Logo

भारत-चीन टकराव बढ्दै जाँदा नेपालसम्म तरंगः कम्युनिस्टमाथि ‘चीनपरस्त’ र काँग्रेसमाथि ‘भारतपरस्त’ को आरोप



काठमाडौं, १ कात्तिक । कुनै समय थियो नेपालका कम्युनिस्ट पार्टीका नेताहरु नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाउँथे । पार्टीको कार्यनीति देखि चुनावी घोषणापत्रमा पनि यस्तै आरोप लगाउँथे । तर, यसपटक चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्दै आएको ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाएको छ ।

कतिपय भारतीय मिडियाले भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई चीनपरस्तको आरोप लगाउँदै आएका छन् । भारतको प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डिया र हिन्दुस्तान टाइम्सले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भारतको स्वार्थ विपरितको कार्य गरेको आरोपसहित खबरहरु लेखेका थिए । उनलाई चीनतर्फ ढल्केकोसहितको विश्लेषणहरु भारतीय मिडियामा निरन्तर आइरहेको छ । भारतको सत्तापक्षसँग नजिक एकजना पूर्व सैनिक जनरल गगनदीप बक्सीले तत्कालिन माओवादीलाई सहयोग गर्नु भारतको लागि आत्मघाती कदम भएको र त्यसको फल भोगिरहेको विश्लेषण समेत गरे ।

यसरी कुनैबेला एक अर्कालाई भारतपरस्त र चीनपरस्त भन्दै नेपालका राजनीतिक दलका नेताहरु एक अर्काविरुद्ध खनिने गरेकोमा यसपटक भारत र चीनका प्रतिष्ठित मिडिया नै खनिन थालेका छन् ।

भारतको मिडियाले ओली सरकारलाई चीनपरस्तको आरोप लगाइरहँदा चीनको मिडियाले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप लगाएको छ । यो आरोप हुम्लामा चीनले नेपाली भूमी अतिक्रमण गरी गाउँ नै निर्माण गरिरहेको विषय बाहिर आएपछि काँग्रेसले त्यसबारे आवाज उठाएपछिको प्रतिक्रिया हो । काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आजै सरकारले आफ्नै भूमि अतिक्रमण हुँदा पनि बोल्न नसकेको भन्दै आलोचना गरेका छन् ।

कालापानी मिचिएको हुम्ला नमिचिएको जवाफ
सरकारले कालापानीमा नेपाली भूमि भारतबाट अतिक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको थियो । पछि कालापानीसहितको भूमि समावेश गरी नयाँ नक्शा समेत जारी गर्यो । त्यसमा नेपाली काँग्रेस मात्र नभई मधेश केन्द्रित दलहरु पनि पक्षमा उभिए । नयाँ नक्शासहितको देशको प्रतिक चिन्ह संविधान संशोधन गरी पारित भयो ।

लगत्तै चीनतर्फ सीमा अतिक्रमण भएको विषय बाहिर आयो । हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय मिडियामा जोडतोडले आइरह्यो । उक्त गाउँपालिकाका अध्यक्ष समेतले सीमा अतिक्रमण भएको बोले । तर, सरकारले आधिकारिक रुपमा विज्ञप्ति जारी गरी चीनसँग सीमा समस्या नभएको प्रतिक्रिया दियो । हराएको भनिएको चीनतर्फको १२ नम्बरको सीमा स्तम्भ देखाउँदै तस्वीर सार्वजनिक भए । तर, नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही स्थगलत अनुगमन र अध्ययन गरी चुनौतीका साथ सीमा अतिक्रमण भएको भन्दै सार्वजनिक रुपमा प्रस्तुत भए । काँग्रेस पनि यसबारे बोल्दै सरकारलाई दबाब दिन थाल्यो ।

कालापानी अतिक्रमण भएको भन्ने सरकारले हुम्लामा सीमा मिचेकोमा उल्टै चीनको बचाऊ गरको भन्दै आलोचनाहरु भए । तर, सरकार आफ्नो पुरानो धारणामा अडियो ।

भारतको मिडियाले चीनविरोधी सामाग्री पस्किरहे । ओली सरकारलाई तारो बनाउँदै चीनसँग जोडिरहे । भारतीय मिडियाको चर्को आलोचना भयो ।

अहिले चीनको मिडियाले काँग्रेसमाथि प्रो-इन्डिया शक्ति भनी गम्भीर आरोप लगाएको छ । यसले कुटनीतिक वृत्तमा समेत तरंग ल्याएको छ । यो घटनाले नेपाली राजनीतिमा भारत र चीनको खुलेआम प्रतिष्पर्धा देखिन थालेको छ । मिडिया युद्ध शुरु भएको देखिन्छ । अब पार्टीका नेताहरुले होइन छिमेकीका जिम्मेवार मिडियाले नै नेपालका राजनीतिक दलहरुलाई एक अर्को देशसँग झुकाव राख्ने र प्रो इन्डिया र प्रो चाइनाको आरोप लगाउन थालेका छन् । यो आफैमा गम्भीर विषय हो ।

अबको परिणाम


वास्तवमा अहिले चीन र भारत सीमा विवादमा छन् । यसमा नेपाल पनि जानी नजानी मुछिएको छ । चीनले उत्तरतर्फ सैन्य उपस्थिति बढाइरहेको छ । भारतले पनि बढाइरहेको छ । दुवै देशबीच टकराव बढ्दा क्षेत्रीय राजनीतिमा समेत प्रभाव बढेको छ । नेपालमा पनि दुवैले एक अर्काको प्रभाव बढाउन सक्रियता बढाएका छन् । वास्तवमा नेपालमा अब राजनीतिक शक्तिको आवरणमा भारत र चीनबीच द्वन्द्व चर्कने खतरा बढ्दै गएको छ । यसले नेपालको राजनीतिमा धेरै तरंगहरु ल्याउने संकेतहरु देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्