Logo

निःशुल्क पीसीआरमा नयाँ मापदण्ड



काठमाडौं, २९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताउनुभयो ।

उहाँले अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना परीक्षण हुने बताउनुभयो । प्रवक्ता गौतमले निःशुल्क परीक्षण गर्ने दायराभित्र परेका व्यक्तिका बीमा कम्पनीमा बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बीमा रकमबाट बेहोरिने निर्णय गरेको बताउनुभयो ।
प्रवक्ता गौतमले असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले समूहगत आवासमा बस्ने व्यक्ति, ब्यारेक, जेल, छात्रबास, वृद्धाश्रम लगायतमा ‘मास स्क्रिनिङ’का लागि एन्टिजेन परीक्षण गरिने बताउनुभयो ।

थप दुई हजार ६३८ मा कोरोना
बुधबार नेपालमा थप दुई हजार ६३८ जना व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षणका क्रममा थप दुई हजार ६३८ जनामा कोरोना पुष्टि भएको हो । प्रवक्ता गौतमले योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ९९६ पुगेको जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यकामा थप एक हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमले काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना गरी कुल एक हजार ४०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७५ पुगेको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्