Logo

नेकपामा बल्झियो विवाद, अब के होला ?



काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद फेरि बल्झिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधान भइसकेको भनिएपनि कर्णालीमा पुगेर नयाँ विवाद छताछुल्ल भएको छ ।

कर्णालीमा ओली पक्ष यमलाल कँडेल समूहले प्रचण्ड पक्षधर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नयाँ विवाद छरपष्ट भएको हो । केन्द्रमा आफूलाई प्रचण्डले सरकार सञ्चालनमा असजिलो बनाउन खोजेको भन्दै प्रदेशमा ओली पक्षधरले त्यही रणनीति अपनाएको रुपमा यसलाई लिइएको छ । तर, प्रचण्ड र माधव नेपालले केन्द्रबाट सहमति गरेर अविश्वासको प्रस्तावलाई कमजोर बनाइसकेका छन् । कर्णालीमा कतिपय पदहरु हेरफेर समेत भएका छन् ।

कर्णालीको विवाद काठमाडौंले मात्र मिलाउन सक्ने भएपछि ओली र प्रचण्डले मुख्यमन्त्री शाही, यमलाल कँडेललगायतलाई बोलाएका छन् । त्यसअघि दुवै अध्यक्षबीच आज भेटवार्ता समेत भएको छ ।

ओली र प्रचण्डबीच दिनहुँजसो भेटवार्ता भएपनि असन्तुष्टि बढ्दै गएको छ । ओलीमाथि प्रचण्डले आफूलाई बेवास्ता गरेर राजदूत नियुक्तिलगायतका कदम चालेको भन्दै आएका छन् । ओली चाहिं सरकार सञ्चालन आफ्नो अनुसार हुनुपर्ने हस्तक्षेप गर्न नपाइने पक्षमा छन् । यसरी दुई नेताबीच दिनहुँजसो भेट भएपनि मन मिल्न नसकेको देखिएको छ ।

ओलीसँग असन्तुष्ट पक्षको मोर्चाबन्दी फेरि बनेको छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच गम्भीर कुराकानी भएको छ । उनीहरुले विगतमा मोर्चाबन्दी गर्दा एक अर्काले गरेको कमजोरीको समेत समिक्षा गरेका छन् । विशेषगरी वामदेव गौतमले छ बुँदै ल्याएर ओलीलाई बलियो बनाइदिएको तर्क गरेका छन् । यसपटक गौतम फेरि पुरानै समूह सक्रिय बनाउन लागेका छन् । यसले ओलीमाथि फेरि घेराबन्दीको रणनीति बनेको देखिदैछ ।

यसपटक गौतमलाई कसरी ओलीले साथमा लेलान् त्यो हेर्न बाँकी छ । उनलाई कुनै हालतमा सरकारमा नलाने ओली पक्षको तयारी देखिन्छ । वामदेवको साटो उनकी पत्नी तुलसा थापालाई सरकारमा लाने चर्चा पनि छ । तर, थापा सरकारमा जाने इच्छा देखाइरहेकी छैनन् । यसले पनि नेकपाभित्र फेरि नयाँ विवाद चर्कने सम्भावना बढेको छ । ओलीविरुद्ध सचिवालयका बहुमत सदस्यहरुले गरेको विगतको जस्तो मोर्चाबन्दी फेरि बन्दै गएको छ । यसले नेकपालाई पुनः संकटतर्फ धकेल्ने देखिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्