Logo

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती



गलेश्वर, १ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ ।

केही दिनअघि जडीबुटीविज्ञ चन्द्रमणि सापकोटाको नेतृत्वमा आएको अध्ययन तथा निरीक्षण टोलीले गाउँपालिकाका सबैजसो क्षेत्रमा कुनै न कुनै जातको जडीबुटी खेती गर्न सकिने सुझाव दिएपछि त्यहाँका बाँझिएको जमीनमा एकिकृत जडीबुटी खेती गर्न लागिएको हो ।

“जडीबुटीको व्यावसायिक खेतीमार्फत समाजको गरीबी र बेरोजगारी हटाउन सकिन्छ”, विज्ञ सापकोटाले भने, “त्यहाँको सबैजसो ठाउँमा कुनै न कुनै जातको जडीबुटी खेतीको सम्भावना छ, गाउँपालिकाले नै यसमा चासो देखाएपछि अहिले स्थानीयवासी पनि उत्साहित भएको छ ।” उनका अनुसार एकीकृत जडीबुटी खेतीको माध्यमले ग्रामीण अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्ने छ । गाउँपालिका क्षेत्रमा टिमूर, सिल्टिमूर, सतुवा, विष, बिखमा, निर्बिसीजस्ता विभिन्न जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिने उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जडीबुटीको व्यावसायिक उत्पादनमार्फत ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने सकिने भन्दै यसका लागि गाउँपालिकाले विशेष योजना तथा कार्यक्रम ल्याउने गृहकार्यमा लागेको बताए । “जडीबुटीको व्यावसायिक खेतीबाट युवालाई गाउँघरमै रोजगारी उपलब्ध गराउन खोजेको छु”, उनले भने, “ गाउँपालिकाले एकीकृत जडीबुटी खेती कार्यक्रम सबै क्षेत्रमा विस्तार गर्दै लगिनेछ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्