Logo

‘मैले सुनें अब तपाईं सुन्नुहोस्’



काठमाडौं, कार्तिक २ । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो ।

कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बन्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

कर्णाली प्रदेशको विवादले पार्टीभित्र आन्तरिक उत्कर्षमा पुगेपछि समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार दुई दिन कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका नेताहरुले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् ।

कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई शनिबार बालुवाटार बोलाए पनि प्रचण्डले भने संयुक्तरुपमा भेट्न अस्वीकार गरेको आजको
नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्