काठमाडौं, २२ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीलाई निस्वार्थी सत्याग्रहीको संज्ञा दिएका छन् । डाक्टर केसीको सत्याग्हको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको श्रेष्ठको भनाई छ । आज सामाजिक सञ्जाल फेशबुकमार्फत प्रवक्ता श्रेष्ठले यस्तो भनाई राखेका हुन् ।
उनले लेखेका छन्,‘डा• गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ।डा•केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि ।सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ।तर के कुरामा शँका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपुर्ण छ र यतिबेला सरकार,उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।यस सन्दर्भमा सरकारले हिजो डा• केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ।आशा गरौं,छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ ।समाधान हुनेछ ।’




प्रतिक्रिया