Logo

श्रीमतीको जाहेरीपछि उपेन्द्र यादवका प्रेस सल्लाहकार खोरमा



काठमाडौं, २२ असोज । पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रेस सल्लाहकार रहेका पत्रकार महेशकुमार तमोली श्रीमतीको उजुरीको कारण साइबर अपराधमा तानिएका छन् । नेपालगञ्जमा बसेर श्रीमतीको चरित्रहत्या गर्दै सामाजिक सञ्जाल रंगाएको आरोपमा नेपाल प्रहरीको काठमाडौं परिसरले पन्ध्र दिनअघि तमोलीलाई नेपालगञ्जबाट समातेर ल्याएको हो । अहिले उनलाई साइबर अपराधमा मुद्दा चलाउन तयारी भैरहेको बताइएको छ ।

पारिवारिक सम्बन्ध बिग्रँदै गएपछि श्रीमतीले तमोलीसँग पारपाचुके गरी सदाको लागि आनन्दको जीवन जिउने उद्देश्यका साथ केही समय अघिदेखि अदालती प्रक्रिया शुरु गरेकी थिइन् । तर, श्रीमतीको उक्त निर्णयबाट तिलमिलाएका तमोलीले उल्टै उनको चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा मनपरी लेख्न थालेको उजुरीमा उल्लेख छ ।

“चरित्रहीन श्रीमतीले सदाको लागि छोड्न खोजेकोमा आफूलाई खुशी लागेको” भन्ने आशयले तमोलीले सामाजिक सञ्जाल रंगाउँदै आएका थिए । ‘तँ जस्तो आइमाई अलि पहिले अदालत गएको भए कति आनन्द हुन्थ्यो’ भन्दै श्रीमतीको फोटोलाई अश्लिल बनाएर पटक पटक सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो ।

तमोलीको उक्त हत्कण्डाले सीमा नाघेपछि श्रीमतीले अदालतमा विचाराधीन सम्बन्धबिच्छेदको मुद्दासँगै यता प्रहरीमा साईबर अपराधको उजुरी हालिदिइन् । उनले निवदेनमा भनेकी छन् ‘तत्काल आफूहरूबीच सम्बन्धविच्छेदको लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा मेरो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जाल रंगाएको हुँदा आवश्यक कारबाही गरिपाउँ’ । श्रीमतीको निवेदनपछि काठमाडौं परिसरले उनलाई पक्रेर साईबर अपराधमा मुद्दा चलाउन आवश्यक प्रक्रिया शुरु गरेको छ । तमोली दुई सातादेखि परिसरको खोरमा जाकिएका छन् ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्