Logo

सेनालाई प्रधानमन्त्री ओलीको सम्बोधन: महामारी र विपदमा सेनाको भूमिका प्रशंसायोग्य



काठमाडौँ, २ कार्तिक : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडइँमा नेपाली सेनाले सरकारलाई सहयोग पुर्याएकोमा प्रशंसा गरेका छन् ।

आइतबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधान सेनापति, रक्षा सचिव, बलाधिकृत एवं निमित्त बलाध्यक्ष, आठवटै पृतनाका पृतनापतिहरु र अन्य रथीबृन्द तथा अधिकृतहरु सामेल उक्त समारोहलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् ।

विदेशबाट फिर्ता हुने नेपालीहरुको व्यवस्थापन, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिवृद्धि गरेको साथै नेपाली सेनाले गरेको कामको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।

‘केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु । यस्तै कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

‘समयमै सेनाले यस कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो । यसैगरी कठीन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा नै दार्चुला जिल्लाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ,’ प्रधानमन्त्रीले उल्लेख गरे । उनले अघि थपेका छन्, ‘सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ । सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालको तीन वर्षको अवधिमा सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताएका छन् । कोरोना महामारीको वर्तमान परिस्थितिमा नेपाली सेनाले लिएको पहलकदमीको प्रशंसा गर्दै ओलीले धन्यवाद ब्यक्त गरे ।

कोभिडविरुद्ध कार्ययोजना बनाइने

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्योल र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्ने कार्ययोजना बनाउन बैठकले दिशानिर्देश गर्ने बताए । बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनले अघि सारेका कार्यक्रम र लक्ष्य प्राप्त गर्ने दिशामा सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको स्पष्ट गरे ।

तीन दिने उक्त बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुति दिनेछन ।



प्रतिक्रिया दिनुहोस्