Logo

छानबिनमा डनहरु



काठमाडौं, २७ असोज । गत वर्ष तिहारको लक्ष्मीपूजाको दिन महाराजगञ्जस्थित जुवाखालबाट २५ जना जुवाडेहरु पक्राउ परे । उनीहरुबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भयो । जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरु कतिपय नाम चलेका व्यवसायीहरुसमेत थिए । पैसा र व्यक्तिको हिसाबले यो वर्षकै ठूलो जुवाकाण्ड बन्न पुग्यो र ठूलै चर्चा भयो ।

जुवाखालबाट उच्च राजनीतिक पहुँच भएका पावरफुल व्यक्तिहरु पक्राउ परेकाले प्रहरीमा पनि अत्याधिक चलखेल भयो । तर, प्रहरीले उनीहरुलाई करिब तीन साता थुनामा राखेर मुद्दा मात्र चलाएन, पछि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पठायो । विभागले पनि लामो समय २५ जनालाई नै थुनामा राखेर बयान लिई धरौटी लिएर छाड्यो ।

पक्राउ परेकामध्ये बलराम सापकोटा ‘बले’ एक महिना थुनामा बसेपछि ४५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । उनै बलेलाई गत साता विभागले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसँगै पक्राउ परेका अन्य भने आफ्नो उजुरी तामेलीमा राख्ने प्रयासमा छन् ।

बलेसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित विभागले मुद्दा दायर गरेको हो । त्यस्तै, उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध समेत मुद्दा दायर भएको छ । श्रीमतीलाई दुई करोड ५८ लाख ६४ हजार सात ४४ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुको करोडौंको सम्पत्ति समेत जफतको माग विभागले गरेको छ ।

जुवा र गुन्डागर्दीबाट सापकोटाले यो सम्पत्ति जोडेको विभागको दाबी छ । पञ्चकन्या हाउजिङ, भेगास सिटीमा रहेका फ्ल्याट, उनको गाडी र बैंक खातामा रहेको रुपैयाँ जफतको मागदाबीसहित मुद्दा दायर भएको विभागले जनाएको छ । काठमाडौं, झापा तथा काभ्रेमा रहेको जग्गा समेत जफतको माग गरिएको छ ।

सापकोटा क्यासिनो किङका नामले परिचित छन् । क्यासिनोमा सामान्य कर्मचारीबाट उनले करोडौं सम्पत्ति जोडेका थिए । त्यही पैसा उनले विभिन्न ठाउँमा लगानी गरेको विभागको दाबी छ । हालै झापामा खुलेको पाँचतारे होटलमा पनि उनको लगानी रहेको बताइएको छ ।

बलेसँगै पक्राउ परेका पर्यटन व्यवसायी पवित्र कुमार कार्की, ठेकदार रामबहादुर गौतम, इन्द्र श्रेष्ठ, अशोक श्रेष्ठ, पवन गुप्ता, श्रवण गोयल, शोयल कार्की, कृष्णहरी भण्डारी, गेन्जे लामा लगायतको पनि छानबिन भइरहेको छ । उनीहरुमध्ये अधिकाशंका मुद्दा तामेलीमा राख्न गोप्य चलखेल भइरहेको स्रोत बताउँछ ।

अन्य गुन्डा नाइकेहरुविरुद्ध पनि विभागमा उजुरी परेको छ । अजय श्रेष्ठ, मिनकृष्ण महर्जन लगायत विरुद्ध उजुरी परेपनि विभागले छानबिनमा चासो दिएको छैन ।

चार डनको मुद्दा सर्वोच्चमा अल्झियो

गुन्डार्दी तथा अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा चार गुन्डा नाइकेहरु विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा वर्षाैदेखि सुनुवाई हुन सकेको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेकोमा चार जनाविरुद्ध सर्वाेच्चमा पुनरावेदन भएको थियो ।

दीपक मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मिलन गुरुङको मुद्दा सर्वोच्चमा रहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक मनाङेविरुद्ध मुद्दा दायर गरेपनि उनलाई बिशेष अदालतले सफाइ दिएको छ । बिशेष सरकारी वकिल कार्यालयको सेटिङमा उनीविरुद्ध पुनरावेदन भएन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभागले २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनीहरुमध्ये गणेश लामालाई आशिंक रुपमा दोषी ठहर भएपनि अरुले सफाई पाएका थिए । तत्कालिन फोरम तथा हाल नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६ पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा सुरु गरेपनि अघि बढ्न सकेको छैन ।

विशेष अदालतले उनलाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको बिगो बापतको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो । लामाले विशेषको फैसलालाई चुनौती दिँदै २०७५ कात्तिक ९ गते पुनरावेदन दर्ता गरेका थिए । लामाले मुद्दा दर्ता गरेको दुई महिनापछि सरकारी पक्षले पनि विशेषको अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको थियो । मागभन्दा कम सजाय भएको भन्दै पुनरावेदन भएको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले फाइल मगाउने आदेश गत वर्ष दिएको थियो ।

उनले आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालिन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आशिंका ठहरको फैसला सुनाएको थियो । लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो । काभ्रेको सामान्य परिवारमा जन्मिएका लामाले रक्तचन्दनको कारोबारदेखि ठेक्कापट्टाबाट अवैध धन जम्मा गरेको स्रोतको भनाइ छ ।

अवैध आर्जनबाट सम्पत्ति आर्जन गरेको आरोप लागेका गुन्डा नाइके अभिषेक गिरीको मुद्दा पनि हाल सर्वाेच्चमा छ । विभागले दाबी गरेको सम्पत्ति ऐन जारी हुनुभन्दा अघि नै आर्जन गरेकाले दोषी ठहर गर्न नमिल्ने विशेषको फैसलामा उल्लेख छ । २०७५ पुस ९ गते सरकारका तर्फबाट सर्बोच्चमा पुनरावेदन गरिएको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले २०७७ असार ३ गते विपक्षीलाई झिकाउने आदेश गरेको थियो । सर्वोच्चको यो आदेशसँगै उनको मुद्दा सर्वोच्चमा सुनुवाइ अघि बढेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै विपक्षी झिकाउने आदेश पनि दिएको थियो ।

गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाई दिएको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले बस्नेतलाई सफाइ दिएको थियो । विभागले गिरीसँग २ करोड ९४ लाख रुपैयाँ अवैध सम्पत्ति रहेको दाबी गरेको थियो । विभागले यसरी आर्जन गरेको सम्पत्ति गिरीले श्रीमती अनिषा गिरीको नाममा समेत राखेको भन्दै उनलाई पनि विपक्षी बनाएको थियो । गिरी हाल अपहरण मुद्दामा जेलमै छन् । जेलभित्रै नाइके बनेर उनले असुली धन्दा चलाइरहेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दा लागेका गुन्डा नाइके चक्रे मिलन अर्थात् मिलन गुरुङले पनि विशेष अदालतवाट सफाई पाएका थिए । उनको मुद्दा पनि सर्वाेच्चमा छ । विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्षले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो । उक्त निवेदनमा सुनुवाई गर्दै असार ३ गते सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश भएको थियो । न्यायाधीश मिरा खड्का र मनोजकुमार शर्माको इजलाशले मिलन गुरुङको मुद्दा सर्वोच्चमा सुरु गर्ने आदेश गरेको हो । गुरुङले विशेष अदालतबाट २०७४ माघ १० गते सफाई पाएका थिए । चक्रे मिलन अहिले पनि गुन्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकारीहरु बताउँछन् । चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो ।

बिशेष अदालतबाट सफाइ पाउने अर्का गुन्डा नाइके पर्शुराम बस्नेत हुन् । बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो । बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो । मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो । तर विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाई दिएको हो । विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाई दिने फैसला सुनाएको थियो। न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाई दिएको थियो । सो मुद्दापछि उनको श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको छ । उनलाई संरक्षण गर्दै आएका सांसद महेश बस्नेत र किसन श्रेष्ठसँग पनि उनको सम्बन्ध बिग्रिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको इतिहासमै गुन्डाविरुद्धको मुद्दालाई सबैभन्दा ठूलो मुद्दा मानिन्छ । तर, धेरैले विशेष अदालतबाट सफाइ पाएपछि गुन्डागर्दीमा सक्रियहरुको मनोबल बढेको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्