Logo

एशियामा अमेरिकाको शक्ति घट्यो चीनको बढ्यो



काठमाडौं, ३ कात्तिक । एशियालाई उदीयमान शक्तिको रुपमा लिइएको छ । २१ औं शताब्दी एशियाको युग भनिएको छ । तर, एशियामा अझै अमेरिकी प्रभाव बलियो छ । अमेरिका एशियामा सबैभन्दा शक्तिशाली अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।

सिड्नीस्थित लोवी इन्स्टिच्युट्स एशिया पावर इन्डेक्सले गरेको अध्ययनले अमेरिकालाई एशियामा सर्वाधिक शक्तिशाली देखाएको हो । तर, उसको विगतमा भन्दा शक्ति घटेको छ । चीनको भने बढेको छ ।

एशियामा सुपर पावरमा अमेरिका र चीनबीच प्रतिष्पर्धा देखिएको छ । अमेरिकाको ८१.६ र चीनको ७६.१ अंक छ । यो विगतमा भन्दा अमेरिकाको शक्ति घटेको तथ्यांक हो । सन् २०१८ को अध्ययनले चीन अमेरिकाभन्दा १० अंकले पछाडि थियो । यसपटक ५ अंकले मात्र पछाडि छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको शक्ति घटेको अध्ययनले जनाएको छ । महामारीमा अमेरिकाले ठुलो क्षति भोगेको उल्लेख छ ।

एशियामा चीनपछि जापान तेस्रो शक्तिशाली अवस्थामा रहेको अध्ययनले देखाएको छ । उसको ४१ अंक छ । अमेरिका र चीन एशियामा सुपरपावर रहेको र जापान मुख्य शक्ति रहेको अध्ययनमा भनिएको छ । लोवीज एशियन पावर एन्ड डिप्लोमेशी प्रोग्रामका प्रमुख तथा निर्देशक हर्भी लिभाहिउले कोरोना महामारीले गेम चेन्जर भएको बताएका छन् । उनका अनुसार यसले सबैभन्दा बढी क्षति अमेरिकालाई पुर्याएको छ ।

भारत ३९.७ अंकले चौंथो स्थानमा रहेको अध्ययनमा उल्लेख छ । एशियामा रुस पाचौं, अष्ट्रेलिया छैठौं, दक्षिण कोरिया सातौं, सिंगापुर आठौं, थाइल्यान्ड नवौं र मलेशिया दशौं अंकमा छ ।

चीनको शक्ति वृद्धि हुनुमा कोरोना भाइरसका बाबजुद अर्थतन्त्रलाई राम्रो अवस्थामा फर्काएनु र छिमेकहरुमा प्रभाव बढाउनु रहेको अध्ययनले भनेको छ । अमेरिकासँग चीनले एशियामा शक्तिको प्रतिष्पर्धामा दूरी घटाउँदै लगेपनि अमेरिकालाई उछिन्न भने कठिन रहेको उल्लेख छ ।

भारतले कोरोना महामारीमा आर्थिक क्षति भोगेको र चीनसँगको रणनीतिक मामलामा कमजोर भएको अध्ययनले भनेको छ ।
अध्ययनले आर्थिक, रक्षा, आन्तरिक स्थिरता, सूचनाको सञ्चार, स्रोतको भविष्यमा हुनसक्ने परिचालनसहितको एक सय २८ सूचांकको आधारमा निष्कर्ष निकालिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्