Logo

‘सन्तुष्टि कुनै पनि कर्मको अन्तिम विन्दु हुन सक्छ’ : थापा



घनबहादुर थापा 

पिता/माता : स्व. केहरसिंह थापा/बाटुली थापा
जन्मस्थान : अर्जुनचौपारी गाउँपालिका–२, स्याङ्जा
अध्ययन : एमए (समाजशास्त्र) र बी.कम
प्रथम प्रकाशित रचना : ‘जीवन’ शीर्षकको कविता (साप्ताहिक जनसत्ता, वि.संं २०५५ माघ २ गते)
प्रकाशित कृति : पच्चीस पाइला (कथासङ्ग्रह २०६५), मौन आक्रोश (कवितासङ्ग्रह २०७३), सुवासको सपना (बालकथासङ्ग्रह २०७४)
प्रकाशनोन्मुख कृति : बालकथासङ्ग्रह, नियात्रासङ्ग्रह

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

मेरो साहित्यलेखन तीन दशकअघि सुुरु भएको हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

विक्रम सम्वत् २०४४ मा एसएलसी परीक्षा दिएर बसेको थिएँ । त्यतिबेला परीक्षाफल ढिलो प्रकाशन हुन्थ्यो । त्यो फुर्सदको मौकामा भारतको राजधानी नयाँदिल्ली घुम्न जाने विचार गरें र गएँ । त्यहाँका घरैघर, सहरबजार, गाडीको ताँती, धूलोधूवाँ देखेर निकै विरक्त लागेर आयो । पहिलोपटक घर छोडेको भएर होला– शायद आफ्नो गाउँघरको हरियाली, डाँडाकाँडा, स्वच्छ वातावरण निकै सम्झें । मातृभूमिप्रतिको त्यही गाढा सम्झनाबाट प्रभावित भएर कविता लेख्न सुरु गरें । त्यहींबाट नै मेरो साहित्य लेखन सुरुवात भएको हो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

समय–सीमा, पृथक् जिम्मेवारी र विविध परिवेशका कारण तीव्र इच्छा हुँदा हुँदै पनि लेखन गतिविधि कछुवाको गतिमै छ भन्नुपर्छ । मनमा उर्लेका भावलहरलाई जबरजस्ती बाँध बाँधेर थुन्नुपरेको छ । तैपनि जहाँ इच्छा तहाँ उपाय भनेझैं निराशै हुनुपर्ने गरी ठप्प हुने अवस्थाबाट भने जोगिन सकेको छु ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्टि कुनै पनि कर्मको अन्तिम विन्दु हुन सक्छ अर्थात् सन्तुष्टिले प्रगति रोक्न सक्छ भन्नेतर्फ म सचेत छु । रहरमा सीमित लेखन कार्यको कारण ढिलो गतिको हुँदा हुँदै पनि असन्तुष्ट भने छैन । कोरोना कहरले प्राप्त अधिक समयको कारण लेखकहरूको सिर्जनात्मक कार्यले थप सक्रियता पाएको सुन्न पाउँदा खुसी लागेको छ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

बालकथा, कथा, कविता, नियात्रा आदि फुटकर रचना लेख्ने काममात्र भएको छ । फुटकर रचनालाई पुस्ताकारका लागि कुनै प्रकाशकबाट उचित आग्रह आएमा कृति प्रकाशनका लागि तयार नै रहन्छु । तर आफ्नै सक्रियतामा कृति प्रकाशनको कुनै तयारी भने छैन ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

राज्यकै सम्पत्तिका रूपमा रहने साहित्य र स्रष्टा दुवैको संरक्षणमा राज्यको जिम्मेवारी अपरिहार्य रहन्छ नै । विश्व साहित्यको फराकिलो आकाशमा अब नेपाली साहित्य अझै बढी तीव्रताका साथ फैलिन सक्नुपर्छ, फैलाउनुपर्छ भन्ने जिम्मेवारीबोधका साथ राज्यले स्रष्टालाई साथ र सहयोग गर्नुपर्छ । राज्यले साहित्य र स्रष्टाका हितमा निश्चय पनि हाम्रा नीति नराम्रा छैनन् । राज्यद्वारा अवलम्बित नीतिको उचित कार्यान्वयनतर्फ पनि सबैको थप ध्यान जानु आवश्यक छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

पाठकवर्गको रूची बदलिँदै गएको छ । सोहीअनुसार लेखन पनि परिष्कृत हुँदै फरक ढंगबाट आएको पाइन्छ । सामाजिक सञ्जाल र प्रविधिका कारण साहित्यले फस्टाउने मौका हिजोभन्दा आज बढी पाएको छ । साहित्यमा पाठकको पहुँच अहिले बढी सहज भएको छ । समयानुकूल जिम्मेवारीबोध र नवीन शिल्पको प्रयोगले निरन्तरता पाएको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

साहित्य समाजको दर्पण हुन सक्नुपर्छ । अहिलेको सिर्जनाले शताब्दी पछाडि पनि हालको समाजको ऐना देखाउन सकोस् । हाम्रो परिवेशलाई साहित्यमार्फत विश्वले बुझ्न सकोस् भन्नेतर्फ ध्यान जानुपर्छ । नेपालको परिवेश, भूगोलका कारण साहित्यका लागि विश्वमै नेपाल अब्बल छ । विश्व साहित्यमा ओजनदार उपस्थितिका लागि नेपाली मन र माटो छुने साहित्य लेखन अहिलेको आवश्यकता हो । नारा हैन– समाजको गहिराइमा डुबेर एउटा वास्तविक चित्र पाठकको हातमा पुग्ने वातावरण लेखकले दिन सक्नुपर्छ जस्तो मलाई लाग्छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

जीवन र जगत्ले भोग्नुपरेका हेरक क्रियाकलापले लेखनप्रति प्रेरणा दिन्छन् । असल, सफल र सार्थक जीवनको पथ खोज्ने क्रममा असल पथ लेखन नै हो भन्ने मनभित्र उब्जने एउटा अटल विश्वास नै प्रेरणाको स्रोत हो । सीधै भन्नुपर्दा हाम्रो देशको धर्म, संस्कृति, रहनसहन, परम्परा, भूगोल, जातजाति, परिवेश यति पृथक् र धनी छ कि यसले जोकोहीलाई पनि लेखनप्रति प्रेरणा दिन्छ । सुरुमा नेपाल घुम्न आएका टोनी हागन यहाँको परिवेशले लेखक भए । उनले लेखेका ‘नेपाल ः फोटो अफ काठमाडौं भ्याली’ जस्ता पुस्तक डकुमेन्ट्री विश्व चर्चित छन् । विश्वभरका मानवजातिलाई जोड्ने प्रमुख साँघु नै भाषा र साहित्य हो । यसै मार्फत मानव लक्ष्यमा पुग्न सकिने भएकोले जगत्का प्रत्येक चीजले लेखनलाई प्रेरणा दिइराख्छन् जस्तो मलाई लाग्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

लेखनलाई निश्चित समयको घेराभित्र सीमित राख्नु राम्रो होइन । लेखकका आफ्नै बाध्यताका कारण त्यस्तो हुन सक्छ । व्यक्तिगत समस्याका कारण लेखनमा मेरा लागि रात्रिकाल बढी अनुकूल छ । सार्वजनिक विदाका दिनलाई पनि लेखनमा सदुपयोग गर्ने गरेको छु । कुनै विषयवस्तुले मन छोएको बेला त्यसलाई तुरुन्तै टिपोट गर्ने र समय पाउनासाथ सिर्जनामा रूपान्तरण गर्ने गरेको छु । साहित्यमा एक इँटा थप्न सकिन्छ कि भनेर समय व्यवस्थापनको चुनौती सामना गरी लेखन कार्यमा अघि बढिरहेको छु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

लेखन वातारवरणबारे प्रश्न निकै सोधिन्छन् । बहस पनि भइरहन्छ । लेखक पनि अनुकूल वातावरणको आसमा रूमल्लिन्छ । तर समय धेरै अघि बढिसकेको छ । ‘डिजिटल’को जमानामा आफूअनुकूल वातावरण खोजेर बस्नु श्रेयस्कर होला जस्तो लाग्दैन । अब लेखकले लेख्ने वातावरण खोज्दै हिँड्ने हैन, जे छ– त्यसलाई नै लेखनमैत्री बनाई आफूअनुकूल ढाल्न सक्नुपर्छ ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

स्रष्टाका आ-आफ्नै गुण हुन्छन् । पृथक् गुणकै कारण पाठकले एउटै विषयवस्तुमा फरक साहित्यिक स्वाद लिन पाएका हुन्छन् । समय, भूगोल, परिवेश र वातावरणअनुसार ढल्न सक्ने गुण हरेक स्रष्टामा हुनुपर्छ । सफल हुनका लागि उठान गर्न खोजिएको विषयको गहन अध्ययन तथा अनुसन्धान, निरन्तर साधना र पाठकको मनोभावना बुझ्नु उत्तिकै आवश्यक छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

दुवै नङमासु हुन् । तथापि सजीवता बढी हुनुपर्छ जस्तो मलाई लाग्छ । काल्पनिकतामा आधारित लेखन सतही र क्षणिक प्रभावमा सीमित हुन सक्छ । त्यसैले सजीवता मेरो रोजाइमा पर्छ– जसलाई प्राथमिकता दिए पनि लेखनमा इमानदारी ठूलो कुरा हो ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

कुनै विषयवस्तुले मन छोएको बेला लेख्नुपर्ने बाध्यता ठान्छु । लेखरचना प्रकाशनका लागि अनुरोध आएमा पनि त्यो बाध्यतालाई नकार्न सकेको छैन । अरू अवस्थामा भने बाध्य हुँदिनँ । मेरा प्रायः लेखरचना स्वतःस्फूर्त रूपमा आएका हुन् । सिर्जनशील मनलाई रोक्न नसक्नुका उपज हुन् ।

अन्त्यमा केही भन्न छुटेको भए…

आफ्नो धारणा राख्ने मौका दिनुभयो । तपाईं र यस अनलाइन पत्रिकाका सम्पादकलगायत सम्पूर्ण समूहलाई धन्यवाद !

प्रस्तुति : जयराम सापकोटा



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम