Logo

‘चीनले नेपाली भूमि मिचेकै छ, १२ नम्बर पिलर नयाँ बनेको छ, फुटाईएको छ’ : शाही



कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवन बहादुर शाहीले चीनले नेपाली भूमी मिचेकै दाबी गरे । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहीले यस्तो दाबी गरेका हुन् । कुराकानीको क्रममा शाहीले भने,‘छ, मिचेकै छ । यो अब तपाईँलाई भनौँ, पहिला पनि यति हेक्टर जमिन मिचेर आएको छ भनेर आयो । नेपाल सरकारले मिचेको छैन भन्ने आयो । त्यसपछि भर्खरै फेरि अरू नौओटा घरहरू बनाईयो । त्यहाँ मिचे भनेर स्थानीय, जनप्रतिनिधिहरूले भने । त्यसपछि सरकारले यहाँबाट एउटा टोली पठायो । त्यो टोली पनि पठाउनुभन्दा अगाडि यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चीनले दिएको राहत दिनको लागि हुम्लाको नाम्खा गाउँपालिकाको लिमीलाप्चा भन्ने ठाउँमा पुग्नुभएको थियो ।’ नेता शाहीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हुम्लामा चीनले नेपालको जमिन मिचेकै हो त, अतिक्रमण गरेकै हो त ? त्यो प्रमाण तपाईँसँग छ ?

छ, मिचेकै छ । यो अब तपाईँलाई भनौँ, पहिला पनि यति हेक्टर जमिन मिचेर आएको छ भनेर आयो । नेपाल सरकारले मिचेको छैन भन्ने आयो । त्यसपछि भर्खरै फेरि अरू नौ ओटा घरहरू बनाईयो । त्यहाँ मिचे भनेर स्थानीय, जनप्रतिनिधिहरूले भने । त्यसपछि सरकारले यहाँबाट एउटा टोली पठायो । त्यो टोली पनि पठाउनुभन्दा अगाडि यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चीनले दिएको राहत दिनको लागि हुम्लाको नाम्खा गाउँपालिकाको लिमीलाप्चा भन्ने ठाउँमा पुग्नुभएको थियो । लिमी लाप्चाबाट मानसरोवर कैलाशको राम्रोसँग दर्शन गर्न सकिन्छ जुन मानसरोवर कैलाश चीनमा पर्छ । त्यो बेलामा पनि त्यहाँको जनताले के भने भन्दा सहायक प्रमुख जिल्ला अधिकारीलाई हाम्रो भूमि मिचिएको छ, हाम्रो भूमिमाथि घरहरू बनाईयो भनेर भनियो । त्यसपछि त्यो टोली फर्केर आएपछि सहायक प्रमुख जिल्ला अधिकारीले जनताको भलाई, उहाँले यो मिचियो भन्नुभन्दा पनि उहाँले के भन्नुभयो भने जनताको भनाईँमा लिमीलाप्चाको १२ नम्बर पिलर भएको ठाउँमा जुन ठाउँभन्दा तललाई ललुम्जुङ्ग भनिन्छ, त्यो लुलुम्जुङ्ग भन्ने ठाउँमा चिनियाँले नौओटा घरहरू बनाएका छन् हाम्रो भूमिमा भन्ने गुनासो आएको छ भनेर यहाँ प्रतिवेदन दिनुभयो । त्यसपछि उहाँलाई तुरुन्तै किन यो भनिएको हो भनेर गृहमन्त्रालयले स्पष्टीकरण पनि सोध्यो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा सशस्त्रका डि.एस.पी, सेनाका मेजरसहितको ३०÷३१ जनाको टोली त्यसतर्फ गएर के भएको छ भनेर उहाँहरू त्यहाँ हुनुहुन्थ्यो । त्यो टोली फर्कन नपाउँदै हाम्रा देशका एकदमै आदरणीय परराष्ट्रमन्त्री र सरकारका प्रवक्ताले पनि के भन्नुभयो भने चिनियाँ राजदूतावासले विज्ञप्ती निकाल्यो र उसले के भन्यो भने चीनले नेपालको भूमि मिचेको छैन भन्ने बित्तिकै नेपालले पनि चीनले नेपालको भूमि मिचेको छैन भनेर भन्यो । त्यसपछि केही समयपछि प्रमुख जिल्ला अधिकारीको टोली फर्केर आईसकेपछि प्रतिवेदनमा हामीले जिल्लामा के भन्यौँ भने म यो जिल्लाबाट निर्वाचित भएर कर्णाली प्रदेशबाट यही क्षेत्रबाट निर्वाचित भएको हुनाले मलाई विश्वास लागेन ।

होइन तपाईँलाई किन विश्वास लागेन ? सरकारले भन्यो, परराष्ट्रमन्त्रीले भन्नुभयो, चीनले एक ईञ्च जमिन पनि मिचेको छैन भनेर !

परराष्ट्रमन्त्री र सरकारका मान्छेहरू आज जो÷जो मान्छेहरू छन्, हुम्लाको भूमिमा जन्मेका होइनन् । म यही ठाउँमा जन्मिएको हो । यहीँबाट म निर्वाचित भएको हो । जुन बेलामा १२ नम्बरको पिलर उहाँहरूले फोटो खिचेर ल्याउनुभयो, मैले त्यो हेर्नेबित्तिकै यो शंकास्पद छ भनेर भनेँ । त्यसपछि यहाँका केही मान्छेहरूले शंकास्पद छ भन्यो भनेर भने । पिलर नयाँ खालको देखियो । अनि मैले त्यो विश्वास नगरिसकेपछि जब देशको मन्त्री, सरकारको प्रवक्ताले भूमि मिचिएको छैन भनेपछि एउटा निर्णय सि.डि.ओ. ले मिचिएको छ भन्न सक्ने अवस्था थिएन ।

होइन सहायक सि.डि.ओले त मसँगै भन्नुभएको थियो । उहाँले त चीनले नेपालको भू–भाग मिचेको छ भनेर पहिलो अन्तर्वार्ता दिनुभएको थियो, सहायक सि.डि.ओ. ले !

हो, हो । उहाँले भनेको कुरा एकदम ठीक थियो । तर, सरकारले उहाँलाई हपारेर तेरो जागिर खाईदिन्छु भनेपछि पछि माफी माग्नुभयो रे ! भन्ने हामीले सुन्यौँ । मिचैकै थियो । त्यसकारणले नपत्याएर हाम्रो टोली गयौँ । त्यहाँ गईसकेपछि लिमी लाप्चाको त्यो १२ नम्बर पिलर ५०१८ मा अवस्थित छ । त्यसमा गएर हेर्दाखेरि पिलर फुटाईएको छ । पिलर फुटाएर नयाँ पिलर बनाईएको छ । भर्खरै त्यो बनाईएको मेरो विचारमा त्यो हेर्दाखेरि ६÷७ महिनाभन्दा बढी भएको छैन । किनभने त्योभन्दा पछाडि हिउँ परेको छैन । हिउँ पर्नेबित्तिकै ती पिलरहरू अलि कालो भएर जान्छ, बदलिएको हुन्छ । अनि त्यो पिलरमा हामी गएर हेर्दा कहाँ त्यो घरहरू बनाईएको छ, त्यो पिलरबाट हेर्दाखेरि त्यो घरहरू हाम्रो भूमिमा पर्छ । अर्को कुरा रोलुङजुङ्ग भन्ने ठाउँमा घर बनाईएको छ । त्योभन्दा केही वर्ष अगाडि दुईओटा घरहरू बनाईएका थिए अनि हाम्रा स्थानीयवासीहरूले तिमीहरूले घर किन बनायौँ भन्दा चिनियाँ पक्षले के भनेको थियो भने यी घरहरू पशु क्वारेन्टाइनको लागि हो । तिमीहरूको पशु पनि विरामी हुन्छन्, हाम्रो पशुहरू पनि विरामी हुन्छन् । त्यसकारणले यो बनाईएको हो भनियो । त्यसो हुनाले हाम्रा स्थानीयहरूले केही भनेनन् । अब अहिले यिनीहरूले के भन्छन् भने होइन हाम्रो नक्सामा छ भनेर त भन्छन् । त्यस्तो हो भने २०६६ सालमा जुन लुलुम्जुङ्ग भन्ने ठाउँमा घर बनेको छ, त्यसको पश्चिम उत्तरतिर उत्तरतिरका बोर्डरहरू पानीथलोलाई लिएर बनाईएको थियो । करिब करिब तीन किलोमिटर पश्चिम उत्तरतिरबाट हामीले नै सडक खनेर ल्याएका हौँ र आज त्यो सडक उहाँहरूको भूमिभित्र पर्छ भनेपछि कसरी यो नेपालको भूमि भएन ? नम्बर १ । अब त्यतिमात्र होइन हेर्नुस् । त्यसपछि यहाँ जिल्लाले एउटा हंगामा मच्चायो । ११ नम्बर पिलर जो हिल्साभन्दा माथि छ, ११ नम्बर पिलर हराएको थियो भनेर भनियो । मैले के भनेको थिएँ भने न ११ नम्बर पिलर कहिले हराएको थियो न यता ११ नम्बर पिलर कसैले भेटाएका थिए । त्यो धेरै हाईटमा भएको हुनाले कतै पनि मान्छे जाँदैन थिए भन्ने कुरा छ । यहाँ के हल्ला चलाईयो भने हिउँ, माटोले छोपेको भनेर म त्यो हेर्न पनि गएँ । म यो उमेरमा पनि ५२०२ मिटरमाथि भएको ११ नम्बर पिलर पनि हेरेँ । लिमीलाप्चाभन्दा करिब करिब एरियल डिस्टान्समा पनि टाढा छ । त्यहाँ जाँदा त्यो पिलर सही सलामत देखियो । त्यो पिलरका फोटोहरू छन् मसँग । त्यो धेरै पुरानो अहिले करिब करिब १०÷१२ वर्ष जति भयो ।

तपाईँले जुन तर्क गरिरहनुभएको छ नि, सप्रमाण दिनुपर्छ । किनभन्दाखेरि त्यहीबाट निर्वाचित सांसदहरूको भनाईँ आएको छ, नेपाल कम्युनिष्ट पार्टीका नेता छक्कबहादुर लामाको । उहाँले मलाई हिजोका प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा भन्नुभएको छ । कुनै पनि ठाउँमा चीनले एक ईञ्च पनि जमिन मिचेको छैन भनेर उहाँले हिजो तर्क गर्नुभएको छ !

भन्नुभयो, ठीक छ । म चाहि बौलाएको छैन । म चाहि बोर्डरको मान्छे भएको हुनाले म हिजो पर्यटनमन्त्री, खानेपानीमन्त्री भईसकेको हुनाले मलाई त्यो एक ईञ्च जमिनमा रहर छैन । मलाई के हो भने देश र चिनियाँले ढाँटेको हुनाले चित्त दुखाई हो । म तपाईँलाई प्रत्यक्ष के भन्छु भने १२ नम्बर पिलर नयाँ बनेको छ, फुटाईएको छ । पिलर बनाउँदाखेरि ऋषिजी, तपाईँ एउटा यस्तो पत्रकार हो, जसले यस्ता यस्ता कुराहरू पत्ता लगाउनुभएको छ, १२ नम्बर पिलर नयाँ बनाउँदाखेरि दुई देश सँगै हुनुपर्छ कि पर्दैन ? दुई देशको सहमतिमा त्यो मर्मत हुन्छ कि हुँदैन ? म तपाईँलाई त्यो फोटोसहित पठाईदिउँला । मैले भन्दैछु, ११ नम्बर पिलर परिवर्तन भएको छैन । त्यसपछि गईसकेपछि ११ नम्बरबाट तल सेरवा, पक्कै पनि तपाईँले नक्सा पनि हेरिसक्नुभएको होला, सेरवा भन्ने ठाउँबाट यतापट्टि आएर १० नम्बर पिलर छ, त्यो १० नम्बर पिलर पनि सही सलामत छ । त्यही ठाउँमा छ । त्यसपछि तल झरिसकेपछि ९ नम्बर पिलर छ । दशगजाको अर्थ के हो त ? जहाँ पिलर हुन्छ, पिलरभन्दा दशगजा चीनतिर होला या दशगजा नेपालतिर होला या दशगजा भारततिर होला, त्यो पिलर राखेको ठाउँमा गेट बनाउन पाईन्न ऋषिजी । ९ नम्बर पिलरलाई ठ्याक्कै बीचमा पारेर उहाँहरूले गेट बनाउनुभएको छ । हामीले हाम्रो गेट दशगजा वर नै पूर्वतिर बनाएका छौँ । हामीसँग जम्मा ९ ओटा पिलर भएको त्यो ठाउँमा । अब म तपाईँलाई भन्दैछु, ९ पछि जब त्यो कर्णाली नदी आउँछ, हामी हिल्सातिर जानुपर्छ, हिल्सातिर आईसकेपछि ८ (१) को पिलर छ । त्यो हाम्रो भूमिमा सही सलामत छ । त्यसपछि ७ (१) को पिलर छ । त्यो भित्तामा लेखिएको छ । त्यो पनि हाम्रो भूमिमा छ, सही सलामत छ । त्यसपछि ७ (१) हाम्रोमा भईसकेपछि त्यो कर्णालीको उत्तरतिर छ । त्यसपछि ६ (१) को पिलर छ । त्यो पिलर नेपालको भूमिमा छ । (१) को अर्थ के हो भने पूर्ण नेपालमा छ भनिएको हो । ६ (१) को पिलरलाई उहाँहरूले चिनियाँ भू–भागतिर सारेर हाम्रोतिरबाट तारबार लगाउनुभएको छ । त्यो फोटो मैले लिएर आएको छु । त्यो भिडियो मैले लिएर आएको छु । त्यसरी नै माथितिर गईयो भने ५ (१) को छ, त्यो ५ (१) लाई पनि उहाँहरूले छोप्नुभएको छ । अनि ५ (२) गईसकेपछि नेपाल लेखिएको छ, उतातिर चीन लेखिएको छ । त्यहाँ फेरि बीचमा त्यो तार उहाँहरूले पारीपट्टि लगाउनुभएको छ । पहिला बनेको जङ्गी पिलर, ठुलो जङ्गी पिलर त्यहाँ ढालिएको छ । अनि त्यो तारबार लगाएर पिलर उहाँहरूको भित्र राखिएको छ भने कसरी उहाँहरूले भन्नुभयो एक ईञ्च मिचिएको छैन भनेर ? हाम्रा त्यहाँ अस्ति गएको सि.डि.ओ. को टोलीहरू फेरि १२ नम्बरमा गयो । १२ नम्बरमा प्रमुख जिल्ला अधिकारी आफु जान सक्नुभएन । मलाई जहाँसम्म लाग्छ, सशस्त्रको डि.एस.पी जानुभएन, त्यो धेरै हाईटमा छ, उहाँहरू तराईको मान्छे जानसक्ने कुरा भएन । ११ नम्बरमा पनि उहाँहरू मेजर, डि.एस.पी., सि.डि.ओ. जान सक्नुभएन । त्यहाँ सिपाहीहरू मात्र गए । यो अहिले मैले जुन भनिरहेको छु, ७ (१), ६ (१), ५ (१) यस्तो भिरालो ठाउँ छ ।

त्यसोभए चीनले कति भू–भाग मिचेको छ, नेपालको ? त्यो तथ्याङ्क छ तपाईँसँग ?

म यति भू–भाग, यति किलोमिटर भनेर मैले त्यसरी नापेको छैन । पिलर राखिएको पिलरहरूलाई बाँध बाँधेर उसले आफ्नो ठाउँमा राखेको छ । माथिको १२ नम्बर त करिब–करिब ३ किलोमिटर भनेपछि एरिया यति ठ्याक्कै भनेर म नापीको विज्ञ होइन हेर्नुस् । त्यहाँ राखिएको, मिचिएको कुरामा त्यसकारणले हामीले भन्यौँ, ए सरकार विज्ञ टोली पठाईदेऊ । ईन्सपेक्सन भएको छैन भनेर हामीले मागेको पनि त्यही हो नि । सरकारले दिन प्रतिदिन त्यो कुरा नगरेर भूमिको कुरा नगरेर आफुसँग जोडिएको कुराहरू गरे । आज म तपाईँलाई फोटोहरू पठाउँदैछु । त्यो फोटोमा ६ (१) को पिलरमा हाम्रो बाँध बाँधेको छ । पहिला प्रहरीहरू जानुभएछ । प्रहरीले ६ (१) त हाम्रो भन्दाखेरि चिनियाँले उहाँहरूमाथि ढुंगामुढा गरेको छ । त्यसपछि उहाँ भागेर आउनुभएको छ । म गईसकेपछि उहाँहरूले ढुंगामुढा गर्नुभएन । माथिबाट हेरिराख्नुभयो तर तारको बार लगाएर हाम्रो भूमिलाई मिचेको छ । त्यसैले उहाँहरूले कसरी भन्न सक्नुहुन्छ, एक ईञ्च पनि मिचेको छैन भनेर ? त्यहाँ जहाँ÷जहाँ हाम्रा पिलरहरू छन्, ११ नम्बर बाहेक १२ नम्बरभन्दा तल नौओटा घरहरू बनाएर चेकपोष्ट बनाईयो । अहिले आएर सानो झोलुङ्गे पुल छ, कर्णालीपारीतिर उहाँहरूको चेकपोष्ट छ । ५ (१) र ६ (१) को पारीपट्टि क्याम्प राखेका छन् । त्यसमा बसेका छन् । अनि त्यो तल जुन पुल छ, त्यहाँ हाम्रो दर्ता भएको जग्गाहरू पनि छन् । जग्गा भएको ठाउँमा पशुहरू जाँदा पनि ढुंगा हान्छन् । उनीहरूको एक ईञ्च जग्गामा पनि हामीलाई हिँड्न दिँदैनन् । अनि यो कसरी मिचिएको छैन भनेर भन्ने ऋषिजी ?

त्यसो भए तपाईँ प्रतिवेदन सार्वजनिक गर्नुहुन्छ आज ?

आज हामीले पूरा भिडियोसहित सार्वजनिक गर्छौँ । तपाईँहरूको ईमेलमा समेत हामी पठाईदिन्छौँ । अब अहिले यहाँको अवस्था भयो भने पार्टीमा पनि म प्रतिवेदन दिन्छु । यस्तोखालको ठाडै आँखाले देख्दादेख्दै अहिले सशस्त्र, जनपदमा पनि सई साहेबहरूको कमाण्डमा त्यहाँ छ । सई साहबहरूले त मलाई अझ के भन्नुभएको थियो भने–यो सा¥है अन्याय भयो, यो बार हामीले भत्काउनुपर्छ भन्नुभएको थियो । मैले होइन बार भत्काईसकेपछि त भोलि यिनीहरूले होइन भनेर भन्छन् । त्यसकारणले बार नभत्काऔँ भनेर त्योसहितको फोटो खिचेर ल्याएको छु । अनि अर्को गजबको कुरा के छ भने ऋषिजी, त्यहाँभन्दा यता, चीनको बोर्डरभन्दा यता हिल्सा भयो, हिल्साभन्दा माथि डाँडा आईसकेपछि नारा भन्ने लेक, हिल्सा सडकको विषयमा पहिला धेरै चर्चा भएको र तपाईँले पनि त्यो बाटोका विषयमा धेरै बहस गरेर तपाईँको पनि त्यसमा ठुलो सहयोग छ, त्यो नारा लेकसम्म चिनियाँ समय देखाउँछ । कोर्डिनेशन त यसरी मिलाउनुपथ्र्यो कि आफ्नो बोर्डरसम्म मात्रै समय देखाउने कुरा हो नि त । तर त्यो गर्दैन, नेपालकै भू–भागमा चिनियाँ समय देखाउने गरिएको छ । अनि जि.पि.एसमा पनि के देखाउँछ भने माथिको त्यो १२ नम्बर पिलरमा हामी १२ नम्बर पिलरमा उभिने हो भने करिब–करिब डेढ किलोमिटर जति पूर्वतिर चीनको भू–भाग भनेर देखाउँछ । यसबाट के थाहा भयो भने एक्लै बनाए । बनाईसकेपछि त्यो पिलरको ओरेन्टेशन अलिकति चेन्ज गरिदिए । घरको विवाद भएपछि अलिकति चेन्ज गरेपछि नेपालतिर यसो देखिने, यस्तो खालको कुरा भईसकेपछि सरकारले त्यहाँ गएर बलजफ्ती कुरा गर्नुको ठाउँमा तपार्इँहरू चिन्ता नगर्नुस्, हामी विज्ञ टोली पठाउँछौँ, यसको निक्र्यौल गर्नुपर्छ, विवाद उठिसकेपछि भन्नुपर्छ कि पर्दैन ? यहाँ केही मान्छेलाई खरिद÷विक्री गर्ने, केही मान्छेलाई थ्रेट दिने कुराहरू भईराखेका छन् । यो गलत कुरा हो ।

होइन, अब तपाईँहरू चीनसँग युद्ध गर्ने तयारीमा हो त नेपाली कांग्रेस ? गा¥हो होला नि चीनसँग लड्न त ?

यो युद्धको कुरा होइन, यो कुटनीतिको कुरा हो । त्यसोभए नेपाललाई नेपाल नभने भईगयो नि । भारतसँग नेपालले लड्न सक्छ । लिपुलेक, कालापानीको कुरामा भारतसँग लड्न सक्छ नेपालले ? चीनसँग नेपालले लड्न सक्छ ? सक्दैन । एउटा सार्वभौमसत्तासम्पन्न देश भएको हुनाले हाम्रो मिचिएको कुरा गर्ने हो । यो आज हामीले पार्टीमा दिन्छौँ । हामी ईन्टरनेशनल रूपमा पनि जाने हो । हामी नीतिको कुरा गर्छौँ ।

त्यसो भए अन्तर्राष्ट्रिय अदालतमा तपाईँहरू जान सक्नुहुन्छ ?

पार्टीमा गएर हामी बुझाउँछौँ । पार्टीलाई दिईसकेपछि पार्टी त जानुप¥यो । तपाईँले पनि साथ दिनुपर्छ नि ऋषिजी ।

होइन, मैले साथ दिएको छु । भारतले पनि एक ईञ्च जमिन नेपालको मिच्न पाउँदैन । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भनेर पहिलो बहस गर्ने मान्छे म हुँ, भारतीय नेताहरूलाई बोलाएर !

अब लिमीलाप्चाको सिमाना मिचिएका छन् । यो मिचिएका सिमाना पनि एक ईञ्च होस्, आधा ईञ्च होस्, एक किलोमिटर होस्, दश किलोमिटर होस्, मिच्न पाउनु हुँदैन । नेपालको भूमि कसैले पनि मिच्न पाउनु हुँदैन भनेर तपाईँले अझै जोडदारसँग बहस गर्नुहुनेछ । त्यसमा हामी पूरा हुम्लावासीहरूलाई आशा छ । यतिसम्म गरेको छ हेर्नुस्, पारवहनमा माथि ट्रकमा नेपालीहरूले किनेको सामानलाई पनि सीमाविवाद भयो भनेर चिनियाँ सरकारले रोक्ने ? यस्तो एउटा गरिब देशको मान्छेलाई त्यो गर्न सुहाउँछ कि सुहाउँदैन ? भएको कुरा मैले तपाईँलाई भनेँ नि । उनीहरूको भूमिबाट करिब ३ किलोमिटर हामीले बाटो खनेर ल्याएका छौँ । यदि हाम्रो बाटो नभईदिएको भए हिजो उनीहरूले बाटो खन्न दिन्थे र ? आज त्यो खनिएको ३ किलोमिटर पनि उनीहरूको भूभागमा पारिरहेका छन् । कि त चीनले भन्नुप¥यो, चीन एउटा गरिब देश हो, नेपाल एउटा धनी देश र हुम्ला त एकदम धनी देश भया हुनाले हामीले सहयोग मागेर बाटो खनेका थियौँ भन्नुप¥यो । त्यो बेलामा उनीहरूको मान्छे आएर सिमाना देखाएर, खोलाभन्दा पारीपट्टि तिनीहरूको हो भनेर हामीले बाटो खन्यौँ । आज त्यो खनिएको बाटो पनि उनीहरूले कब्जा गर्दाखेरि यसैबाट प्रस्ट हुन्छ कि उनीहरूले हाम्रो भूमि मिचेका छन् । हाम्रो सरकार त सबै भन्दिनँ, केही व्यक्तिहरू त्यसैमा डुबेका छन् भन्ने प्रमाणित भयो ऋषिजी ।

अब कर्णाली प्रदेशमा तपाईँलाई थाहा छ, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विरुद्धमा दलभित्रै संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ । उहाँले राम्रो काम गर्न सक्नुभएन ? असफल मुख्यमन्त्री हो ? तपाईँ प्रतिपक्ष दलको नेता !

राम्रो काम गरेको भए त उनीहरूले अविश्वासको प्रस्ताव कि राख्थे र ? मैले भनेँ नि त, ऋषिजीले यो कुरा मलाई धेरैचोटि सोध्नुभयो, अरू काममा उहाँको काम गर्ने ढंग छैन । अस्ति कोभिडको बेलामा अरू प्रदेशभन्दा ! म त कस्तो मान्छे भन्दा ऋषिजी, राम्रो कामलाई राम्रो भन्ने, नराम्रो कामलाई नराम्रो गरे भन्ने मान्छे ! कोभिडको बेलामा अरूभन्दा शेकविशेक उहाँले राम्रो गर्नुभएको हो, अरू प्रणाली जुन हामीले छुट्टै प्रदेश खोज्यौँ, प्रदेशले आफ्नो निर्वाह गर्नुपर्नेछ, आफ्नो शासनसत्ता चलाउनेछ, आफ्नो विकास गर्नेछ भन्ने कुरामा त्यो एउटा योजना गर्ने कुराहरू भएन । हिजो लडाँकु जस्तो भएर अर्डर दिएर हुँदैन । त्यही राम्रो नभएको कारणले उहाँको पूर्व–एमाले मात्र होइन, पूर्व–माओवादीका पनि तीनजना सांसदहरूले हस्ताक्षर गरेको देखियो । त्यसकारणले अब काम नराम्रो गरेको हो । तर मलाई के विश्वास छैन भने ऋषिजी, उहाँहरूले दर्ता गरे पनि माथिबाट फेरि यो सार्वभौमसत्तासम्पन्न छँदै छैन, प्रदेश सरकार र त्यहाँका सांसदहरू पनि सार्वभौम छँदै छैनन् । वास्तवमा त्यहाँको संसदीय दलले गरेको निर्णय र त्यहाँको संसदले गरेको निर्णय मान्नुपर्ने तर माथिबाट आएर त्यो हुन्न भनेर हपार्ने होलान् अनि सबैलाई ठीकठाक बनाउँछन् होलान् । यसले के प्रस्ट्यायो भने उहाँले काम राम्रो नगरेको हो भन्ने कुरा त ३३ जना माननीयहरूमा १८ जनाले अविश्वासको प्रस्ताव पेश गरिसकेपछि उहाँले राम्रो गरेका थिए भनेर त कसरी भन्न सकिन्छ ?

अविश्वासको प्रस्ताव पारित होला कि असफल के होला ?

यो त ३३ जनामा १८ जना भईसकेपछि स्वत: १८ जना त यिनीहरू छन्, केही मान्छेहरू पनि थपिएलान् । स्वत ः पास हुन्छ तर मैले अघि भनेँ नि, कम्युनिष्ट पार्टीमा त यो प्रदेश सरकारलाई पनि स्वतन्त्रता कहाँ दिईएको छ र ? माथि उहाँहरूका नेताहरूले सबैलाई फिर्ता लेऊ भनेर दबाब दिन सक्छन् । यदि त्यो दबाब नदिएर साँच्चै त्यो तिम्रो कर्णाली सार्वभौमसत्तासम्पन्न हो भनेपछि त पास भईहाल्छ नि ।



प्रतिक्रिया दिनुहोस्