Logo

कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत



काठमाडौं, ३ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनको सत्ता ढाल्न लागेका यमलाल कँडेललाई काठमाडौं झिकाएपनि कुरा मिल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ दुवै पक्षलाई राखी मनाउन खोजेपनि कुरा मिल्न नसकेसँगै यो घटनाले नेकपाभित्रको आन्तरिक राजनीतिलाई असर पार्ने देखिएको छ ।

कर्णाली प्रदेश केन्द्रीय सत्ताको कार्ड बनाइएको खुल्दै गएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । यमलाल कँडेल ओलीनिकटस्थ हुन् । कँडेलले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
यसअघि शाही मुख्यमन्त्री हुँदा आधा आधाको सहमति बनेको कँडेल पक्षको दाबी रहेको छ । तर, केन्द्रीय सत्तामा त्यो सहमतिबाट प्रचण्ड पछि हटेपछि प्रदेशमा पनि त्यस्तै हुने अर्को पक्षको भनाई छ । अर्कोतर्फ केन्द्रले प्रदेशको राजनीतिमा हस्तक्षेप गर्न खोजेको शाहीले रुचाइरहेका छैनन् ।

ओली पक्षले केन्द्रमा प्रचण्ड पक्षधरले सरकार सञ्चालनमा अप्ठ्यारो बनाउन खोजेको भन्दै प्रदेशमा त्यस्तै परिस्थिति सृजना गरिदिएको बुझिएको छ । कर्णालीको राजनीतिमा अस्थिरताको अवस्था बन्न लाग्दा काठमाडौंको राजनीतिमा पनि अस्थिरताको संकेत बढ्न थालेको छ । यही मौकामा ओलीले आफू निकटस्थहरुलाई नयाँ मन्त्री बनाइसकेका छन् ।

कर्णालीको कार्ड प्रयोग गरेर ओलीले प्रचण्डलाई चुनौती दिएका छन् । तर, प्रचण्डले पनि माधव नेपाल पक्षसँग सहमति गरेर शाहीको मुख्यमन्त्री पद जोगाउन सके । यसरी कर्णाली एक अर्काविरुद्धको कार्डका रुपमा देखिएको छ ।

कर्णाली प्रदेशको कुरा मिल्न नसके अन्य प्रदेशहरुमा पनि नेकपाभित्रको विवादको कम्पन पुग्ने निश्चितप्रायः छ । प्रदेश १ र वागमती प्रदेशमा राजनीतिक अस्थिरताको खतरा बढ्दै गएको छ । नेकपाभित्रको अहिलेको विवाद केन्द्रबाट प्रदेश, स्थानीय हुँदै फैलिएर केन्द्रसम्म हलचल हुने अवस्था बन्दैछ ।

अहिले नेकपाभित्र ओलीविरोधी समूह पुनः मोर्चाबन्दीमा रहेको छ । सचिवालयका पाँच सदस्य एक भएर ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् । त्यसको संकेतका रुपमा पनि कर्णालीको घटनालाई लिन सकिन्छ । कर्णाली कार्डले नेकपाभित्र ओली र प्रचण्डबीच एक अर्कालाई कमजोर पार्ने रणन्ीति बनेको देखिदै्रछ ।

 



प्रतिक्रिया दिनुहोस्