Logo

सरकारका प्रवक्ताले भने : ‘नागरिक संवेदनशील नभए सरकार लकडाउन गर्न बाध्य हुनेछ’



काठमाडौं, २५ असोज । सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने स्पष्ट पारेका हुन् ।

उनले लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने बताए । उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकलाई सचेतना अपनाउन अपिल पनि गर्नुभयो । मन्त्री ज्ञवालीले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे । मन्त्री ज्ञवालीले दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन आग्रह गरे ।

उनले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उनले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताए । कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँ पछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताए ।

बाँके, कपिलवस्तु, उदयपुर र वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको काठमाडौँका नागरिक, जनप्रतिनिधि र सङ्घसंस्थालाई सिक्न उनले सल्लाह दिए । मन्त्री ज्ञवालीका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन् ।

यस वर्ष दशैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै उनले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्वपूर्ण रहेको र उनीहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्