‘बूढीगण्डकीबारे आएको अभिव्यक्ति निराधार’


काठमाडौं, कात्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका सम्बन्धमा आएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका छन्। उनले निर्णय नै निश्चित भइनसकेको आयोजनाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिई समाजमा भ्रम फैलाउने कार्य गलत भएको स्पष्ट पारे ।

शुक्रबार ६५औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कार्यारम्भ सुरु नभएको, हुने नहुने निर्णय निश्चित हुन नसकेको आयोजनाका विषयमा गैरजिम्मेवार अभिव्यक्ति आउनु समाजमा भ्रम फैलाउने कुचेष्टा भएको बताए ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र अन्य दुई जना पूर्वप्रधानमन्त्रीको नाम उल्लेख गरी बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपियाँ बाँडेर खाएको आरोप लगाइएको अभिव्यक्ति दिएका थिए ।

आफू लगायत केही पूर्वप्रधानमन्त्रीलाई जोडेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले डा भट्टराईको नाम नै नलिई भने, ‘‘केही गैरजिम्मेवार तत्वहरू के के भन्दै हिँडेको सुन्दै छु, यो समाजलाई गलत बाटोतर्फ लैजाने कुचेष्टा हो ।’’ गोरखापत्र दैनिकबाट