Logo

‘हुम्लामा चीनले नेपाली भूभाग मिचेकोबारे सरकारले मिचेको छैन भनेर पहिले नै हतारिएर टिप्पणी गर्यो, त्यो नै सरकारको गैरजिम्मेवारीपन र लाचारी हो’ : रामचन्द्र पौडेल



काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लामा चीनले नेपाली भूभाग मिचेको भनेर यत्रो कुरा उठिसकेपछि सरकारले विज्ञ टोली पठाएर सत्य, तथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

हुम्लाका जनप्रतिनिधि, सांसद, सिडिओ, सहायक सिडिओहरु स्थलगत अध्ययन गरेर फर्कन नपाउँदै सरकारले खासगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक ईन्चपनि भूमि मिचेको छैन भनेर अभिव्यक्ति दिनु गलत भएको पनि नेता पौडेलको टिप्पणी छ ।  कुराकानीको क्रममा पत्रकार धमलाले चीनले नेपालको भूभाग हुम्लामा मिच्यो भनेर कांग्रेसले भन्यो, तर सरकारले त चीनले नेपालको एक ईन्चपनि भूमि मिचेकै छैन भनेर दाबी गरेको छ ? यसबारेमा तपाईँको टिप्पणी के छ ? भनेर सोधेको प्रश्नमा नेता पौडेलले भने–‘पहिलो कुरा त यो सरकारको परराष्ट्र नीति नै के खालको हो ? मैले बुझ्न सकेको छैन् । यो चाहीँ कम्युनिष्टहरुको कस्तो राष्ट्रवाद ? त्यो पनि मैले बुझ्न सकेको छैन् । केवल भारतविरोध मात्रै राष्ट्रवाद हो कि ? यो देशको हरेक भूमि चाहे पूर्व होस, या पश्चिम, या उत्तर या दक्षिण, जताबाट भएपनि देशलाई सुरक्षित राख्ने राष्टवाद हो कि ? अथवा कसैको मात्र विरोध गर्ने राष्ट्रवाद हो ? पहिलो कुरा त मैले कम्युनिष्टको राष्ट्रवाद बुझ्न सकेको छैन् । अर्को कुरा, म के भन्छु भने कि हाम्रो सिमाना मिचियो । हिजो चाहीँ हामीले कालापानी, लिपुलेक, जुन चाहीँ लिम्पियाधुराको सवाल आउँदाखेरि सबै पार्टी हामी जम्मा भयौं । हामीले प्रधानमन्त्रीलाई भन्यौं –प्रधानमन्त्रीज्यू तपाईँ अगाडि बढ्नुहोस । तपाईँ प्रस्ताव ल्याउनुहोस । हामी स्वागत गरिदिन्छौं । हामी सर्वसम्मतीले पास गरिदिन्छौं भनेर त्यसरी भन्ने । अहिले चीनसँग सिमा विवाद पर्यो । त्यहाँको अफिसर, हुम्लाका सहायक सिडिओ आँफैं गए । त्यहाँका स्थानीय जनप्रतिनिधिसहित गए । गएर हेरे । त्यहाँ सूरक्षा निकायका प्रतिनिधिलगायत सबै गए । गएर हेर्दा घर जुन बनेका रहेछन्, त्यो चाहीँ पहिलेदेखि विवादस्पद ठाउँ रहेछ । हाम्रोतिर आएर एउटा घर बनाएको रहेछ । पछि गएर फेरि अहिले त्यहाँ त अनकन्टार ठाउँ छ । हिउँ पर्छ । हिउँ नपर्ने दिनमा हाम्रो तर्फबाट त्यहाँ चौरी चरन गराउने गरिँदै आएको छ । पशुहरु लगेर चराउने ठाउँ हो । त्यहाँ सितिमिती मान्छे जाँदैनन् । पहिले घर भन्दापनि हाम्रोतर्फबाट आपत्ति जनाईएको थियो ।’

उनले अघि भने,‘त्यतिवेला चिनियाँहरुले दुवै तर्फबाट पशुको उपचारको लागि बनाएका हौं भने । त्इसपछि सहायक सिडिओ गएर हेरेपछि हाम्रो जमिनमा अरु पनि घर बनाउन थालेछन् भनेर हेरेपछि र उनले यहाँ रिपोर्ट दिँदादिँदै । त्यसपछि अब होईन सहायक सिडिओले मात्रै गएर हेरेर हुँदैन भनेर सिडिओ आँफै त्यहाँ गए । सुरक्षा निकायका प्रतिनिधिहरुपनि गएका थिए । उनीहरु गएर हेरे त्यहाँ सबै । स्थलगत अध्ययन गरेर फर्कन पाएको छैन र रिपोर्ट आउन पाएको छैन् । सिडिओले ल्याएको रिपोर्ट अहिलेपनि प्रकाशित गरिसकेको छैन् । यो देशको परराष्ट्रमन्त्री जमिन मिचिएको छैन । हाम्रो जमिन एकदम कहीँ केही भएको छैन भनेर वक्तव्य दिनलाई उहाँलाई हतार हुन्छ । हामी अध्ययन गर्दैछौं । हेर्दैछौं भन्नु छैन । त्यसकारण एउटा त सरकारले पहिले नै हतारिएर टिप्पणी गर्यो । त्यो नै सरकारको गैरजिम्मेवारी हो । लाचारी हो ।’
उनले नेपालको सिमा कति मिचिएको हो ? यसबारेमा छानबिन हुनुपर्छ भनेर आफूले पनि सरकारलाई भनिसकेको सुनाए ।

उनले थपे,‘अहिलेपनि हाम्रो विपक्षी दलको नेता जीवन बहादुर शाही । हाम्रो सांससहित सबै साथीहरु त्यहाँ जानुभयो । के हो त बास्तविकता ? भनेर । सबै हेर्नुभयो । त्यहाँ उताबाट बाटो पनि बनाईएको छ । हाम्रो मोटर बाटो पनि उतै छ । अब अहिले, त्यतिखेर बाटो बनाउँदा चिनियाँहरुले विरोध गरेका थिएनन । किनकी जमिन हाम्रै हो । अहिले त्यहाँ सिमा स्तम्भ बनाईएको छ । पूरानो स्तम्भ भत्काएको भेटिएको छ भनेर गम्भीर जिम्मेवार प्रतिनिधिमण्डल गएर सरकारलाई सुझाव दिँदैछ । निक्र्यौल हुनुपर्छ । यो भन्दाभन्दै सरकार कानमा तेल हालेर बसेको छ । मैलेपनि सरकारलाई भनिसकेको छु । हाम्रो सिमा कति मिचिएको छ । सरकारले विशेषज्ञ पठाएर त्यहाँ छानबिन गर्नुपर्छ । चिनियाँ विशेषज्ञलाई पनि राखेर र हाम्रो विज्ञ टोलीलाई पनि राखे । दुवैथरि विज्ञ राखेर कुराकानी गर्नुपर्छ । नक्सा राखेर । पिल्लर सारिएको हो कि होईन ? त्यो पनि जाँच गरेर । कहाँ थियो हाम्रो पिलर ? कहाँ थियो हाम्रो सिमाना ? कहाँ थियो हाम्रो पहिलेको बाटो ? अहिले कहाँ छ ? मित्रराष्ट्रसँग हामीले अनावश्यक टेन्शन बढाउनुभन्दा दुवैथरि बसेर यहाँ हेरौं न त । यहाँ शंका उठ्यो । स्थानीय जनप्रतिनिधिहरुले गुनासो गर्नुभयो । किन अविश्वास राख्ने ?’ FILE PHOTO

 



प्रतिक्रिया दिनुहोस्