Logo

‘अर्थमन्त्री पौडेलले अहिले भएकै कुरामा अलिकति टालटुल गर्दै हिँड्छु भन्नुभयो भने उहाँ असफल हुनुहुन्छ’ : डा. अधिकारी



अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई नै अर्थमन्त्री बनाउनुमा पौडेल प्रधानमन्त्रीको विश्वासको पात्र र पहिलापनि अर्थमन्त्री भएकोले हुनसक्ने अनुमान गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले नवनियुक्त अर्थमन्त्री पौडेलको कार्यकाल सफल भयो भने अर्थतन्त्र र देशलाई पनि राम्रो हुने टिप्पणी गरेका छन् । प्रस्तुत छ अर्थविद् डा. अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री के.पी. शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रालयमा किन ल्याउनुभयो ? उहाँलाई अर्थमन्त्री किन बनाउनुभयो ?

त्यो त किन बनाउनुभयो ? भन्ने कुरा मैले त्यो भन्न सक्दिनँ, प्रधानमन्त्रीले जान्नुहोला । सम्भवत ः पार्टीको महासचिव प्रधानमन्त्रीको एक किसिमको विश्वासको पात्र र पहिला पनि अर्थमन्त्री हुनुभएको हुनाले उहाँलाई बनाउनुभएको होला भनेर अन्दाजमात्रै गर्न सक्छु ।

तर पद साटेको भनेर धेरैले भनेका छन् नि त ? प्रदेशको कुरा प्रदेशको राजधानीमा मन्त्री पद साटेको आरोप लाग्यो उहाँलाई । विष्णु पौडेलले प्रस्ट रूपमा भन्नुभएको थियो, म बुटवललाई राजधानी बनाउँछु । उहाँले बनाउन सक्नुभएन । शंकर पोखरेलले दाङलाई बनाउनुभयो !

यो उहाँहरूको राजनीतिको आन्तरिक विषयवस्तु हो । मलाई त्यति जानकारी छैन । मलाई तपाईँले आर्थिक विषय, अर्थ–राजनीति, अर्थ–दर्शनको कुरा सोध्नुहोस् ।

विष्णु पौडेलको अर्थमन्त्रीको रूपमा आगामी यात्रा कति सुखद होला ? चुनौतीहरू के–के छन् ?

सबैभन्दा पहिला विष्णु पौडेललाई मेरो शुभकामना छ । हार्दिक बधाई छ । कार्यकाल सफल होस्, उहाँको कार्यकाल सफल भयो भने हामी सबै अर्थतन्त्र, देशलाई राम्रो हुन्छ । म उहाँलाई शुभकामना व्यक्त गर्दछु । यहाँले जुन प्रश्न गर्नुभयो, त्यो सन्दर्भमा मेरो भनाईँ के छ भने देशको अर्थमन्त्रीले बुझ्नुपर्ने कुरा आठ ओटा कुरा छ । ती आठ कुरा सूत्रबद्ध भनिदिन्छु म । सबैभन्दा पहिला त अर्थ–राजनीति देशको संविधानले कस्तो अर्थ–राजनीतिलाई लिएको छ ? अर्र्थ–दर्शन कस्तो छ ? हाम्रो देशका संविधान, राजनीतिले कस्तो किसिमले लिएको छ ? एक कुरा यो कुरालाई उहाँले पछ्याउनुपर्छ । दोस्रो कुरा विज्ञताको कुरा हुन्छ । तेस्रो अनुभवको कुरा, यी तीनओटा कुरा भयो भने उहाँमा, कुनै पनि व्यक्तिमा क्षमता सिर्जना हुन्छ । त्यति भईसकेपछि क्षमताको प्रयोगको लागि त्यो व्यक्तिमा विवेक, ईमान्दारीता, सहभागिता र सहकार्य गरेर हिँड्ने व्यवहार चाहिन्छ । त्यो सबैको आधारमा के चाहिन्छ भने एउटा आँट र साहस चाहिन्छ । कुनै पनि निर्णय गर्दा पार्टीको स्वार्थ अथवा दलको स्वार्थभन्दा पनि यो देशको लागि अन्तर्राष्ट्रिय परिवेशलाई अहिलेको अर्थतन्त्र, जनताले मागेको कुरा के हो ? भन्ने हिसाबले आँट र साहस चाहिन्छ । यी सातओटा कुरा भए । अनि यी सबै सात ओटा कुराको बीचमा अन्तर्राष्ट्रिय परिवेशलाई विश्लेषण गरेर हाम्रो अर्र्थ–राजनीतिलाई अर्र्थ–राजनीतिको नीति निर्माण गरेर कार्यान्वयन गर्ने क्षमता राख्नुपर्दछ । यति आठओटा कुरा लिएर अगाडि बढियो भनेदेखि विवेक, ईमान्दारीता छ भने निर्णय ठीक ठाउँमा जान्छ ।

अहिलेको अवस्थामा उहाँ त पार्टीको महासचिव हो नि त । पार्टीको नीति अनुसार उहाँ चल्नुहुन्छ नि त ? उहाँले त आफ्नो विवेक प्रयोग गर्न पाउनुहुन्न ?

होइन, यसो छ अब, विवेक भनेको दुईओटा कुरा हुन्छ ऋषिजी । एउटा विवेक प्रयोग गर्ने भनेको के हुन्छ भने दलीय हिसाबले अथवा कुनै व्यक्तिलाई मध्येनजर गरेर गर्ने कुरा हुन्छ । एउटा विवेक देशले के मागेको छ ? अर्थतन्त्रले के मागेको छ ? अर्थतन्त्रको अवस्था के छ ? अहिले कोरोनाको यत्रो प्रभाव छ । अर्थतन्त्र नकारात्मक हुने स्थिति बन्दै गएको छ । यो अवस्थामा विवेक प्रयोग गर्ने भनेको देशको लागि हो । त्यसकारणले कुनै पनि व्यक्तिले यो मैले विवेक प्रयोग गरेर ईमान्दारीताका साथ प्रयोग गरेको छु, मेरो व्यक्तिगत स्वार्थ छैन यसमा, त्यसकारण यो निर्णय मैले गर्दा मेरो पद गए भोलि जाओस्, मेरो पार्टीले दश भोट काम भोलि मत पाए पाओस्, मेरो पार्टी भोलि एकचोटि सत्तामा नआाए पनि फरक पर्दैन तर मैले राष्ट्रको लागि गरेको छु भन्ने कुरा त्यो ईमान्दारीता, विवेक, निष्ठाको कुरा राखेको हो । निष्ठा कस्तो चाहियो भने अहिले देशप्रतिको निष्ठा चाहियो । त्यसकारणले त्यो निष्ठालाई मनमा राखेर निर्णय गरियो भने त्यो विवेक प्रयोग गर्न सक्नुहुन्छ उहाँले । होइन त्यो भएन र त्यहाँ पार्टीभित्रको समीकरण मिलाउँछु, यो व्यक्ति, समुहलाई खुशी पार्छु भनेर जानुभयो भने त्यो एउटा कार्यकाल, समय जान्छ । नतिजा आउँन सक्दैन ।

त्यसोभए ठ्याक्कै एक शब्दमा बताउनुहोस्, देशको अर्थतन्त्रलाई सुधार्नको लागि आजको दिनमा उहाँले गर्नुपर्ने काम के हो त ? ईमान्दारीता हो ?

ईमान्दारीता, विवेक÷विज्ञता, मैले अघि भनेको कुरा आठओटा कुरा चाहिहाल्यो । यी कुराभित्र रहेर एउटा कुरा के ख्याल राख्नुपर्छ भने अर्थमन्त्री हुने व्यक्तिले बुझ्नुपर्ने कुरा के हो भने जनतालाई खर्च दिँदाखेरि आवश्यकताको आधारमा दिने । अनि जहाँ लिँदाखेरि जनताको क्षमता के छ ? व्यक्तिको क्षमता के छ ? राष्ट्रको त्यो दिने क्षमता कति छ ? संस्था छ भने त्यसले सरकारलाई दिने क्षमता कति छ ? दिँदाखेरि आवश्यकताका आधारमा, लिँदाखेरि क्षमताको आधारमा लिने सूत्रलाई मनमा ख्याल राख्नुपर्दछ । अब गर्नुपर्ने कुरा भनेको त अहिले कोभिड–१९ को कारणले गर्दा हाम्रा ७० प्रतिशत आर्थिक क्रियाकलापहरू ठप्प छन् । अहिले दशैँ चाड आएको छ । यो बेलामा अर्थतन्त्र एकदम चलायमान हुने बेला हो । तर, अहिले अर्थतन्त्र एकतिहाई मात्रै ३० देखि ४० प्रतिशत मात्रै साविकको हिसाबले चल्ने अवस्था छ । यो अवस्थामा अहिलेको अवस्थाको अर्थतन्त्रको समग्र क्षेत्रगत मूल्याकंन गर्ने, क्षेत्रमा पर्ने पर्यटन, कृषि, उद्योग, हवाई, राष्ट्रिय गौरवका आयोजना निर्माण, व्यवसाय क्षेत्रको काममा कति असर परेको छ ? यसले नोक्सानी कति भयो ? रोजगारी कति गुम्यो ? त्यसले राजस्वमा कति नोक्सानी पु¥यायो ? मान्छेको आम्दानीमा कति प्रभाव पर्ने भयो ? कति मान्छे गरिबीको रेखामुनि तल जाने भए ? भन्ने कुराको आँकलन गरेर सबैभन्दा पहिला उहाँले एउटा श्वेतपत्र ल्याउनुपर्छ । त्यो मूल्याकंन गर्ने आयोगको शोधपत्रको आधारमा तीन वर्ष अथवा चार वर्षको एउटा रणनीति बनाउनुपर्छ । त्यो श्वेतपत्रले के देखाउँछ भन्ने कुरा अहिलेको चुनौती, सम्भावना, स्रोतको अवस्थाहरू के–के छन् ? नोक्सान कति भयो ? अब जाँदाखेरि कुन बाटो जाने ? भन्ने कुराको संकेत गर्दछ । त्यसको आधारमा एउटा प्रारूप तयार पारेर जानुपर्छ । हिजो बनाएका राष्ट्रियस्तरका आर्थिक नीतिहरू छन् । आवधिक योजनाहरू छन् । तिनीहरूलाई पुनर्मूल्याकंन गर्नुपर्छ । अहिलेको बजेटलाई पनि पुनर्मूल्याकंन गरेर आवश्यक प¥यो भने बजेटलाई पनि संशोधन गरेर पूरक बजेट ल्याउने हो कि अथवा अन्य ढंगले जानुपर्छ ? त्यो ढंगले जान पहिला उहाँले आफ्नो अगाडि बढ्ने खाका तयार गर्नुपर्छ । अहिले भएकै कुरामा अलिकति टालटुल गर्दै हिँड्छु भन्नुभयो भने उहाँ असफल हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्