार्ता कति सकारात्मक रूपले अगाडि बढ्छ ? त्यसले हाम्रो भोलिको कार्यक्रम निर्धारण हुनेछ र यदि सरकारले हामीलाई कमजोर ठानेमा देशभरको स्वास्थ्यसेवा ठप्प पार्नेछौँ । ईमरजेन्सी र कोभिडको विरामीहरूलाई उपचार गर्दै कालो पट्टि लगाएर हामी धर्ना बस्नेछौँ । सरकारले ४ बजे अल्याङ्गपल्याङ्ग गरेर हामीलाई झुक्काउने, खेलाउने, मुसा जस्तो गरेर हामीलाई मान्छे नगन्ने ग¥यो भने सरकारले हाम्रो तागत कति छ राष्ट्रमा, देशभर हामी चिकित्सकहरूको कस्तो युनिटि छ ? हामीले कसरी बन्द गरेर देशलाई ठप्प पार्छौँ ? भन्ने उहाँहरूले बुझ्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्