‘अब डा. केसीले अनशन बस्नुपर्दैन्, सहमति कार्यान्वयन हुन्छ’ : खगराज अधिकारी


काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति कार्यान्वनय हुने विश्वास दिलाएका छन् । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको लागि कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘कार्यान्वयन हुन्छ, भईरहेकै छ । सहमति कार्यान्वयन भयो, विगतमा । यो उहाँलाई त्यस्तो लागेको मात्र हो । उहाँलाई सहयोग गर्नेहरूले पनि सही व्याख्या नगरेको मात्रै हो । कतिपय कुरा लागू भए तर एउटा कुरा के हुन्छ भने व्यक्तिले सोच्नु र सिंगो संस्थाले सोच्नु केही न केही फरक हुन्छ । जतिसुकै ठुलो सक्षम भए पनि व्यक्तिले मात्रै जम्मै कुरा सोच्न नसक्ने हुन्छ । विगतमा धेरै कुराहरू कार्यान्वयन भए । उहाँ पनि सन्तुष्ट नै हुनुहुन्छ । अब पनि कार्यान्वयन हुन्छ ।’

उनले अब डा. केसीे अनशन बस्न नपर्ने पनि जिकिर गरे । उनले थपे,‘बस्नैपर्दैन नि । अहिले पनि उहाँले अनशनभन्दा अरू उपाय गरेको भए हुन्थ्यो ।’ कोरोना संक्रमणबारे सरकारले जनतालाई सचेत बनाउन नसकेको उनको भनाई छ । उनले भने,‘सरकार कहाँ चुक्यो भने सरकार चुकेको जनतालाई सचेत गराउन सकेन । राजनीतिक दलहरूले राजनीतिक गरे । सरकारले सुरुमा सोचेको के देख्यो भने संक्रमणको दर यति धेरै होला र मृत्युदर यति होला भन्ने कुरामा कही सरकारले आँकलन गर्न भ्याएन जस्तो लाग्यो मलाई । मुख्य कुरा त हामीले नै सामाजिक दूरी कायम गरेनौँ । लकडाउनको विरोध गरेका छौँ हामीले, लकडाउन त हुँदै हुँदैन भन्नेमा नै छौँ हामी । लकडाउन गरेर सरकारले ५० ठाउँमा ल्याबको व्यवस्था गरेको छ । ८०० भन्दा भेन्टिलेटर थिएनन् । अहिले २६०० पुग्न थालिसक्यो । यही लकडाउनको पिरीयडमा भएको हो । अक्सिजनको दुईहजारभन्दा बढी बेडको व्यवस्था गरिसक्यो । त्यति हुँदा पनि पुगेन ? यो के भने एक्लै सरकारले गर्न सक्दैन । हामी सोसाईटी, कम्युनिटीले के गर्नुपर्छ भने पालना गर्नुपर्छ । त्यसकारणले सरकारलाई गाली गर्न त सजिलो छ ।’

उनले जनताले आँफैं असाध्यै ठुलो सावधानी अपनाउनुपर्ने बताए । ‘रोग आउँदैछ भन्ने ठान्नुपर्छ । तिनीहरूलाई आईसोलेसनमा सात दिन त राख्नैपर्छ नि । अनि परीक्षण गर्ने मात्र ठुलो कुरा होइन नि । परीक्षण गर्ने बित्तिकै सेकेण्डभरमा फेरि फैलिन सक्छ नि । त्यो कुरा पनि ख्याल गर्नुपर्छ ।’–उनले भने ।  मन्त्रीमण्डल पुनर्गठन कहिले गर्नुहोला प्रधानमन्त्रीले ? तपाईँ त प्रधानमन्त्रीसँग निकट भएको नेता भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,‘होइन म त तपाईँसँग पनि निकट छु, प्रधानमन्त्रीसँग पनि निकट छु । तर के हुन्छ भने प्रधानमन्त्रीले मेरो विचारमा खाली रहेको ठाउँ छिट्टै गर्नुहुन्छ ।’ File Photo/ReportersNepal