Logo

मुख्यमन्त्रीले मलाई हटाएकोमा नै वैधानिकता छैन : गुलाबजङ्ग शाह



कर्णाली प्रदेशका नेकपाका सांसद गुलाबजंग शाहले आफूलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हटाएको कुरामा नै वैधानिकता नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘पहिला कुरा त तपाईँहरूले माननीय मुख्यमन्त्री जो दलका नेता हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीको, उहाँले हटाएको कुरामा नै वैधानिकता छैन ।’ प्रस्तुत छ शाहसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब तपाईँलाई त मुख्यमन्त्रीले हटाउनुभयो । अब तपाईँ कता हुनुहुन्छ ? तपाईँ के गर्न सक्नुहुन्छ ?

पहिला कुरा त तपाईँहरूले माननीय मुख्यमन्त्री जो दलका नेता हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीको, उहाँले हटाएको कुरामा नै वैधानिकता छैन ।

किन वैधानिक छैन ? व्याख्या गर्नुहोस् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तपाईँलाई हटाउन सक्नुहुन्न ?

हटाउन सक्नुहुन्न । किन हटाउन सक्नुहुन्नभन्दा हाम्रो संसदीय दलको विधानमा माननीय मुख्यमन्त्री दलको नेता पनि हुनुहुन्छ, दलको नेतालाई विश्वास छैन भनेर १८ जना माननीय सदस्यहरूले प्रतिवेदन दर्ता गरिसकेपछि माननीय मुख्यमन्त्रीकै रोहबरमा मैले त्यो निवेदन बुझ्ने, माननीय यमलाल कँडेलसहित १८ जनाको निवेदन उहाँले बुझाउने कुरा माननीय मुख्यमन्त्रीकै रोहबरमा त्यो काम भईसकेपछि त्यो प्रक्रियामा विधान त के भन्छ भन्दाखेरि प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एकचौथाईले दलको नेतामाथि विश्वास छैन भने लिखित रूपमा प्रस्ताव पेश गर्न सक्छन् भन्ने वैधानिक व्यवस्था हो । वैधानिक व्यवस्था अनुसार उपदफा २ बमोजिम पूर्वसूचना प्रदेशसभाको नेताको हकमा प्रमुख सचेतकलाई दिनुपर्ने भनार्इँको अर्थ के भन्दाखेरि माननीय मुख्यमन्त्रीज्यु दलको नेता हुनुहुन्थ्यो । दलको नेतालाई नै विश्वास छैन भनेर ३२ जना सांसदमध्येमा

१८ जना सांसदले लिखित रूपमा उहाँकै रोहबरमा प्रमुख सचेतकलाई सम्बोधन गरेर त्यो निवेदन बुझाईसकेपछि त्यसपछिका कारबाहीमा वैधानिकता हुन्छ कि हुँदैन ?

तपाईँको ठाउँमा त सीता नेपाली नियुक्त हुनुभईसक्यो नि त । तपाईँलाई कारबाही गर्न मुख्यमन्त्रीले हरेक कुरा अपनाउनुभएको छ नि त ।
त्यही कुरा म तपाईँलाई भन्दैछु । दलको विधान अनुसार हामी सबै मान्छेहरू अनुशासनमा रहने भनेको कानुन हो । कानुनले भनिसकेपछि हाम्रो कर्णाली प्रदेशको दलको विधानमा दलको नेतामाथि अविश्वासको प्रस्ताव पेश गर्न सकिन्छ । प्रस्ताव पेश एकचौथाई सदस्यले गर्न सक्छन् भन्ने हुँदाहुँदै माननीय मुख्यमन्त्रीजी दलको नेता हुनुहुन्थ्यो, त्यसबेलामा उहाँकै रोहबरमा प्रमुख सचेतक थिएँ । मैले चित्त बुझेको सार्वजनिक सञ्चारमा भाईरल भएर सारा मिडियामा आईसकेपछि प्रमुख सचेतकलाई कारबाही गर्ने कुराले कुनै तोक राख्छ र ? माननीय मुख्यमन्त्री दलको नेताको रूपमा भए पनि ।

अहिले त तपाईँको आधिकारीक रूपमा वैधानिकताको कुरा गर्ने हो भने, संविधानको कुरा गर्ने हो भने मुख्यमन्त्री त महेन्द्रबहादुर शाही नै हुनुहुन्छ, होइन र ?

माननीय मुख्यमन्त्री संवैधानिक व्यवस्थाअनुसार हुनुहुन्थ्यो, हुनुहुन्छ । तर यहाँ दलभित्र जाने व्यवस्था के हुन्छ भन्दाखेरि यो पार्टीगत कुरा हो नि । दलको नेताप्रति अविश्वासको प्रस्ताव राख्न पाईन्छ कि पाईँदैन ? दलको नेताप्रति अविश्वासको प्रस्ताव राख्न पाईन्छ । एक चौथाई नेताले निक्र्यौल दिन सक्छन् । निक्र्यौल दिईसकेपछि प्रमुख सचेतकलाई दिनुपर्ने वैधानिक व्यवस्था छ । प्रमुख सचेतकलाई दिईसकेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । आज दिनको एक बजेको लागि, सबै माननीय सदस्यलाई सूचना जारी गरिसकेपछि प्रमुख सचेतकलाई हटाईयो भनेर विधानविपरीत काम गर्न पाईन्छ ? विधानभन्दा फरक ढंगले उहाँ प्रस्तुत भएको हुनाले आज बस्ने बैठकले त्यो कुराको तय गर्छ । मुख्यमन्त्री दलको नेता कायम हुन सक्नुहुन्छ कि हुँदैन ? त्यो एउटा कलहको अवस्था भएको हुनाले बैठकमा व्यवस्था निर्णय भईसकेपछि त्यसपछि निर्णय हुने कुरा एउटा ठाउँमा होला तर अहिले उहाँले मैले बैठक बोलाईसकेपछि मलाई कारबाही गरियो भन्ने ढंगले जाने वैधानिक व्यवस्था होइन । वैधानिक ढंगको छैन ।

तर, संसदीय दलको विधानको धारा ७ अनुसार तपाईँलाई हटाईएको छ नि त ?

प्रदेशको दलको विधान म तपाईँलाई पढेर सुनाऊँ ?

पढेर सुनाउनुहोस्, जनता जान्न चाहन्छन् ।

हाम्रो विधानको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलको विधान, २०७५ को २४ को अविश्वासको मत भनेर एउरा लहर छ, त्यसमा एक मत प्रदेशसभाको दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले दलको नेतामाथि विश्वास छैन भनेर लिखित रूपमा हाम्रो कर्णाली प्रदेशको सांसद भनेको ३३ जना एकजना सभामुख हुनुहुन्छ, त्यसपछि ३२ जनामध्येमा एक चौथाई भनेको करिब करिब ८ जना भयो । १८ जनाले लिखित दिनुभएको छ । उपदफा १ बमोजिमको लिखित सूचना प्रदेशसभाको नेताको हकमा त्यसबेलामा लिखित निवेदन दिने बेलामा, दलको नेता त महेन्द्रबहादुर शाही हो, त्यस्तो अवस्थामा प्रमुख सचेतकलाई निवेदन दिन सक्नुहुनेछ भन्दा मैले बुझेँ । १८ जनाले बुझाउने, महेन्द्रबहादुर शाहीको रोहबरमा । लिखित सूचना प्राप्त भईसकेपछि प्रमुख सचेतक १५ दिनभित्र बैठक बोलाउनेछन् भनेर त्यो मैले चिठी बुझिसकेपछि माननीय महेन्द्रबहादुर शाहीसँग परामर्श गरेर मैले आजको दिनलाई एक बजे मैले बैठक बोलाईसकेको थिएँ । उपदफा १ बमोजिम प्रदेशसभाको सम्पूर्ण काम बहुमत अनुसार हुनेछ भनाईँको अर्थ ३२ जना सांसदलाई मतमा राख्ने, त्यसमा १८ जना लिखित हस्ताक्षरसहित उपस्थित हुनुभएको छ । १८ जनामध्येमा अब एकजना म बाँकी रहे, १९ जना भयो । १७ जनाले उहाँलाई हटाउन सक्नुहुन्छ । १८ जनाको लिखित रूपमा पहिल्यै आईसकेको छ । त्यसको निर्णय प्राप्त गर्नुभएको छ कि छैन उहाँले ? त्यसैले म तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु ।

विधान पनि पढेर सुनाउनुभयो तपाईँले पार्टीको । तपाईँहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराईसकेपछि बहुमत पुग्छ ?

३२ जना मतमा सदस्य भएको बेला १८ जनाले त पहिल्यै लेखेर नै दिनुभएको छ ।

त्यसमा तलमाथि होला नि त ? रातारात चलखेल भएको छ त्यहाँ ?

कहाँ भएको छ त त्यो त एक बजेको बैठकमा थाहा हुन्छ नि ।

त्यसोभए तपाईँहरू आज संसदीय दलको नेता परिवर्तन गर्नुहुन्छ ?

आज दलको बैठक बस्छ ।

दलको बैठक बस्छ, नेता परिवर्तन हुन्छ कि हुँदैन ?

परिवर्तन हुन्छ ।

केन्द्रले भनेको तपाईँहरूले मान्नुहुँदैन ? प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालले भनेको !

नेकपा भनेको लोकतान्त्रिक विधि पालना गर्ने पार्टी हो । हाम्रो संसदीय मूल्य, मान्यताहरू छन् । पार्टीका विधानहरू छन् । यसमा संसदीय दलभित्र सांसदहरूलाई दलको नेता चुन्न, मन परेन भने हटाउन सांसदको त यसमा स्वायत्त हुन्छ । यसमा पार्टीले निर्णय दिने कुरा कहाँ हुन्छ ? पार्टी दमनतिर गयो । पार्टी लोकतान्त्रिक भएन । पार्टीले लोकतान्त्रिक विधि पालना गर्छ भनेर आम जनमानसमा व्याप्त भएको बेलामा पार्टी नेतृत्वले अविश्वासको प्रस्ताव दर्ता नगर भन्नुभयो । यो लोकतान्त्रिक विधि नै होइन भनेर म तपाईँलाई अनुरोध गर्न चाहन्छु ।

त्यसोभए केन्द्रले भन्दा पनि तपाईँहरू मान्नुहुन्न, मुख्यमन्त्री परिवर्तन हुन्छ अब ?

केन्द्रले भन्ने अवस्था नै छैन ।

होइन प्रधानमन्त्रीले तपाईँहरू यमलाल कँडेललाई फोन गर्नुभयो भनेर के.पी. शर्मा ओलीले भन्नुभएको छ । हिजो पनि मैले कुरा गरेँ, साथीहरूले मान्नुभएन ।

हाम्रो पार्टी मुलुकमा सबैभन्दा बढी लोकतान्त्रिक विधि पालना गर्ने पार्टी हो । नेपालमा संविधान, २०७२ जारी गरेर मुलुक संघीयतामा गईसकेपछि प्रदेश प्रजातान्त्रिक अभ्यासमा हुने विधि भएको हुनाले यसमा ती नेताहरूले हस्तक्षेप गर्नुहुन्छ जस्तो मलाई लाग्दैन र अहिलेसम्म गर्नुभएको छैन ।

तर हिजो प्रचण्ड र प्रधानमन्त्रीको बीचमा कुराकानी भयो । माधवकुमार नेपाल र प्रचण्डको बीचमा कुराकानी भयो । प्रस्ट रूपमा त्यहाँ के भनिएको छ भन्दाखेरि प्रधानमन्त्रीले त सम्झाउँदा पनि मान्दैनन् । मैले कुरा गरेको हुँ, मानिराखेका छैनन् । तैपनि फेरि कुरा गर्छु भन्नुभएको छ, उहाँले पनि !

मेरो लेभलसम्म त्यो कुरा आईपुगेको छैन । म अहिले दलको प्रमुख सचेतकको रूपमा छु । मभन्दा माथि पनि नेताहरू हुनुहुन्छ । यस्तो कुरामा नेताहरूले हस्तक्षेप गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ऋषिजी । हाम्रो पार्टी यस्तो पार्टी हो, लोकतान्त्रिक पार्टी, यहाँलाई थाहा छ नि, संविधानको सर्वोच्चता, कानुनी राज्य, बहुमतको शासन, अल्पमतको प्रतिपक्ष, आवधिक निर्वाचन, यी कुराहरू हामीले मान्दै आएको कुरा हो । हामीले सबै कुरा जनतामा छोडेको हुनाले लोकतान्त्रिक विधि स्थापना गरिरहेको बेलामा २०७२ असोज ३ गते जारी भएको संविधानमा तीन तहको संसद चल्दै गर्दा नेताहरूले हस्तक्षेप गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

तर हिजो नारायणकाजी श्रेष्ठले प्रतिक्रिया दिँदै भन्नुभएको छ, अहिलेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउनु गलत हो । अहिले यसले विवादहरू सिर्जना गर्छ पार्टीमा । समस्याहरू निम्त्याउँछ भन्नुभएको छ उहाँले ।

अस्ति भर्खरै एकदुई महिना पहिला प्रधानमन्त्री के.पी. शर्मा ओलीको विरुद्धमा पनि अविश्वासको प्रस्ताव भएको थियो नि । पार्टीभित्रको एउटा कुरा होला, संसदीय अभ्यासमा प्रधानमन्त्री भनेको संसदीय दलको नेता भएर प्रधानमन्त्री हुन पाउँछन्, हाम्रो प्रदेशमा मुख्यमन्त्री भनेको जनताको जनमत बुझेर जनमतको आधारमा मुख्यमन्त्री हुने वैधानिक व्यवस्था छ । मन्त्रीको विरुद्ध कुरा उठाउनै नपाउने कहाँको लोकतान्त्रिक विधि हो यो ?

तर लोकतान्त्रिक विधि र प्रक्रियाको कुरा गरिरहँदाखेरि हाम्रो देशमा त नेताहरूले जे भन्यो, त्यही हुन्छ नि । केन्द्रिय नेतृत्वले तपाईँहरूलाई दबाब दिन सक्छन् नि त ?

अरू कुनै पार्टीमा त्यस्तो केन्द्रियता लागू हुन सक्छ । हाम्रो पार्टी केन्द्रियता र जनवाद बराबर मान्ने पार्टी हो । कतिपय सन्दर्भमा पार्टीका नीतिहरू जारी हुन्छन्, कतिपय सवालमा जनवाद प्रशस्तै प्रयोग गर्ने पार्टी नेकपा हो । जनवाद भनेको हामीलाई भएको अधिकार, व्यवस्था हामीले एकदम प्रयोग गरेर आएको पार्टी एकमात्र पार्टी नेपालमा त्यो भनेको नेकपा हो । त्यसैले यो पार्टी जनवाद र केन्द्रको नीतिमा हिँड्ने पार्टी भएको हुनाले मलाई लाग्छ, अहिले केन्द्रमा भएको नेताले हस्तक्षेप गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । जस्तै अहिले केन्द्रका नेताहरूले हस्तक्षेप गरे के को संघीयता ? यो नेकपा नेताहरूलाई बदनाम गर्ने कुरा हो । केन्द्रका नेताहरूले यस्तो कुरामा लाग्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

तपाईँले भन्नुभयो, अहिलेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारणहरू तपार्इँले व्याख्या गर्न सक्नुभएन नि ? कारण के त ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०७४ सालको संघ र प्रदेशको निर्वाचनमा संघीय निर्वाचनमा करिब करिब दुईतिहाईको नजिक, सातओटा प्रदेशमा छ ओटा प्रदेशमा नेकपाको सरकार बनेको कुरा यहाँलाई जानकारी नै छ । अनि हामी कर्णाली प्रदेश, कर्णाली प्रदेशमा सबैभन्दा पहिला यस प्रदेशको राजधानी नामाकरण गरेर राजधानी तोक्ने पार्टी हाम्रो पार्टी हो, हाम्रो प्रदेश हो । प्रतिपक्षलाई पनि साथ दिएको पार्टी हाम्रो पार्टी हो । कर्णालीको जनताको जुन चाहना, भावना छ, यसमा जुन मत प्राप्त गरेर हामीले काम गरेका थियौँ, सोचाई राखेका थियौँ । त्यो हामीले गर्न सकेनौँ भन्ने अनुभूति दलभित्र परेको छ । यो हिजो मात्र उठेको कुरा होइन । यो कुरा विगत एक वर्षदेखि आएको कुरा थियो । यसमा हामीले छलफल गरेका छौँ । सरकारको प्रस्तुति जब प्रभावकारी भएन, त्यसैले कि सरकार सच्चिनुपर्छ, होइन भने छोड्नुपर्छ भन्ने कुरा उठेको हो ।

पूर्व एमालेमा २० जना छन् । पूर्व माओवादी पक्षका १३ जना छन् । कता हुनुहुन्छ उहाँहरू ?

पूर्व एमाले र पूर्व माओवादी भन्ने कुरा २०७५ जेठ ३ गते पार्टी नेकपा बनिसकेपछि हामीले हिजोको ट्याग मेटाईसक्यौँ । यहाँ हामी पूर्व माओवादी, पूर्व एमाले भन्ने छैनौँ । हामीले २०७४ सालको संघ र प्रदेशको निर्वाचनमा पार्टीको नेताको रूपमा हामीले चुनाव जितेर आएको उम्मेदवार हौँ तर अहिले १८ जनामा कोही साथी माओवादीबाट आएको हुनुहुन्छ, कोही एमालेबाट आएको हुनुहुन्छ । अहिले त पार्टी एकता भईसक्यो । एउटा सनातनवादी सोचबाट हेरेको हुनाले यो कुरा नै गलत छ ऋषिजी ।

अबको मुख्यमन्त्री को त ?

अहिले त्यतातिर नजाऔँ ऋषिजी ।

होइन वास्तविकता बताउनुहोस् न तपाईँ ? यमलाल कँडेल हो कि होइन ?

आज एक बजे बस्ने दलको बैठकमा यदि माननीय यमलाल कँडेल दलको नेता तय हुनुभयो भनेपछि उहाँ नै मुख्यमन्त्री हुनुहोला नि तर त्यो मुख्यमन्त्री तयको कुरामा नजाऔँ । अहिले पार्टीभित्रको कुरामा छलफल गर्ने हो हामी । पछिको कुरा हो त्यो, मुख्यमन्त्री बन्ने कुरा । अहिले हाम्रो पार्टी कर्णाली प्रदेशमा जनमत बढाउन होइन घटाउनतिर लाग्यो । त्यसकारण यो कुरा आज चिन्ताको विषय हो । म दलको कार्यकर्ता पनि हो । म जिम्मेवार मान्छे पनि हो र जिम्मेवार कार्यकर्ताको नाताले ढिलो भईसक्यो अब, डेढ वर्षमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने, त्यसबेला हामीले कसरी जाने ?

अब मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही रहन सक्नुहुन्न ?

अहिले माननीय महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुनुहुन्छ भनेर कसरी भनौँ ? ३२ जना सांसदमा १८ जना सांसदले लिखित रूपमा निवेदन आईसकेपछि १७ जनाले बहुमत पुग्छ भनेपछि त्यो भोलिको कुरा हो । अहिले दलको नेता हुने या नहुने कुरा छ । त्यसैले त्यो कुरा अहिले म गर्न चाहन्न । तपाईँलाई यति मात्र म भन्न चाहन्छु । आज एक बजे हाम्रो बैठक छ । संसदीय दलले बोलाएको बैठक, त्यसमा छलफल हुन्छ । त्यसपछि एउटा निर्णयमा पुगिन्छ ।



प्रतिक्रिया दिनुहोस्