Logo

ओली–दाहाल सम्बन्ध चिसियो, बालुवाटार बोलाउँदा दाहालले आउँदिन भन्दिए



काठमाडौं, १ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध फेरि चिसिएको छ । नेकपाको कर्णाली प्रदेशको विवादको असर केन्द्रमा समेत परेको छ । कर्णाली प्रदेशमा ओली पक्षधर सांसदहरुले दाहालनिकट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको विषय र ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद हेरफेर गरेकोमा दाहाल रुष्ट बनेका छन् ।

पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै ओलीले एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि दाहाल र वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालपनि रुष्ट छन् । कर्णालीको विवाद मिलाउनको लागि अध्यक्षद्धय ओली र दाहालले पदाधिकारीहरुलाई काठमाडौं बोलाएका छन् । उनीहरु काठमाडौं आएको तीन दिन भैसक्यो । तर, अहिलेसम्म अध्यक्षद्धयको उपस्थितिमा छलफल हुन सकेको छैन् ।

दाहालले दुवै पक्षसँग बेग्लाबेग्लै छलफल गरिसकेका छन् भने ओलीले आफू पक्षधर नेताहरुसँगमात्रै छलफल गरेका छन् । आजमात्रै प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका यमलाल कँडेललाई बालुवाटार बोलाएका छन् । उक्त छलफलको लागि ओलीले अर्का अध्यक्ष दाहाललाई पनि बोलाएका थिए । तर, दाहालले तपाईँ आफैं छलफल गर्नुहोस भनेर आफू आउन नसक्ने जानकारी गराएको खुमलटार स्रोतले जनायो । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्