Logo

दशैं/तिहारमा खाद्यवस्तुको अभाव हुँदैन, केही चिजमा मूल्य बढेको छैन् : राज्यमन्त्री दुगड



उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले कुनैपनि चिजमा महँगी नबढेको दाबी गरेका छन् । हिजो (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले महंगी ह्वात्तै बढ्यो जताततै, तपाईँहरू मौन हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा मन्त्री दुगडले भन्यो,‘ महंगी के के मा बढेको हो, त्यो पनि बताउनुहोस् न । कुनै चीजमा पनि बढेको छैन । तपाईँले भनेको अनुसार यो कुनै कुनै वस्तुमा नेचुरल तरिकाको मूल्यवृद्धि भएको छ । जस्तो तपाईँले चियाको कुरा गनुभयो ।’ प्रस्तुत छ मन्त्री दुगडसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

महंगी ह्वात्तै बढ्यो जताततै, तपाईँहरू मौन हुनुहुन्छ ? बेखबर हुनुहुन्छ । सरकार किन चुप लागेर बसेको छ ?

महंगी के–के मा बढेको हो, त्यो पनि बताउनुहोस् न ।

नुन, तेल, खाद्यान्न, चिनी, चामल, तरकारी, फलफुल र चियामा बढेको छ भनेर उपभोक्ताको गुनासो आएको छ नि ?

कुनै चीजमा पनि बढेको छैन । तपाईँले भनेकोअनुसार यो कुनै–कुनै वस्तुमा नेचुरल तरिकाको मूल्यवृद्धि भएको छ । जस्तो तपाईँले चियाको कुरा गनुभयो ।

चियामा पनि बढेको छ नि ?

चिया अहिले विश्वमा नै धेरै महंगो भएको छ । विश्वमा नै यसको उत्पादन अत्यन्तै कम भएको हुनाले चियाको मूल्यवृद्धि भएको स्वभाविक हो । तरकारी पनि अहिले हामी आत्मनिर्भर नभएकोले र भारतबाट अहिले तरकारीको निर्भरता भएको हुनाले तरकारीको मूल्य भारतमा पनि बढेको छ । अलिकति लजिष्टिक कस्ट पनि बढ्ने हुनाले तरकारीको मूल्य बढेको छ ।

किन सरकारले कालाबजारीहरूलाई कारबाही गर्न सकेन ?

यसलाई हामीले कालाबजारी मात्र भन्न मिल्दैन । यो ओरिजिनबाटै कुनै वस्तुको मूल्यवृद्धि भएको छ, जहाँ हाम्रो सप्लायरहरू हुन्छन्, तिनीहरूबाटै वृद्धि भएर आएको छ भने सरकारले केही पनि गर्न सक्दैन । किनभने त्यो आएकै त्यही किसिमले हो । हामीले यहाँ कुनै चीजको कृत्रिम अभाव गराएर यदि कसैले कालाबजारी गर्छ, अचाकली मूल्यवृद्धि गर्छ भने त्यो कदापि सरकारले सहन गर्दैन । त्यसको हामी अनुगमन गर्छौँ । त्यस्तोलाई हामी दण्ड, जरिवाना गराउने काम पनि गरिरहेका छौँ र यो मन्त्रालयको काम नै त्यही हो । कुनै वस्तुको अहिले हामीले नेपालमा अभाव हुन दिएका छैनौँ ।

मन्त्रालय साँच्चै काम गर्न तयार भएर बसेको छ ?

तयार छ । मसँग रिपोर्ट छ । हामीले कुनै पनि कुराको खाद्य अभावहरू हुन दिएका छैनौँ ।

अब चिनीको अभाव हुँदैन दशैँमा ?

हुँदैन । पटक्कै हुँदैन ।

कुनै पनि खाद्यवस्तु चिनी, नुन, तेलको अभाव हुँदैन ?

कुनै पनि खाद्यवस्तुको अभाव हुँदैन । चिनीको पनि हुँदैन । भएको पनि छैन । त्यो साथसाथमा चियाको पनि हुँदैन । चामल, नुन, तेल, तरकारी, फलफुल कुनै वस्तुको पनि हुँदैन ।

जनतालाई जे चाहिन्छ, त्यसको अभाव हुँदैन ?

हुँदैन, हुँदैन ।

अनि मूल्यवृद्धि भईराख्छ ?

मूल्यवृद्धि त मैले अघि नै भनेँ नि तपाईँलाई, जहाँबाट त्यो वस्तु आउँछ, सप्लायरको ठाउँबाटै यदि ओरिजिनबाट कुनै मूल्यवृद्धि भएको छ भने त्यसमा हामी केही पनि गर्न सक्दैनौँ ।

प्याज, लसुन, कागतीको मूल्यवृद्धि किन भईरहेको छ ?

निश्चय नै प्याजको मूल्यवृद्धि भएको छैन । भारतबाट प्याजको निर्यात बन्द हुने बित्तिकै त्यहाँ केही व्यापारीहरूले वस्तु लुकाएर मूल्यवृद्धि भएको थियो तर हामी आफैले त्यो मूल्यवृद्धिलाई रोक्यौैँ । हामीले त्यो वस्तुहरूलाई नियन्त्रणमा लियौँ । जोसँग जति स्टक थियो, त्यसलाई नियन्त्रणमा लियौँ । कसैले मूल्यवृद्धि गरेको थियो भने त्यसलाई हामीले दण्डित पनि गरेका थियौँ । प्याजको मूल्यवृद्धि छैन आज पनि । प्याज आज पनि पहिलेकै मूल्यमा पाईराखिएको छ । हो, प्याजको अलिकति सप्लाई कम भएको छ ।

अनि कागतीको मूल्यवृद्धि छैन ? एउटा कागतीको कति पर्छ ?

कागतीको मूल्यवृद्धि पनि छैन । कागती पनि अहिले पर्याप्त मात्रमा पाईराखिएको छ । कागतीको विभिन्न साईजहरू हुन्छन् । सानो कागती, ठुलो कागती, त्यो भएर अलिकति मूल्यवृद्धि भएको जस्तो लाग्छ । केही तरकारीहरूको मूल्यवृद्धि छ, बाँकी त्यति खासै कसैलाई असर पर्ने गरी मूल्यवृद्धि नहोस् भन्नेतर्फ सरकार पनि सर्तक छ । हामी पनि यसमा एलर्ट छौँ ।

मूल्यले आकाश छोएको छ भन्छन् मान्छेहरू, सरकार के हेरेर बसेको छ ? 

धेरै कारणहरूले मूल्यवृद्धि भएका हुन्छन् । तर हामीले त्यो मूल्यवृद्धिलाई नियन्त्रण गर्ने हाम्रो एउटा मेकानिजम छ । हामी त्यो मेकानिजमबाट प्रयासरत छौँ । अहिले प्यान्डेमिकको समयमा झन् अहिले संक्रमण यति बढिरहेको छ, हामीसँग कर्मचारीको पनि अभाव हुन्छ । कर्मचारीहरू पनि अहिले मन्त्रालयमा हेर्नुस्, जम्मा २० प्रतिशत मात्रै कर्मचारीहरू आउँछन् । हामीले यहाँको दैनिक काम पनि गर्नुपर्छ । हामीले अनुगमन पनि गर्नुपर्छ । हामीले नियन्त्रण पनि गर्नुपर्छ । हामीले घरघरमा सप्लाईको काम पनि गर्नुपर्ने हुन्छ । धेरै कामहरू छन् । यतिले पनि हामीले काम गर्न सकिरहेका छौँ । कोशिस गरिरहेका छौँ । कुनै वस्तुको पनि अभाव नहोस् भन्ने हाम्रो प्रयास छ ।

नेपालमा जनतालाई नभई नहुने कुराहरूमा पनि मूल्यवृद्धि भएको छ । जस्तो लत्ताकपडामा पनि मूल्यवृद्धि भईरहेको छ । धेरैले मलाई भनेका छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।

यो प्यान्डेमिकले गर्दा जुन वस्तुमा हामी आत्मनिर्भर छैनौँ । जुन वस्तु बाहिरबाट आउँछ । त्यहीबाटै मूल्यवृद्धि भएर आएको हुन्छ ।
मनलाग्दी विक्री गर्न पाईन्छ ?

यहाँ पनि एउटा उपभोक्ता ऐनमा २० प्रतिशतभन्दा बढी कुनै पनि वस्तुमा लिन पाईदैँन ।

हरेक क्षेत्रमा जनता ठगिईराखेका छन् । जनतालाई अप्ठ्यारो पार्ने काम भईराखेको छ ।
यदि त्यस्तो कुनै वस्तु छ भने तपाईँ हामीलाई बताउनुहोस्, हामी तुरुन्तै कारबाही गर्छौँ ।

कारबाही गर्न सक्छ, सरकारले ?

कारबाही गरेकै छौँ । अहिलेसम्म भईराखेको छ ।

कालाबजारीहरूलाई कारबाही गर्न सक्छ ?

चारैतिर कारबाही भईराखेको छ । यसले गर्दाखेरि अहिले मूल्य नियन्त्रणमा छ । हामीले कुनै हदसम्म अभाव हुन दिएका छैनौँ । अभाव नियन्त्रण गरेका छौँ हामीले ।

दशैँ, तिहार, चाडवाडमा कुनै पनि वस्तुको अभाव हुँदैन ?

यो प्रतिबद्धता छ हाम्रो ।

मार्केटमा जानुहुन्छ तपाईँहरू यसपटक ?

हाम्रो प्रतिबद्धता छ, यो मन्त्रालयको प्रतिबद्धता छ, यो चाडपर्वको बेलामा कुनै पनि अत्यावश्यक वस्तुको हामी अभाव हुन दिँदैनौँ । अनुगमन गर्ने काम पनि तीव्र हँुदे गईराखेको छ । अझ पनि तीव्र हुन्छ । हामी आफै अनुगमनमा गईराखेका छौँ ।

तपाईँहरूले मार्केटमा गएर अनुगमन गर्दाखेरि तपार्इँहरूको संयन्त्र फित्तलो छ । तपाईँ जताततै जानुपर्छ, तपाईँले हेर्नुपर्छ । व्यापारीहरूले जनतालाई कसरी ठगिराखेका छन्, त्यतातिर तपाईँहरूको ध्यान जाँदैन ?

ध्यान नभएको भए यो छ÷सात महिनाको समयमा यसमा अहिले वस्तुको मूल्य दोब्बर, तेब्बर हुन्थ्यो । वस्तु लिनको लागि मान्छेहरू घरबाट बाहिर निस्कनुपथ्र्यो । यो लकडाउन असफल हुनुपथ्र्यो । यो कुनै पनि चीजलाई हामीले असफल हुन दिएनौँ । यसको पछाडि कारण के छ यो मन्त्रालयमा ? मन्त्रालयको यो जुन एउटा प्रतिबद्धता, मन्त्रालयले काम गरेको जुन एउटा एक्सन छ, यसलाई राम्रो एउटा प्रशंसा गरिएको छ । यो प्यान्डेमिकले गर्दा अलिकति लजिष्टिकले गर्दा हो । चीनबाट आउने सामानहरू पनि अहिले बोर्डरमा रोकिराखेको हुनाले वर्षौ, महिनौदेखि रोकिराखेको हुनाले पनि त्यो अलिक समस्या भएको छ । त्यो सामान पनि हामी झिकाउँदैछौँ । अहिले केरुङ्गदेखि लिएर तातोपानीको नाकाहरू खुलाउने कामहरू भईरहेका छन् ।

आउँछन् सामानहरू ? तातोपानीको नाका त फेरि बन्द भयो ।

बन्द भएर फेरि खुलेको पनि छ । चीनले यसमा हामीलाई अलि बढी संवेदनशील भएको छ ।

चीनले तपाईँहरूलाई सहयोग गरेन ? असहयोग ग¥यो ?

यसलाई असहयोग भन्न मिल्दैन । किनभने पूरा बन्द गरिएको छैन । अहिले यो कोरोनाले गर्दा हाम्रो पनि केही कर्मचारीहरूमा कोरोना देखिएको हुनाले उनीहरूले यो सूचारु बाटोलाई बन्द गरेका थिए । फेरि पनि उनीहरूले खोलेका छन् । यसमा हाम्रो निरन्तर वार्ता भईराखेको छ । हाम्रो विभिन्न चरणमा वार्ता भईसकेका छन् ।

वार्ता भएर मात्रै भएन, सामानहरू आउनुपर्छ । आज बोर्डर, नाकामा जसरी सामानहरू बसिराखेका छन्, चीनले जे गर्दा पनि तपाईँहरू बोल्नुहुन्न ?

हामी चीनसँगै बोलिरहेका छौँ । हामीलाई चाईनिज बोल्न आउँदैन । उनीहरूले बुझ्नेगरी हामीले कुरा गरिराखेका छौँ । उनीहरूसँग कुरा भएको पनि छ । यो गम्भीर विषय हो । हामीलाई पनि थाहा छ । हाम्रो अरबौँको मूल्यको सामानहरूको कन्टेनर त्यहाँ अड्किराखेका छन् । तिनीहरू छुटाउनको लागि हामी प्रयासरत छौँ ।

तपाईँले आफै व्यापार गरेर कालाबजारीहरूलाई संरक्षण गरेको कुरा त बाहिर आयो नि त फेरि ?

यसमा कालाबजारी कही पनि भएको छैन । नुनमा १२ प्रतिशत मुनाफा लिएर अहिले परीक्षणको रूपमा ट्रायल मार्केटिङ्ग मात्र भएको हो । यो पूर्ण मार्केटिङ्ग पनि भएको छैन । यो नुन विक्री गरिएको हो । नुनमा १२ प्रतिशत मुनाफा लिएर नुन विक्री वितरण गरिएको हो, एउटा सुविधाजनक देशमा आधुनिक चीजहरू आउनुपर्छ कि पर्दैन ? यो प्याकिङ्गको कस्ट हो यो ।

दुई,/तीन रूपैयाँमा, अझ नुन त निःशुल्क चाहिने हो ।

जुन नुनको कस्ट छ, त्यो हाम्रो १२ प्रतिशत मुनाफा लिएर हाम्रो कम्पनीले बाहिर दिएको छ । नुनको मूल्य कम छ तर त्यसको प्याकिङ्ग कस्ट, त्यो नै बढी छ । त्यसको सबै कागजपत्रहरू छन् । विना प्रमाण त कहाँ काम हुन्छ ?

खाद्यप्रविधि विभागबाट तपाईँहरूले स्वीकृति लिनुभयो ?

प्रक्रियामा छ । एम.ओ.यु नभएको हुनाले साल्ट ट्रेडिङ्गसँग हाम्रो एउटा मौखिक सहमति भईसकेको र त्यसको लागि खाद्य अनुमतिको लागि आवेदन पनि हाम्रो कम्पनीले गरेको थियो । त्यो आवेदनमा उनीहरूले साल्ट ट्रेडिङ्गको एम.ओ.यु आएपछि दिन्छौँ, तबसम्म हामीले परीक्षण उत्पादनको रूपमा प्रयोग हो यो । जुन किसिमको हल्ला फिजाइँएको छ नि, त्यो मैले नुनको होइन सुनको तस्करी गरेको जस्तो गरिएको छ । मेरो कम्पनीले काम गरेको हो । नुन जस्तो वस्तुको अवैद्य तस्करी हुन्छ ? परीक्षण उत्पादन भएको थियो । परीक्षण उत्पादन कुनै पनि कम्पनीले गर्छ । मार्केटमा सर्भे गर्छ । सर्भे गरेपछि त्यो वस्तु कत्तिको सफल छ ? त्यो यदि सफल छ भने त्यस वस्तुको मूल्य निर्धारण हुन्छ । त्यो मूल्यमा विक्री हुन्छ कि हुँदैन ? त्यसलाई परीक्षण भनिन्छ । त्यो ट्रायल प्रोडक्सन नै मार्केटमा भएको हो । त्यो पनि साल्ट ट्रेडिङ्गसँग नुन किनेर हो । त्यसलाई अवैद्य भन्न मिल्दैन । त्यसको जुन डब्बा हुन्छ नि, भारतबाटै त्यो डब्बा आएको भन्सार गरेर त्यसमा प्रोडक्सन जुन मूल्य हुन्छ, त्यसपछि त्यो डिलरकोमा जान्छ । डिलरको मार्जिनबाट होलसेलरको मार्जिन, त्यसपछि रिटेलरको मार्जिन गर्दै त्यति नै पर्छ । कम्पनीले १२ प्रतिशतभन्दा यसमा बढी मुनाफा लिएको कसैले प्रमाणित गरिदियो भने ऋषिजी तपाईँ जे भन्नुहुन्छ, गर्न तयार छु । यसलाई कालाबजारी भन्न मिल्दैन ।

मन्त्रीमण्डल पुनर्गठनको हल्ला चलिरहँदाखेरि तपाईँलाई अहिले अवैद्य रूपमा नुनको व्यापार गर्न थाल्यो भनेर आरोप आएको छ ।
यो स्वीकृतिको अनुमोदनको निवेदन दिईसकिएको छ । यो विक्री वितरण गर्नुभन्दा पनि परीक्षण उत्पादन गरिएको हो ।

विक्री वितरण किन भईरहेको छ त ?

विक्री वितरण भएको छैन यो । मार्केटमा सर्भे हो यो ।

मार्केटमा गईसकेपछि त विक्री वितरण हुन्छ नि त ?

त्यसैले सर्भे गरिएको हो । साल्ट ट्रेडिङ्गसँग हाम्रो एउटा सहमति भईसकेको छ । मौखिक सहमति भईसकेको छ ।

मौखिक सहमति भयो, लिखित सहमति खोई ?

त्यो हुँदैछ, त्यो भईराखेकै छ ।

कति दिनभित्र हुन्छ ? नुन विक्री गर्न तपाईँलाई अनुमति दिन्छ, साल्ट ट्रेडिङ्गले ?

साल्ट ट्रेडिङ्गबाट किनेर हामीले नुन विक्री वितरण गर्र्छौँ । दियो भने गर्छौँ, दिएन भने गर्दैनौँ । त्यति कुरा हो नि । साल्ट ट्रेडिङ्गसँग एम.ओ.यु भईसकेपछि उनीहरूले दिन्छन् । एम.ओ.युको लागि पर्खेर बसिराखेका छौँ । लिगल एडभाईजरहरूले कोभिड–१९ ले ग्रस्त भएको हुनाले नआएको अवस्था हो ।

सबैले तपाईँको प्रशंसा गरेका छन् तर अहिले आएर तपाईँले नुन उत्पादन गर्नुपर्ने कारण के त ? तपाईँलाई नुन चाहिएको थियो, सेञ्चरी ग्रुपलाई ?

सबैभन्दा पहिले मन्त्रीले गरेको अनियमित कामको केही लाञ्छना लाग्नुप¥यो । मन्त्रीले गरेको दुव्र्यवहारको लाञ्छना लाग्नुप¥यो । मन्त्रीले गरेको ढिलाईको लाञ्छना लाग्नुप¥यो । कुनै चीज पनि मेरो कही कतै देखिएन । राम्रो काम गरेको सबै ठाउँमा देखेपछि केही त यो मन्त्रीको यो कुरा निकालौँ, त्यो खोज्दाखोज्दै नुन भेटियो । मेरो कम्पनीमा डेढ सय किसिमको प्रोडक्सन हुन्छ । कुनैमा पनि केही अनियमितता छैन । एउटा नुन खोजियो । यो नुन हो, सुन होइन ।



प्रतिक्रिया दिनुहोस्