Logo

‘शक्तिपीठहरूको दर्शन गर्नुपर्छ, तर भीडभाड गर्नुहुँदैन्’ : प्रा.डा. गौतम



नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले दशैंको बेलामा देवीदेवताको पूजा गर्नुपर्ने तर सरकारले भनेको मापदण्ड पालना गरेर गर्न आग्रह गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रा.डा. गौतमले भने,‘अब देवीको पूजा त गर्नुपर्ने हुन्छ । हाम्रा शास्त्रकारहरूले पहिला आत्माको रक्षा गर अनिमात्र धर्मकर्म, देवताको शक्तिपीठमा जाने काम गर । त्यसो भएको हुनाले अहिले सरकारले पनि जुन मापदण्ड कायम गरिरहेको छ, भौतिक दूरी भनेर भनेको छ, त्यो गरेर देवीको दर्शन गर्नुपर्ने हुन्छ । घरमा पनि पूजा गर्नुपर्ने हुन्छ । तर यस्तो भीडभाड गरेर धेरै भीडभाडमा जाने ती कुराहरू त गर्नुभएन ।’ गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

आज घटस्थापना ! यसको महत्व, प्रभाव र किन, के का लागि नेपालीहरूले घटस्थापना गर्ने ? नवदुर्गा भवानीको आज कसरी पूरा गर्ने ?

आज आश्विन शुक्ल प्रतिपदा हो । यो दुर्गापक्ष सुरु भयो । जगत जननी भगवती दुर्गा माताको पूजा, उपासना, स्तुति गर्ने दिन हो आज । आज हामीले भगवती दुर्गा मातालाई घरमा बोलाएर ल्याउने हो । आमन्त्रण गर्ने हो र घरमा राख्ने हो । यो किन त भन्दाखेरिमा यो आशुरी शक्तिको विनास र दैवी शक्तिको उत्थानको लागि र सारा लोकको रक्षा, सुखशान्ति दिनको लागि देवीलाई बोलाएर हामीले घरघरमा उपासना गर्ने हो । त्यसो भएको हुनाले अब यो के गरी गर्ने भन्ने हुनाले घरमा घटस्थापना गरेर देवीको पूजा गर्नुपर्ने हुन्छ । कसरी गर्ने ? के गरी गर्ने ? भन्ने जुन यहाँको प्रश्न छ, जगत जननी दुर्गा माता भनेपछि सबैकी हुन् । यो पर्व मनाउने कुरामा कुनै वर्ण, जातीको मात्रै होइन, यो मानव मात्रको पर्व हो यो ।

तर हिन्दुहरूले मात्रै बढी मनाउँछन्, दशैँ भन्नेहरू पनि छन् नि फेरि ?

होइन, त्यो कसले के भन्छ तर हाम्रो शास्त्रले के भन्छ भन्ने मात्रै कुरा हो मेरो । त्यसो हुनाले शास्त्रकारहरूले यो जस्तो सूर्य, चन्द्र सबैका हुन् नि । सूर्य, चन्द्रले कसैलाई पक्षपात गर्र्दैनन् । त्यस्तै भगवती दुर्गा माताले पनि कसैलाई पक्षपात गर्दिनन्, सबैको रक्षा गर्छिन् । सबैको उन्नति, प्रगति गर्छिन् । सबैलाई सुख–शान्ति दिने भएकी हुनाले उनको विधिपूर्वक आजदेखि घटस्थापना भनेको घडा हो, त्यो स्थापना गरेर देवीको उपासना गर्नुपर्ने हुन्छ । यो जिन्दगी सुखमय, शान्तिमय, आन्दमय होस् र पारलौकिक शक्ति पनि प्राप्त होस् भन्ने उद्देश्यले देवीको पूजा गर्नुपरेको हो ।

देवीको पूजा गर्नुपर्छ, दशैँलाई साझा चाड बनाउनको लागि हामी सबै लाग्नुपर्छ । सबै नेपालीले यो चाड मनाउनुपर्छ भन्ने तपाईँको कुरा आयो!

हजुर । सबैको हो यो । सबैले देवीको उपासना गरेर आफ्नो मनले चिताएको कुरा गर भन्ने शास्त्रको उद्घोष हो ।

त्यसो भए आज घटस्थापनाको दिन ! घरमा कसरी जमारा राख्ने त ?

एउटा शुद्ध ठाउँ चाहियो । पूजाकोठा चाहियो । पूजाकोठामा सफासुग्घर गरेर त्यहाँ दियोकलश स्थापना गर्नुपर्ने हुन्छ । त्यहाँ कलशको पदस्थापना गर्नुपर्ने हुन्छ । यो शुद्ध समय पनि हामीले दिएका छौँ आज ११ः४६ को समय शुद्ध, शुभ छ । यो समयमा घटस्थापना गरेर महाकाली, महालक्ष्मी, महासरस्वती र भगवती दुर्गा माताको पूजा, उपासना, बन्दना गर्ने हो र त्यहीनेर जमारा पनि राख्नुपर्ने हुन्छ । जमरा भनेको जौको टुसा हो । जौ रोप्ने हो । जौ किन रोप्ने त ? भन्दाखेरिमा जौको जुन अंकुर टुसा हुन्छ नि, जौको टुसा देवीको असाध्यै प्रिय पुष्प हो । यसले के गर्छ त भन्दा दुर्जनहरूको नाश गरेर सज्जनको रक्षा गर्नका लागि देवीलाई यसले शक्तिशाली बनाउँछ यो अकुंर, जौको टुसाले । देवीलाई शक्तिशाली, स्वस्थ बनाउने भयो । किनभने देवी त शक्तिशाली चाहिएको छ नि त, सबै दुर्जनहरूको नाश गरेर सज्जनहरूको रक्षा गर्नको लागि, लोकको उन्नति, प्रगति गर्नको लागि, लोकलाई सुखशान्ति प्रदान गर्नका लागि देवी शक्तिशाली बनाउनुपरेको छ । त्यसोभएको हुनाले यो जौको अंकुर ज्यादै देवीलाई शक्तिशाली, स्वस्थ बनाउने वस्तु हो । त्यसो हुनाले यो जौ देवीको पूजा गरेको ठाउँमा माटो, बालुवा त्यसमा रोप्नुपर्ने हुन्छ र जौ उमार्नुपर्ने हुन्छ । त्यही जौको टुसा हामीले दश दिनसम्म पूजा गर्दै गर्र्दै गएपछि प्रसादको रूपमा हामीले पनि ग्रहण गर्नुपर्ने हुन्छ । त्यसले हामीलाई पनि स्वास्थ्यलाभ गर्छ । त्यसले हामीलाई पनि स्वस्थ बनाउँछ र स्ुखशान्ति प्रदान गर्छ भन्ने उद्देश्यले जौ रोप्नुपरेको हो, जमरा राख्नुपरेको हो ।

यसपटकको दशैँ परिवारभित्रै सीमित राखौँ भनेर सरकारको आग्रह र अनुरोध छ । तपाईँ के भन्नुहुन्छ ? मठ÷मन्दिरमा जाने, आज पूजा गर्न जानेहरूलाई के भन्नुहुन्छ ?

अब देवीको पूजा त गर्नुपर्ने हुन्छ । हाम्रा शास्त्रकारहरूले पहिला आत्माको रक्षा गर अनिमात्र धर्मकर्म, देवताको शक्तिपीठमा जाने काम गर । त्यसो भएको हुनाले अहिले सरकारले पनि जुन मापदण्ड कायम गरिरहेको छ, भौतिक दूरी भनेर भनेको छ, त्यो गरेर देवीको दर्शन गर्नुपर्ने हुन्छ । घरमा पनि पूजा गर्नुपर्ने हुन्छ । तर यस्तो भीडभाड गरेर धेरै भीडभाडमा जाने ती कुराहरू त गर्नुभएन । किनभने आफ्नो रक्षाको लागि हो । यो विपत्ति तीन किसिमको हुन्छ । अहिले जुन कोरोना विपत्ति भनिरहनुभएको छ, तीन किसिमको आदिआत्मिक, आदिदैवीक, आदिभौतिक विपत्तिमा आदिदैवीक भनेको विपत्ति भनेको देवताबाट हुने विपत्ति जस्तो भूकम्प, बाढीपहिरो, असिनापानी, हावाहुरी ईत्यादि यो आदिदैवीक विपत्ति हो भने आदिभौतिक विपत्ति छ अर्को फेरि हाम्रो जीवनमा आईपर्ने आदिभौतिक भनेको युद्ध, हाततियार ईत्यादिबाट आईलाग्ने विपत्ति, यसलाई आदिभौतिक विपत्ति भनिन्छ । अब यो विपत्ति आदिआत्मिक विपत्ति हो, आफै–आफैमा निस्कने । त्यसोभएर आफैमा आउने भएको हुनाले यसलाई हामीले बडो होशियारका साथ शरीर, आत्माको रक्षा गर्ने काम गरेर अनि मात्र देवताहरूको पूजा, आजा, उपासना, बन्दना गर्नुपर्ने हुन्छ । देवता भनेको दुर्गा भगवती जगत जननी संसारकी आमा हुन् । त्या भएको हुनाले उनलाई विधिपूर्वक पूजा गर्नुपर्ने हुन्छ । हाम्रो ऋषिमुनिहरूले शास्त्र त्यस्तो बनाएर गएका छन् । आदिआत्मिक विपत्ति बेलाबेलामा, समयसमयमा आईरहन्छ । यो हाम्रै कारणले आएको हो ।

होइन मठ/मन्दिरमा गएर पूजा गर्ने कि नगर्ने ? भीडभाड गर्ने कि नगर्ने ?

भीडभाड त गर्नै भएन । भीडभाड गर्ने कुरालाई यो त अब सम्बद्ध निकायले रोकथाम गर्नुपर्ने हुन्छ । तर दर्शन गर्न त रोक्नुभएन नि । देवीको दर्शन गर्ने, देवीबाट आशिर्वाद लिने, जगतजननी दुर्गा माताबाट ।

देवीको दर्शन गर्न मन्दिरमा जानुपर्छ फेरि । कसरी जाने त ?

कसैलाई नछोईकन जाने । त्यहाँ यसो हेर्ने कत्तिको भीडभाड छ ? भीडभाड भए नजाने ।

सरकारले त भनिसक्यो नि मठ/मन्दिरमा जान दिनुहुँदैन भनेर । देवीको पूजा घरमा नै गर्ने भनेर !

होइन, घरमा गर्ने त छँदैछ । घरमा पनि गर्ने हो, यी मठ/मन्दिर हाम्रो स्थापित छन्, यीनले पनि त हाम्रो रक्षा गरेका छन् लोकको । पशुपतिनाथले रक्षा गरेका छन् । हाम्रो यता शोभाभगवती, भद्रकाली, मैतिदेवी यी सारा शक्तिपीठहरू छन्, यी शक्तिपीठहरूको पनि दर्शन गर्नू, यसो समय मिलाएर, नौ दिनमा एउटा समय बिहानदेखि बेलुकासम्म कुन बेलामा भीडभाड हुँदैन ? भीडभाडलाई रोक्ने काम सरकारको हो । सरकारले त्यो काम गर्नुपर्ने हुन्छ । अब दूरी कायम गरेर दर्शन गराउनुपर्ने हुन्छ । देवीबाट सबैले आशिर्वाद लिनुपर्ने हुन्छ । देवीको उपासनाबाटै यो रोग शान्त हुनसक्छ भन्ने हाम्रो शास्त्रकारहरूको धारणा हो ।



प्रतिक्रिया दिनुहोस्