Logo

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन



काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

रिपोर्टर्स नेपालले विश्वस्त स्रोतबाट जानकारी पाए अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो । सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ ।

प्रचण्ड र नेपालले आन्तरिक सहमति बनाएर वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुवै नेता ओलीप्रति असन्तुष्ट बन्दै आएका छन् । ओलीविरुद्ध गौतम आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ ।

गौतमले मन्त्रिमण्डल पुर्नगठन लगत्तै आफूलाई सरकारमा नलगिने निश्चित भएपछि २०७७ भित्रै केपी शर्मा ओलीलाई बालुवाटारबाट प्रधानमन्त्रीका रुपमा रहन नदिने निकटस्थसँग बताएको स्रोतले बतायो । मलाई पटक पटक धोका दिने अब म ओलीलाई प्रधानमन्त्री रहन दिन्न भन्दै गौतम ओलीइतरका नेताहरुमाझ कुर्लिएका थिए ।

यसअघि गौतमकै सहयोगमा ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । माधव नेपालले उक्त घटनालगत्तै गौतमसँग असन्तुष्टि पोख्दै आएका छन् । उनले पाँच सचिवालय सदस्यको आन्तरिक बैठकमा पनि वामदेव गौतमले छ बुँदेले ओलीको सत्ता जोगिएको बताएका थिए ।

ओलीलाई हटाउन सक्लान् ?
प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव र नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका छन् । यो सचिवालयको कुल सदस्यको बहुमत हो । ओलीले आफूसहित चारजना सचिवालयमा आफ्नो पक्षमा पारेका छन् । जसमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । सबै चारजना सरकारमा सहभागी छन् ।

सचिवालयमा ओली अल्पमतमा देखिन्छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा छन् । तर, पार्टी निर्णयले ओली सरकारबाट हट्नुपर्ने वाध्यात्मक अवस्था छैन । उनलाई हटाउन सक्ने संसदीय दलले मात्र हो ।

ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत दाबी गर्दै आएको छ । त्यसै कारण पनि ओलीलाई हटाउने दुईपटकको प्रयास प्रचण्ड र माधव नेपाल समूहबाट सफल भएन । उनीहरु ब्याक भए ।

ओलीले पार्टी फुटाउन सक्ने चर्चाले पनि नेताहरु हच्किए । वामदेव गौतमले पार्टी फुट्न नदिने भन्दै छ बुँदै ल्याए । उनले सरकारमा जाने आशामा सहमति गरेको विषय उठ्यो । प्रचण्डले पनि ओलीसँग सहमति गरे । तर, सरकार सञ्चालनमा प्रचण्ड निरिह जस्तै भए । मन्त्रिमण्डल पुर्नगठनमा उनको कुनै जोर चलेन । राजदूत नियुक्तिमा पनि प्रचण्ड हेरेको हेरै भए । यसकारण उनी आँधी अघिको सन्नाटा जस्तै भएका छन् । उनको निरिहतालाई कतिपयले कुनै ठुलो कदम चाल्ने तयारीका रुपमा बुझेका छन् ।

माधव नेपाल कुनै महत्वपूर्ण कदम चाल्दा सुनामी नै ल्याउँछु भन्छन् । यसपटक उनी सुनामी नै ल्याउने डिजाइनमा बढेका छन् । यसले अबको एक महिनाभित्र कुनै महत्वपूर्ण राजनीतिक घटना विकास हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्