Logo

‘प्रधानमन्त्री ओलीको अग्रसरतामा नै हिजो डा. केसीसँग सहमति भएको हो’ : अध्यक्ष डा. झा



नेपाल स्वास्थ्य अनुशन्धान परिषदका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्व–अध्यक्ष, र डा. गोविन्द केसीको तर्फबाट वार्ता टोलीका सदस्य डा. अञ्जनीकुमार झाले डा. गोविन्द केसी र सरकारबीच हिजो भएको सहमति कार्यान्वयन हुने विश्वास लिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. झाले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा हिजो सरकार र डा. गोविन्द केसीबीच सहमति भएको पनि स्पष्ट पारे । उनले डा. केसी फेरि अनशन बस्नुपर्छ या पर्दैन् ? भन्ने पत्रकार धमलाले गरेको प्रश्नमा उनले भने,‘यो निर्भर गर्छ कि सत्ता पक्षका मान्छेहरू कति ईमानदार छन् ? कति कार्यान्वयन गर्छन् ? एउटा एउटा बुँदा सारा नेपालीले हेरेका छन् ।’ प्रस्तुत छ डा. झासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

हिजो मध्यराति तपाईँहरूले ८ बुँदे सहमति गर्नुभएको छ । सहमतिपत्रमा के–के छन् ? पढेर सुनाउनुहोस् ।

सहमतिपत्रमा कर्णाली जिल्लाको स्वास्थ्यको विषय छ । सबैजनाको कर्णालीको कुरा उठिराखेको थियो । आगामी शैक्षिक सत्रदेखि एम.बि.बि.एसको पढाई सुरु गर्ने भन्ने कुरा छ । यता मेडिकल कलेजको बारेमा छ । बर्दिबासमा आर्थिक रूपले कुनै संकट हुन नदिने भन्ने कुरा छ । पोखरा र राप्तीमा एम.बि.बि.एस सुरु गर्ने कुराहरूबीच नेपाल सरकारसँग सम्झौता भएको छ । त्यस्तै गरेर अरू डा. केसीले उठाउनुभएको चिकित्सा शिक्षा आयोगसम्बन्धी कुरा जसमा वर्तमानको समस्या हेरेर चिकित्सा स्वास्थ्यले वैज्ञानिक आधारमा र आवश्यकताअनुसार सिट निर्धारण गर्ने कुरा भएको छ । प्रायः जसो सबै कुराहरूमा सकारात्मक रूपमा कुरा भयो । नेपाल सरकारले महशुस गरेर सम्झौता भएको हो ।

गोपीनाथ मैनालीले पनि भन्नुभएको छ, गोविन्द के.सीको माग पूरा गर्न सरकार तयार भएको कारणले गर्दाखेरि सहमति भयो भनेर उहाँले पनि प्रतिक्रिया दिनुभएको छ । अब हिजो जुन किसिमको सहमति भयो, त्यो सहमति कार्यान्वयनको लागि तपाईँहरूले मिति तोक्नुभएको छ ?

डा. गोविन्द केसीका ईमानका एउटा पक्ष छन् भने अर्को पक्ष के हो भने नेपालमा २०४२ सालमा विभिन्न राजनीतिक पार्टीले आन्दोलन गरेको थियो । नेपाली समाजमा जुन बमबारुदबाट नै परिवर्तन हुन्छ भन्ने सोच त्यो समाजमा स्थापित हुन लागेको हो । त्यो सोचको परिवर्तन पनि डा. गोविन्द के.सीको सत्याग्रहबाट के झल्काएको छ भने अहिंसात्मका आन्दोलनबाट पनि ठुलो परिवर्तन हुन सक्छ । त्यो कुरा ठुलो सन्देश हो । नेपालका सबै राजनीतिक पार्टीले के थाहा पाउनुपर्छ भने देशमा बमबारुदबाट मात्रै परिवर्तन हुँदैन । सत्याग्रहबाट पनि एक किसिमको परिवर्तन हुन सक्छ भन्ने कुरा स्थापित भएको हो । हामी सबै मिलेर के स्थापित गर्नुपर्छ भने कुनै पनि परिवर्तन बम पडकाएर होइन, अहिंसात्मक आन्दोलनबाट पनि हुन्छ भन्ने कुरा सत्य साबित भएको छ । गोविन्द के.सीप्रति हामी आभार व्यक्त गर्नुपर्छ । नेपाली नागरिक र उनको ईच्छाको महशुस भएको छ ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा डा. गोविन्द के.सीको जुन किसिमको अनशनले एउटा राम्रो सन्देश दिएको होला । तर पनि हाम्रो देशमा विगतमा पनि त धेरै सम्झौता भएको थियो नि ? हिजो भएको सम्झौताको कार्यान्वयनको आधार चाहिएला नि त ?

नेताहरूलाई के बुझाउन जरुरी हुन्छ भनेदेखि अहिंसात्मक आन्दोलन, सत्याग्रहबाट पनि ठुलो परिवर्तन हुनसक्छ । सत्ता पक्षले महशुस गर्नुपर्छ । फेरि यो देशमा बम÷बारुदबाट मात्र परिवर्तन हुन्छ भन्ने किसिमको वातावरण यदि स्थापित हुने हो भने हामी कता जान्छौँ ? त्यसले गर्दाखेरि सबैभन्दा ठुलो जित, महशुस गर्ने कुरा के हो भने बम÷बारुदले होइन अहिंसात्मक आन्दोलनबाट परिवर्तन गर्नुपर्छ भन्ने पहिलो सन्देश गएको छ । दोस्रो कुरा, २००७ सालदेखि लिएर २०६२÷६३ सम्म ५५ वर्ष लाग्यो यो देशमा जनतालाई नागरिक बन्नको लागि र पुनस्र्थापनाको लागि । त्यसैले यो जुन मागहरूमा सम्बोधन भएको छ, देशका युवा वर्ग जागरुक भएका छन् । धेरै कुराहरूको सम्बोधन हुँदै गएका छन् । यो पनि सम्बोधन हुन्छ भन्ने विश्वास लागेको छ । यो सम्बोधन हुनु भनेकै राजनीतिक पार्टीले आफुले उठाएका निर्वाचनमा पार्टीले लेख्छन्, त्यसको सम्बोधन हुनु हो ।

संविधानमा लेखिएका मौलिक अधिकारको सम्बोधन हुनु हो । त्यसैले गर्दाखेरि यो जुन ठुलो फड्को भएको छ, यसलाई हामी सबैले सकारात्मक रूपमा लिनुपर्छ । भोलिका दिनमा यी कुराहरू कार्यान्वयन हुनुपर्छ भन्ने कुरा मिडियाबाट नै आज यो कुरा उठेको हो कि आवाज सुनिएको हो । यसबेलामा सबै नागरिक सडकमा उत्रिन सकेनन् । मिडियाले गर्दाखेरि आज सबैले सुनेका छन्, मिडियालाई धेरै धेरै धन्यवाद छ । तपाईँले सत्य कुरा उठाउनुभयो । यो माग सम्बोधन हुनुपर्छ । भएन भने फेरि जुन रूपमा तपाईँहरूले उठाउनुभएको छ, हामीले उठाएका छौँ, उठाउनेनै छौँ ।

अब हिजो जसरी वार्ता भयो, प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा न्यायिक वार्ता भएको हो त ?

हो/हो । यसमा त कुनै दुईमत भएन । उहाँले महशुस गर्नुभयो । त्यसले गर्दाखेरि उहाँको अग्रसरतामा नै सम्बोधन भएको हो । महाभारतको अन्तिम दिनमा सुरु भएको थियो, कौरवका पक्षका पाण्डवतिर लागेका थिए । त्यसैले यहाँ पनि परिवर्तन भयो । प्रधानमन्त्री अथवा अरू मन्त्री, प्रमुख सचिव, वार्ता टोलीका व्यक्तिहरू, सबैको प्रयासबाट यो भएको हो । कुनै एकजनालाई यसको क्रेडिट दिनुभन्दा पनि सबैलाई म धन्यवाद दिन चाहन्छु ।

यसको सम्पर्कसूत्र बन्नुभयो रे ! दिव्यासिंह साह । कुरा सही हो ? कुरा मिलाउनको लागि मध्यराति ?

यो देशमा तीन करोड नेपाली भएको हुनाले यसमा सहभागी हुनुभएका आम नागरिकदेखि लिएर सारा व्यक्तिलाई यसको श्रेय जानुपर्छ । यो कसको कारणले भयो ? सबैको कारणले भयो । तपाईँको कारणले भयो, रोडमा आउने व्यक्तिको कारणले भयो । सबैभन्दा ठुलो २८ दिनसम्म गोविन्द के.सी अनशन बस्नुभयो, उहाँको यो देशमा सत्याग्रहबाट मात्रै परिवर्तन हुनसक्छ, टिकाउ हुन्छ भन्ने सन्देश गएको छ, यो महत्वपूर्ण कुरा हो । यसलाई त्यसरी हेर्न जरुरी छ ।

अनशन तोडिसकेपछि उहाँको उपचार हुनुपर्छ । उहाँको स्वास्थ्यस्थिति त एकदम बिग्रिएको छ नि ?

एकदमै बिग्रिएको छ । सबैजनाले महशुस गरेर राति नै तोडियो । अन्यथा आज÷भोलि नै दुर्घटना हुने सम्भावना थियो ।
अब कोरोनाको रोकथाम र नियन्त्रणको लागि पनि, अब पि.सि.आर टेस्टको लागि पनि सरकार गम्भीर हुने भयो होइन ?
नभई नहुने हो भने नेपाली जनता बाँच्दै बाँच्दैनन् ।

त्यसो भए डा. गोविन्द के.सीको अनशनले राम्रो सन्देश दियो नेपाली जनतालाई !

ठुलो सन्देश दिएको छ । यो सबैले बुझ्नुपर्छ । खालि क्रान्ति गरेर बम÷बारुदबाट मात्रै राजनीतिक–सामाजिक परिवर्तन हुन्छ भन्ने कुराको सोच स्थापित भयो भनेदेखि देश कता जान्छ ? यो सभ्य समाजमा यो शताब्दीमा देश कतातिर जान्छ ? हामी कता जान्छौँ ? भन्ने एउटा ठुलो प्याराडाईज सिफ्ट भन्छन्, अंग्रेजीमा, त्यो परिवर्तन भएको छ । सत्याग्रहबाट पनि परिवर्तन हुन्छ । शान्तिपूर्वक आन्दोलनबाट पनि ठुलो परिवर्तन हुन्छ । ठुला कसैलाई नटेर्ने शासक पनि टेर्दो रहेछ भन्ने कुरा महशुस गराईएको छ ।

अहिलेको अवस्थाको कुरा गर्दाखेरि डा. गोविन्द केसीले जुन किसिमको अनशन बस्नुभयो, यो अनशन अब अन्तिम नै हुन्छ ? योभन्दा पछि उहाँ अनशन बस्नुहुन्छ कि हुँदैन ?

यो निर्भर गर्छ कि सत्ता पक्षका मान्छेहरू कति ईमानदार छन् ? कति कार्यान्वयन गर्छन् ? एउटा एउटा बुँदा सारा नेपालीले हेरेका छन् । यो बेलामा काठमाडौँमा मात्र जुलुस निस्किएको होइन । नेपालगंजदेखि लिएर महेन्द्रनगर, धनगढीमा सारा जनताले देखिरहेको, सुनिरहेको, महशुस गरिरहेको कुरा छ । यस्तो अवस्थामा पाँच, दश, बीस जना पनि बाहिर आउनु भनेको ठुला कुरा हो । यो सम्पूर्ण नेपालीले महशुस गरेको कुरा हो । यसले गर्दाखेरि कार्यान्वयन भएन भनेदेखि यो नेपाली नागरिकले पचाउनै सक्दैन । यो हुनैपर्छ, हुन्छ नै । ढिलो÷चाँडो कति समय लगाउने हो ? यो त अब सत्ता र शासनमा बस्ने व्यक्तिहरूमा निर्भर गर्छ ।

तपाईँ नेपाल चिकित्सक संघको पूर्व–अध्यक्ष । तपाईँहरूले आन्दोलनको घोषणा गर्नुभएको थियो । सबै आन्दोलन स्थगन् भयो होला नि त ?
नेपाल चिकित्सक संघले गरेको हो र आजबाट फिर्ता हुन्छ ।

आजबाट आन्दोलन हुँदैन अब ?

हुँदैन्

त्यसो भए अब डाक्टरहरूले कोभिडका विरामीको उपचार गर्न पाउने भए ?

हाम्रा केही अडानहरू छन् । ती अडानहरू चिकित्सक संघको रहिरहने छन् । अहिले डा. गोविन्द के.सीले उठाएका मागहरूमा अहिले अनशन तोड्नुभएकोले अहिलेलाई सबै कुरा स्थगित भएको हो । नेपाल चिकित्सक संघले उठाएका कुराहरू जुन विगतदेखि नेपालमा दरबन्दी थपिनुपर्छ, वैज्ञानिक रूपमा शिक्षा आयोग स्थापित गर्नुपर्छ, स्वास्थ्यमा सातै प्रदेशहरूमा गाउँगाउँसम्म पुग्नुपर्छ, यी कुराहरू त यथावत छँदैछन् । घचघच्याउने काम त गरि नै रहनेछौँ ।



प्रतिक्रिया दिनुहोस्