Logo

नेकपा विवादः कर्णालीको कम्पन बागमती र प्रदेश १ हुँदै केन्द्रसम्म पर्नसक्ने



काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद कर्णालीमा देखिएसँगै त्यसको असर अन्यत्र देखिनथालेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेपनि यसको असर बागमती प्रदेश र प्रदेश १ मा देखिने भएको छ ।

विश्वस्त स्रोतका अनुसार बागमती प्रदेश र प्रदेश १ मा पनि मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको छ । त्यस्तो अवस्था आउन नदिन केन्द्रमा नेताहरु छलफलमा जुटेका छन् ।

कर्णालीमा शाहीविरुद्ध ओली पक्षधरले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालनमा दबाब सृजना गर्न खोजेपछि ओली पक्षले यस्तो रणनीति चालेको हो । तर, प्रचण्ड र माधव नेपाल पक्षधर मिलेर कर्णालीमा मुख्यमन्त्री शाहीको सत्ता संकट टारेका छन् ।

कर्णालीमा सत्ता संकट टरेपनि बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य शुरु भएको छ । दुवै प्रदेशमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षधर एकजुट भएमा सत्ता संकटमा पर्न सक्छ ।

प्रदेशहरुमा एक पक्षले अर्को पक्षको सत्ता ढाल्ने प्रयास शुरु गरेपछि त्यसको असर केन्द्रसम्म पर्न सक्ने देखिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम एकजुट भई सत्ताबाट हटाउन खोजेका थिए । दुईपटकको प्रयास ओलीले असफल पारिदिएका थिए । तर, मन्त्रिमण्डल पुर्नगठनलगायत शक्ति बाँडफाँडबाट सहमति बनाइएको छ । यसको कुनै कार्यान्वयन नभएको भन्दै ओलीविरुद्ध उनीइतर समूहले मोर्चाबन्दी गरेको छ ।

ओलीइतर समूहको मोर्चाबन्दी अब एक्सनमा जाने तयारीमा छ । यस्तो अवस्थामा ओलीको सत्ता पुनः संकटमा पर्न सक्छ । यद्यपि नेकपाभित्रको विवाद बढ्न नदिन नेताहरु छलफलमा सक्रिय भएका छन् । ओली र प्रचण्ड सहमति निकाल्न प्रयासरत छन् । केन्द्र देखि तल्लो तहसम्म विवाद छताछुल्ल हुँदा संकट बढेको भन्दै दोस्रो पुस्ताका नेताहरु पनि सहमति निकाल्न प्रयासरत छन् ।



प्रतिक्रिया दिनुहोस्