Logo

काठमाडौंमा रोकिए कर्णालीका नेता



काठमाडौंर सुर्खेत, कार्तिक २ । कर्णाली प्रदेशको सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि मुख्यमन्त्रीसहित मुख्य नेताहरू काठमाडौंमा छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि पार्टीको निर्णय पर्खिन उनीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार कर्णालीका नेतालाई बालुवाटारमा बोलाएर केही दिनभित्रै पार्टीले विवाद टुंगो लगाउने र त्यसलाई मान्नुपर्ने बताएका हुन्।

नेकपाका १८ जना प्रदेश सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद चर्किएको थियो। त्यसपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले त्यहाँका मुख्य नेताहरूलाई काठमाडौं झिकाएका थिए। ओलीले मुख्यमन्त्री शाही अल्पमतमा नपरेको भन्दै पार्टी केन्द्रको निर्णय पर्खिन निर्देशन दिएको छलफलमा सहभागी एक नेताले बताए। ‘मुख्यमन्त्री अल्पमतमा पर्नुभएको छैन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘त्यस विषयमा हामी दुई अध्यक्ष छलफलमा बस्छौं। पार्टीले जे निर्णय गर्छ, सबैले मान्नुहोला।’

प्रधानमन्त्रीले शनिबार मुख्यमन्त्री शाहीसहित अविश्वास प्रस्तावका नेतृत्वकर्ता एवं पार्टीका कर्णाली सहइन्चार्ज यामलाल कँडेल, नेकपा कर्णाली अध्यक्ष गोरखबहादुर बोगटी, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद गुलाबजंग शाहलगायत नेतासँग छलफल गरेका थिए। ‘हामीले अविश्वासको प्रस्ताव दर्ता गर्नुको कारणबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं’, सहइन्चार्ज कँडेलले भने, ‘दुवै पक्षले राखेका विषय प्रधानमन्त्रीले गम्भीर भएर सुन्नुभयो। प्रधानमन्त्रीबाट पार्टीले छलफल गरेर विवाद टुंगो लगाउने जानकारी भएको छ। निर्णय नहुँदासम्म हामीलाई काठमाडौं नछोड्न उहाँको निर्देशन छ।’

मुख्यमन्त्री शाहीले भने आफूविरुद्धको प्रस्तावबारे प्रधानमन्त्रीसमक्ष केही बोलेनन्। बरु सरकारले गरेका कामबारे जानकारी गराउँदै मुख्यमन्त्रीले अब पार्टीले गर्ने निर्णय नै मान्न तयार रहेको बताएका थिए। असन्तुष्ट पक्षले प्रदेश सरकारका कमजोरीबारे र मुख्यमन्त्रीले सरकारले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्माले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्