Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ३ कात्तिक । अवैध लागूऔषध सहित युवक पक्राउ परेका छन् । काठमाडौं बालाजुबाट ७ सय ५० ट्याब्लेट नाइट्राभेट सहित बालाजु बस्ने धनुषा मिथिला घर भएका २३ वर्षीय सुरेश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सो स्थानमा लागूऔषध कारोबार गरिरहेको जानकारीको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै नेपालगंज जयसपुरबाट २ ग्राम ५ सय मिलीग्राम ब्राउनसुगर सहित बैजनाथ गाउँपालिकाका अम्मर बहादुर थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

यसैगरी, मिर्चैया मनहर्वाबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिर्चैयाका १९ वर्षीय सुन्दर कापर र सोही ठाउँका जितेन्द्र महतो रहेका छन् । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले ना.५ त १४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी ट्याक्टर चालक कापर र सहचालक महतोलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्