Logo

‘२४सै घण्टा अक्सिजन दिनुपर्नेहरूलाई मात्र अस्पतालमा राख्ने हो’ : डा. राजभण्डारी



शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले टेकु अस्पतालमा कोभिडको लागि अहिले बेड नै नभएको सुनाए । उनले भने,‘हाम्रो अस्पतालमा शून्य बेड, हाम्रोमा बेडहरू खाली हुँदैनन् । अधिकतम भनेको ५० ओटा बेड हो । ५० ओटा बेडमा हामीहरूले ५३ जना विरामीहरूलाई भर्ना गरेर उपचार गरिराखेका छौँ ।’ हिजो (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. राजभण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आई.सी.यु बेड कतिओटा छ ?

२० ओटा हामीसँग आई.सी.यु बेड छ भने हामीसँग छ ओटा भेन्टिलेटर छ । अझै हामीले २ ओटा भेन्टिलेटरहरू बढाउँदैछौँ । एकहप्तापछि फेरि हामीले २ ओटा भेन्टिलेटरहरू बढाउँदैछौँ ।

अब किन आई.सी.यु, भेन्टिलेटरको अभाव भयो ?

यसरी कमी हुन्छ भन्ने अपेक्षा त हामीले पहिल्यै गरेको हो तर हाम्रो भईरहेको स्रोत र साधनको अधिकतम प्रयोग गर्दा पनि अहिले जुन संक्रमितहरूको संख्या अत्याधिक बढ्दै गईरहेको छ, यसरी बढ्ने क्रममा मान्छेहरूको गम्भीर प्रकारको विरामीहरूको संख्या बढ्दै गएको कारणले गर्दाखेरि यसरी अभावहरू सिर्जना भएको छ ।

संक्रमितहरूले पाएनन् बेड ? किन अभाव भयो ?

अब यो सरकारले पनि भनिराखेको छ । कोरोना डेडिकेटेड तीनओटा अस्पतालहरू थिए । त्यसपछि अन्य अस्पतालहरू पनि कोरोना डेडिकेटेड बनाउने भनिराखिएको छ । ती अस्पतालहरूमा भर्ना गर्नको लागि पनि तीन प्रकारका विरामीहरू भर्ना गर्नका लागि अस्पतालहरूमा डेडिकेटेड भएका बेडहरूलाई साधारण प्रकारका विरामीहरूलाई भर्ना नगरीकन जसलाई अक्सिजनको आवश्यकता पर्छ, जसलाई सरल उपचारको आवश्यकता पर्छ, त्यस्ता विरामीहरूलाई मात्र भर्ना गर्नुपर्छ । त्यसले गर्दाखेरि गम्भीर प्रकारका विरामीहरूलाई बेडहरू भ्याकेन्ट हुन सक्छ । यसमा सोच्नुपर्ने हुन्छ ।

टेकु अस्पतालमा कति खाली छन्, बेडहरू ?

हामीसँग शून्य बेड, हाम्रोमा बेडहरू खाली हुँदैन । अधिकतम भनेको ५० ओटा बेड हो । ५० ओटा बेडमा हामीहरूले ५३ जना विरामीहरूलाई भर्ना गरेर उपचार गरिराखेका छौँ ।

आई.सी.यु कतिओटा छ ?

२० ओटा हामीसँग आई.सी.यु बेड छ भने ६ ओटा भेन्टिलेटर छ । अझै हामीले २ ओटा भेन्टिलेटरहरू बढाउँदैछौँ । एकहप्तापछि फेरि हामीले २ ओटा भेन्टिलेटरहरू बढाउँदैछौँ ।

आई.सी.युको कुरा गर्दाखेरि तपाईँहरूसँग खाली बेडहरू कति छन् ?

आई.सी.युको बेडहरू १०० प्रतिशत प्रयोगमा छन् ।

होइन खाली छन् रे ! मैले पाएको सूचना अनुसार । तपाईँहरूले लुकाएर राख्नुभएको छ रे !

मेरो कसैलाई राख्नुपर्ने छैन । बेड भनेको बेडमा विरामी मात्रै राख्ने होइन । बेडमा राख्नको लागि त्यसमा ईक्वीपमेन्ट पनि हुनुपर्छ । ह्युमन रिसोर्स पनि त्यसप्रकारको हुनुपर्छ । त्योप्रकारको वातावरण हुनुपर्छ नि । सबै बेडमा राख्न मिल्दैन । कतिपय टेक्निकल कारणहरूले गर्दा पनि सायद एउटा बेड भ्याकेन्ट होला । अरू त्यस्तो छैन ।

एउटा खाली छ ? त्यो एकदमै धेरै संक्रमित विरामीको लागि राख्नुभएको कि आफ्नो मान्छेको लागि ?

सबै नेपाली नागरिक हाम्रा आफ्ना मान्छे हुन् । आफ्ना र पराई भन्ने हुँदैन ।

अब विरामीहरूले कहाँ उपचार गर्ने ? संक्रमित विरामीहरूको समस्या छ । बेड, आई.सी.यु, भेन्टिलेटर छैन । अनि कतिपय ठाउँमा पाउनै कठिन भयो । कसरी बचाउने विरामीलाई ?

यस विषम परिस्थिति तपाईँले पनि सहजीकरण गर्नुपर्छ, मैले पनि सहजीकरण गर्नुपर्छ । अब जनतालाई हामीले के सुचीकृत गर्नुपर्छ भने साधारण लक्षण हुँदैमा अस्पतालमा नै जानुपर्छ भन्ने छैन । अन्य अस्पतालमा पनि भर्ना लिन मिल्छ । सरकारी अन्य अस्पतालमा भर्ना गरेर विचार गर्ने गर्नुपर्छ । सबैले डेडिकेटेड अस्पतालमा नै जानुपर्छ भन्नु पर्दैन । किनभन्दाखेरि गम्भीर प्रकारका लक्षणहरू एकदम क्रिटिकल अवस्था जसलाई २४सै घण्टा अक्सिजन दिनुपर्नेछ, त्यस्ता मान्छेहरूलाई मात्र अस्पतालमा राख्ने हो । उदाहरणको लागि आईसोलेसन बेडहरू राखिएको छ । आईसोलेसन बेडमा तपार्इँ, हामीले भन्ने गरेका छौँ, साधारण लक्षण भएका विरामीलाई पनि पहिले भर्ना गरियो, त्यसपछि उहाँहरूको नेगेटिभ कन्र्भजन हुँदा उहाँहरूलाई त्यहाँ राख्दाखेरि बढ्ने भयो नि । अब हामीले योजना पनि परिवर्तन गर्नुपर्छ । उहाँहरू लक्षणमुक्त भईसकेपछि उहाँलाई घरमा पठाउनुपर्ने त्यस्तो व्यवस्थ हुनुपर्छ । त्यसले गर्दाखेरि आईसोलेसनमा अन्य विरामीहरूलाई पनि राख्न सकिन्छ ।

समग्र रूपमा काठमाडौँका अस्पतालमा भएका विरामीहरूको कुरा गर्दाखेरि आई.सी.यु कतिओटा छ ?

मैले अरू अस्पतालको जिम्मेवारी बोल्न मिल्दैन । मेरो अस्पतालको कुरा गर्दाखेरि मेरो अस्पतालमा २० ओटा छ । अन्य अस्पतालको मैले बोल्न मिल्दैन ।

तपाईँले बोल्न मिल्दैन ?

मैले काम गर्ने शुक्रराज ट्रपिकल अस्पतालको हो । अन्य अस्पतालको बारेमा मलाई बोल्ने अधिकार पनि छैन, बोल्दिनँ पनि ।
आई.सी.युको कुरा गर्दाखेरि काठमाडौँ उपत्यकामा मात्रै २०७ ओटा आई.सी.यु छ । सबै एकदम भरिभराउ छ ?
मलाई जानकारीमा प्राप्त अनुसार सबै भरिभराउ छ । जसरी मकहाँ त्यो अवस्था छ, त्यसैगरी अरू अस्पतालहरूमा पनि पाएको मैले महशुस गरेको छु ।

अहिलेसम्म १२५ आई.सी.यु खाली छ । ५५ भेन्टिलेटर खाली छन् रे !

यो राम्रो खबर गर्नुभयो । कतिपय ठाउँहरूमा आई.सी.यु अथवा भेन्टिलेटर राख्दैमा हुने चीज होइन, अस्पतालमा । त्यसको लागि चलाउन सक्ने खुबी भएको, क्षमता भएको, त्यस्तो प्रकारको चिकित्सक हुनुपर्छ । त्यसो भए मात्र पो चल्छ त । मेशिन र बेड राख्दैमा चल्ने त होइन नि । कतिपय निजी अस्पतालमा आई.सी.यु राखिएको छ तर आई.सी.यु चलानउन सक्ने उपयुक्त जनशक्ति त्यहाँ राखिएको छैन । त्यसैले आई.सी.यु र बेडहरू राख्दैमा हुने चीज होइन ।

महामारी नियन्त्रणमा सरकारलाई सकस छ । टेकु अस्पतालको कुरा गर्दाखेरि अहिले पि.सि.आर टेस्टमा लाईन छैन होइन अब ? मान्छेहरू आउन छोडे ?

हरेक दिन हाम्रो क्षमताभन्दा दोब्बर, तेब्बर मान्छेहरू आईराखेका छन् । मेरो क्षमता भनेको ३०० ओटा स्वाबहरू हरेक दिन परीक्षण गर्ने हो तर हिजो मात्र एक हजारभन्दा बढी परीक्षण गरेर रिपोर्ट पनि हामीले देखाईसकेका छौँ भने २६ प्रतिशत पोजिटिभ देखिएका छन् । क्षमता पनि हामीले त्यसै अनुसार बढाईराखेका छौँ ।

रिपोर्ट आउन किन ढिला हुन्छ ?

मेशिनले परीक्षण गर्ने २४ घण्टामा भनेको ३०० ओटा हो । त्यसमा पनि मेरा स्टाफहरू रातभरि २४ घण्टा बस्दा परीक्षणको संख्या हामीले बढाईरहेका छौँ । पक्कै पनि संकलन गर्दैमा रिपोर्ट तुरुन्तै आउने होइन । त्यसलाई राम्रोसँग संकलन गर्नुपर्छ । रिपोर्टिङ्ग गर्नुपर्छ । त्यसपछि एक्स्ट्राक्सन छुट्टै गर्नुपर्ने हुन्छ । त्यो पनि धेरै प्रकारको गर्न मिल्दैन । त्यो टेक्निकल कामहरू हुन् । त्यसले गर्दाखेरि ढिला हुन्छ । मकहाँ एक÷दुई दिनमा पाईराख्नुभएको छ, त्यसलाई ढिला भन्न मिल्छ र ? मिल्दैन ।

 



प्रतिक्रिया दिनुहोस्