Logo

तीन गोलको अग्रता जोगाउन नसक्दा टोटनहाम वेस्ट हामसँग बराबरीमा रोकियो



एजेन्सी, ३ कात्तिक । पहिलो हाफमा तीन गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा कोरियाली स्ट्राइकर सन र इंग्ल्यान्डका स्टार कानेको जोडी जम्दा टोनहामले तीन गोलको अग्रता लिएको थियो । तर, दोस्रो हाफमा वेस्ट हामले अन्तिम समयतिर लगातार तीन गोल गरेपछि खेल रोमाञ्चक बनेर टुंगिएको थियो ।

कानेको पासमा सनले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । आठौं मिनेटमा सनले मिलाइदिएको पासमा कानेले टोलीका लागि अग्रतालाई बढाए । उनैले १६ औं मिनेटमा गोल गरेपछि वेस्ट हामका खेलाडी निराश बनेका थिए ।

दोस्रो हाफमा वेस्ट हाम लयमा फर्कियो । ८२ औं मिनेटमा बाल्बुनाले गोल गरे । ८५ औं मिनेटमा सान्चेजले आफ्नै पोष्टमा गोल गरेपछि वेस्ट हाम उत्साही बन्यो । खेलको अन्तिमतिर लान्जिनीले गोल गरी बराबरी गरे ।

गारेथ बेल टोटनहाममा फर्किएपछि पहिलोपटक मैदानमा उत्रिएपनि कुनै जादू गर्न सकेनन् । बरु उनले खेलको अन्तिमतिर पाएको गोल गर्ने अवसर गुमाए ।



प्रतिक्रिया दिनुहोस्