माधव नेपाल समूहका सांसदहरुको साथपछि मुख्यमन्त्री शाहीको पद जोगिने !


काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरु कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट पछि हटेका छन् । केन्द्रबाट नेता नेपाल र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको जोडबोलमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद सुरक्षित हुन लागेको हो ।

मुख्यमन्त्री शाहीले नेता नेपाल समूहका सांसदलाई मन्त्री बनाउनेगरि मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हट्ने बुझिएको छ । नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । १८ मध्ये ७ जना माधव नेपाल समूहका हुन् । File Photo/ReportersNepal