Logo

कन्टेनर रोकिएपछि अन्योलमा सोलार आयोजना



काठमाडौं, असोज ३० । पावर केबलसहितको सामग्री लिएर चीनबाट आएका ११ ओटा कन्टेनर केरुङ नाकामा रोकिँदा नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाको थप विद्युत् उत्पादन अन्योलमा परेको छ ।

समयमा नै पावर केबल आएको भए ग्रीडमा आबद्ध उक्त आयोजनाबाट गत जेठमा १० मेगावाट विद्युत् उत्पादन हुने थियो । तर, ५ महीनादेखि ती सामान केरुङ नाकामा रोकिँदा उक्त आयोजना अभैm अन्योलमा परेको हो ।

१० मेवा विद्युत् उत्पादन गर्न प्लान्टका अन्य काम भने लगभग पूरा भइसकेको छ । अब पावर केबल लिएर जडानको काम गर्न सकिए थप १० मेवा विद्युत् उत्पादन गर्न सकिन्छ । तर, पावर केबल नभएपछि त्यो हुन सकेको छैन ।

गत चैतभित्र नै सामान आउने गरी चीनबाट सामान मगाइएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न गतवर्षको अन्त्यतिरबाट नाका बन्द गरिएपछि पावर केबलसहित सबस्टेशनका इलेक्ट्रोनिक सामानहरू लिएर आएका कन्टेनर चीनतिरै रोकिएका छन् ।

हाल नाका खुला गरिए पनि त्यो सामान ल्याउन व्यावहारिक रूपमा कठिनाइ भएको छ । ती कन्टेनरहरू ठ्याक्कै सीमा नाकामा नभएर नाकादेखि २४ किलोमीटर भित्र (चीनतर्फ) रहेका छन् । ती सामान लिन नेपाली कन्टेनरहरू त्यही जानुपर्ने हुन्छ । तर, कोरोनाको बहानामा चिनियाँ पक्षले नेपाली कन्टेरलाई त्यहाँ प्रवेश गर्न नदिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्